बहस भड्किएपछि न्यायाधीश न्यौपानेले भने- मलाई चाहिएको थुनछेक केन्द्रित हो, अरु काम छैन – Nepal Press
नक्कली भुटानी शरणार्थी प्रकरण

बहस भड्किएपछि न्यायाधीश न्यौपानेले भने- मलाई चाहिएको थुनछेक केन्द्रित हो, अरु काम छैन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबारसम्म प्रतिवादीका तर्फबाट ३८ जना कानून व्यवसायीले थुनछेक बहस गरेका छन् । आइतबारदेखि थुनछेक बहस सुरु भएकामा सुरुमा तीनदिन सरकारी वकिल कार्यालयले जाहेरवालाको तर्फबाट बहस गरेका थिए ।

मंगलबार साँझसम्म बहस सुनेपछि न्यायाधीश न्यौपानेले भनेका थिए, ‘मैले तपाईंहरुलाई कदर गर्नैपर्छ, कति कुरा भन्नु थियो होला तर छुट्याइएकै समयमा सिध्याउनुभयो ।’

जाहेरवालाका तर्फबाट ८ जना सरकारी वकिल र ६ जना निजी वकिलले बहस गरेका थिए । बुधबारदेखि प्रतिवादीतर्फबाट बहस सुरु भएकामा हालसम्म सानु भन्डारी, केशव दुलाल, सागर राई, टंकप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, सन्देश शर्मा, इन्द्रजित राईका कानून व्यवसायीले बहस गरिसकेका छन् ।

प्रतिवादीलाई आगामी मंगलबारसम्म बहसको समय दिएका न्यायाधीश न्यौपाने शुक्रबार भने केही हतास देखिए । रायमाझीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायधिवक्ता रमेश बडालले एउटै कुरा दोहोर्याउँदा न्यायाधीशलाई पनि दिक्क लाग्न सक्ने उल्लेख गरेपछि न्यौपानेले हाँस्दै भनेका थिए, ‘प्रसङ्ग आएपछि छोड्नु हुँदैन ।’

तर त्यसपछिका कानून व्यवसायीलाई भने न्यौपानेले बारम्बार सम्झाएका थिए, ‘यी कुरा अघि नै आइसके, नयाँ केही छ भने भन्नुस् ।’

रायमाझीको तर्फबाट बहस गरेका अर्का अधिवक्ता पर्शुराम कोइरालालाई न्यौपानेले बारम्बार रोकेर नयाँ कुरा भए सुनाउन भनेका थिए । उनले आफूलाई थुनछेक प्रयोजनको लागि मात्र बहस चाहिएकाले त्यसैमा केन्द्रित हुन भने ।

‘मलाई चाहिएको मुलुकी अपराध कार्यविधि संहिताको दफा ६७, ६८ र ६९ केन्द्रित बहस हो । अरु काम छैन । तपाईहरु बोल्न त पाउनु हुन्छ’, उनले भने ।

त्यसैक्रममा न्यायधिश न्यौपानेले टोपबहादुर रायमाझीको तर्फबाट शुक्रबार ५ बजेसम्म बहस सक्न समय दिएका थिए । ‘तपाईहरु बुझ्ने हुनुहुन्छ । मंगलबारसम्म सबै प्रतिवादीको तर्फबाट बहस सक्नु पर्ने भएकाले आफू–आफूमा समय मिलाएर समयमै बहस सिध्याउनुस्’, न्यायाधीश न्यौपानेले भने ।

यो प्रकरणमा अझै ११ जना प्रतिवादीको तर्फबाट बहस हुन बाँकी छ । पूर्वगृहमन्त्री बालकृष्ण खाण र तथा तत्कालीन गृहसचिव टेकनारायण पान्डेसहितका प्रतिवादीका कानून व्यवसायीले आगामी ३ दिनभित्र बहस सिध्याउनुपर्ने छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर