४३४० को घात कि प्रभातको जबरजस्ती ? – Nepal Press

४३४० को घात कि प्रभातको जबरजस्ती ?

प्रेमी भनिएका युवकलाई बलात्कारको आरोप लगाउँदै युवतीले थुनाएपछि

पोखरा । करिब एक महिना अगाडि बागलुङ नगरपालिका- ९ तित्याङका २३ वर्षीय प्रभात बसेल म्याग्दीकी २२ वर्षीया युवती (प्रहरीले दिएको नाम ४३४०) लाई लिएर भारत पुगे । युवतीका परिवारको ताकेतापछि उनीहरु दुवै फर्किए । प्रहरीमा दुई पक्षबीच मिलापत्र पनि भयो । तर, घटना साम्य हुनुको साटो झनै पेचिलो बनिरहेको छ ।

मिलापत्र भएको केही समयमै युवतीले युवकविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि विवादले नयाँ रुप लिएको हो । युवती आफैं बैदाम प्रहरी कार्यालयमा उपस्थित भएर प्रभातमाथि अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको आरोपमा जाहेरी दिएकी छन् । उनको जाहेरीपश्चात प्रहरीले प्रभातलाई पक्राउ गरेर हिरासतमा राखेको छ । सामाजिक सञ्जालमा प्रभातमाथि अन्याय भएको भन्दै धेरैले आवाज उठाएका छन् । यसलाई जातीय भेदभावसँग पनि जोड्न खोजिएको छ । युवक कथित तल्लो जातका र युवती कथित उपल्लो जातकी हुन् ।

यो घटनालाई लिएर खडा भएको मूल प्रश्न हो- केटा र केटीबीच प्रेम थियो वा थिएन ? दुवैको बयानअनुसार दुई वर्ष अघिबाट उनीहरु निकट भएका थिए । ४३४० ले आफूहरु राम्रो साथी भए पनि प्रेममा नरहेको दाबी गरेकी छन् । प्रभातले भने आफूहरुबीच गहिरो प्रेम रहेको बताएका छन् । घटना विवरण र तथ्य-प्रमाणका आधारमा उनीहरु कुनै न कुनै समय प्रेममा थिए भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर, जातीय विभेदकै कारणले उनीहरुलाई अलग गर्न खोजिएको र युवतीले मुद्दा हालेको भने अनुसन्धानबाट नदेखिएको प्रहरीले जनाएको छ ।

प्रभातको बयानअनुसार युवतीको परिवारले विवाह गराइदिने आश्वासन दिएर नेपाल बोलाएका थिए । तर, नेपाल आइपुग्नासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लियो । पोखराको वडा प्रहरी कार्यालय बैदाममा युवतीका परिवार र प्रभातका निकटस्थलाई राखेर प्रहरीले छलफल गराएको थियो । छलफलपछि भएको मिलापत्रमा दुवैजना अब आआफ्नो बाटो लाग्ने र एक-अर्काको करिअरमा दख्खल नदिने उल्लेख भएको युवतीले बताएकी छन् ।

मिलापत्रपश्चात युवतीलाई परिवारले र प्रभातलाई साथीले जिम्मा लिएका थिए । प्रभातको बुवासँग राम्रो सम्बन्ध नरहेको र आमा बितिसकेकी हुँदा पारिवारिक रुपमा उनी एक्लो छन् । प्रभात युट्युबर हुन् ।

‘छोरी हराएको भनेर उजुरी परेपछि हामीले खोजी गर्‍यौं, उनीहरु भेटिएपछि परिवारको जिम्मा लगायौं’, बैदाम प्रहरी प्रमुख डीएसपी वेद जोशीले भने ।

त्यसपछि उनीहरु दुवै आ-आफ्नो घर गए । तर, केही दिनपछि उनै युवतीले प्रभातविरुद्ध उजुरी हालिन् र प्रहरीले जेठ ७ गते प्रभातलाई पक्राउ गर्‍यो । अहिले उनलाई जबरजस्ती करणीको मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले प्रभातमाथि अनुसन्धान भइरहेको बताए ।

‘म्याग्दीबाट पक्राउ गरी अनुसन्धानका लागि पोखरा ल्याइएको छ, हामीले अनुसन्धान गरिरहेका छौं’, उनले भने ।

प्रभात पक्राउ परेपछि उनको पक्षमा सामाजिक सञ्जालदेखि सडकसम्म आवाज उठ्न थालेको छ । संसदमा समेत यो विषय उठेको छ । पहिलोपटक प्रतिनिधिसभामा एक सांसदले घटनाको सत्यतथ्य छानबिन गरी प्रभातलाई न्याय दिन माग गरिन् । उनले प्रभातमाथि जातकै कारणले झूटो मुद्दा दर्ता गराएको दाबी गरेकी थिइन् ।

गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई नेपालीले पनि प्रभातविरुद्ध जातीय विभेद भएको भन्दै न्याय दिन सरकारलाई आग्रह गरेकी छन् । गण्डकी प्रदेशसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै नेपालीले प्रेम सम्बन्धलाई जातसँग जोडिएको बताइन् ।

जबरजस्ती भारत पुर्‍याएको ४३४० को दाबी

जाहेरवाला युवतीका अनुसार पहिले निकट साथी भए पनि केही समयदेखि उनीहरुको सम्बन्ध बिग्रेको थियो । कुनै कुरामा झगडा भएपछि आफूले सबैतिर प्रभातलाई ब्लक गरेको उनले बताएकी छन् ।

४३४० भन्छिन्, ‘मैले फेसबुक, इन्स्टा सबैतिर ब्लक गरिदिएपछि ऊ रिसाएको थियो । एकपटक मेरो घरमै आएर ढुंगाले झ्यालसमेत फुटाएको थियो । मेरो फोटो र भिडियोहरु पब्लिक गरिदिने धम्की पनि दिएको थियो ।’

आफ्नोबारेमा नराम्रा कुराहरु गर्दै हिँडेपछि प्रभातलाई भेट्न बोलाएको उनी बताउँछिन् । घर नजिकै आएपछि भेट्न जाँदा मोटरसाइकलमा राखेर हिँडेको उनको भनाइ छ ।

उनले भनेकी छन्, ‘ऊ मेरो घर नजिकै आएपछि गेट फोर्ला भनेर मलाई डर लाग्यो । म उसलाई भेट्न ओर्लिएँ । उसले मलाई कतै बसेर छलफल गरौं भनेर फकायो । म उसको बाइकमा बसें । बाइक एकदमै स्पिडमा कुदायो । पोखरा पुग्नु अगाडि एउटा होटलमा राख्यो । कालो चिया खान दियो । चिया खाएपछि के-के भयो, मलाई थाहा भएन । दिमाग पूरै शून्य भयो । ब्युँझिदा शरीरको तल्लो भाग एकदमै दुखिरहेको थियो । दुवै जनाको शरीरमा कपडा थिएन ।’

ब्युँझिएपछि पानी पिउन दिएको र पानी पिएपछि आफू फेरि बेहोश बनेको युवतीको दाबी छ । बेहोशी अवस्थामा नै काँकडभिट्टा पुर्‍याएको उनले बताएकी छन् । काँकडभिट्टामा एउटा होटलमा राखेको र भोलिपल्ट नाका कटाएर भारतमा रहेका आफन्तकोमा लगेको पनि उनको बयान छ ।

तर, प्रभातका निकटस्थहरु भने नेपालदेखि बेहोशी अवस्थामा भारत पुर्‍याउन सम्भव नै नहुने बताउँछन् । युवतीले आफूसँग नागरिकता र प्लस टुको प्रमाणपत्रसमेत बोकेर तयारीसाथ हिँडेको दाबी पनि गरिएको छ ।

उनीहरु भारतको कोलकातामा प्रभातको मामा-माइजूकहाँ बसेका थिए । त्यहाँ पुगेको केही दिनमा ४३४० ले आफ्नी आमालाई मोबाइलमा पठाएको म्यासेज सार्वजनिक भएको छ । त्यसमा उनले गर्न नहुने काम गरेको भन्दै क्षमा मागेकी छन् । प्रभातलार्ई स्वीकारेको खण्डमा घर आउने, अन्यथा आफूलाई बिर्सिदिन आग्रह गरेकी छन् ।

तर, प्रहरीसँगको बयानमा ४३४० ले सो म्यासेज आफूले लेखेको स्वीकार गरेकी छैनन् । नेपालबाट भागेदेखि नै आफ्नो मोबाइल प्रभातले कब्जामा लिएको र आमालाई म्यासेज पनि प्रभातले नै लेखेको उनको भनाइ छ ।

‘मेरो अकाउन्टबाट उसले म्यासेज लेखेको हो, मलाई केही थाहा थिएन’, उनले भनेकी छन् ।

सो म्यासेज पठाएपछि ४३४० की आमाले नेपाल फर्किन आग्रह गरेकी थिइन् । प्रभात पनि तयार भए । तर, नेपालमा उनलाई प्रहरीले पर्खिरहेको थियो ।

प्रहरीमा मिलापत्र गरेर आआफ्नो घर लागेपछि पनि प्रभातले निरन्तर टर्चर दिएको ४३४० को गुनासो छ ।

‘प्रहरी कार्यालयबाट परिवारको जिम्मा लगाएपछि पनि धेरै टर्चर दिन थाल्यो । कहिले फोटो सार्वजनिक गरिदिन्छु भन्ने, कहिले भिडिओ सार्वजनिक गरिदिन्छु भनेर धम्की दियो । परिवारलाई पनि धेरै असर गरेपछि बाध्य भएर उजुरी दिएकी हुँ’, उनले भनेकी छन् ।

प्रभातका साथीहरुले भने उनीहरु दुई वर्षदेखि प्रेममा रहेको बताएका छन् । परिवारले उनीहरुको प्रेम स्वीकार नगरेको र प्रभातविरुद्ध जाहेरी दिन छोरीलाई बाध्य बनाएको उनीहरुको अनुमान छ । यद्यपि, प्रहरीले भने युवतीको जाहेरी स्वःस्फुर्त भएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर