सुनौलो सहकारीका सञ्चालकहरुको छैन अत्तोपत्तो, बिचल्लीमा बचतकर्ताहरु – Nepal Press

सुनौलो सहकारीका सञ्चालकहरुको छैन अत्तोपत्तो, बिचल्लीमा बचतकर्ताहरु

रुपन्देही । लुम्बिनी प्रदेशको सहकारी कार्यालयमा दर्ता भएको बुटवलको सुनौलो सहकारीले रकम फिर्ता दिन आलटाल गरेपछि बचतकर्ताहरुले मंगलबार राति कार्यालय घेराउ गरे । त्यसपछि प्रहरीले सहकारीका दुई सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा लियो ।

तर, प्रदेश कार्यालयमा दर्ता भएको यो सहकारीका कुनै पनि सञ्चालकको सम्पर्क नम्बरसमेत राखिएको छैन । प्रहरी नियन्त्रणमा रहेकी व्यवस्थापक सिर्जना तामाङले पनि सहकारीका सञ्चालकहरुबारे जानकारी दिन आनाकानी गरेकी छन् ।

सहकारीको प्रधान कार्यालय स्थापना गरेदेखि नै सहकारीका अध्यक्ष सम्पर्कमा नभएको र केही दिनयता सहकारीका व्यवस्थापक र कर्मचारीहरुसमेत कार्यालय बन्द गरेर हिंड्न थालेपछि बचतकर्ताहरुले कार्यालयमा घेरा हालेका थिए ।

बुटवलको देवीनगरस्थित सुनौलो नगरमा चिया पसल सञ्चालन गर्दै आएका विष्णु पोखरेलले आफ्नो नाममा दुइटा र छोरीका नाममा एउटा गरी ३ वटा खाता खोलेर दैनिक बचत गर्दै आएका थिए । तर, केही दिनयता सहकारीका कर्मचारीहरु बचत संकलन गर्न नआएपछि शंका लागेर बुझ्न आएको उनले बताए ।

सहकारीले बुटवल उपमहानगरपालिका- ११ को वडा कार्यालय अगाडिकै चोकमा कार्यालय सञ्चालन गरेको छ । वडा अध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार ५ करोड कुल पूँजी देखाएर दर्ता गरेको भए पनि सहकारीका सञ्चालकहरुले आफ्नो एक रुपैयाँ पनि राखेर कारोबार गरेको देखिँदैन ।

‘दर्ता गर्दा जति रकम देखाए पनि बचत संकलनबाट ४५ लाख रुपैयाँ जम्मा गरेको देखियो । तर, लगानी कतै देखिँदैन’, उनले भने, ‘बचतकर्ताहरुबाट संकलन भएको रकमबाट कार्यालय डेकोरेशनमा १८ लाख रुपैयाँभन्दा बढी खर्च गरेको देखिन्छ । अन्य रकम कर्मचारी र सञ्चाकको तलब भत्तामा खर्च गरेको पाइयो ।’

छलफल र सुरक्षाका लागि भन्दै सहकारीका व्यवस्थापक सिन्धुपाल्चोकको लिसङ्खु पाखर ७ घर उल्लेख भएकी सिर्जना तामाङ र ओमबहादुर राउतलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको थियो । बुधबार पीडितहरु वडा प्रहरी कार्यालयमा न्यायका लागि पुगे पनि त्यहाँ तामाङ र राउतले सहकारीको सञ्चालकलगायतका बारेमा कुनै जानकारी दिएनन् ।

दुबै पक्षलाई इलाका प्रहरी कार्यालय बुटवल पठाइए पनि ठोस निर्णय हुन भएन । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले सहकारीको विषयलाई प्रहरीले सीधै हेर्न नमिल्ने तर सहकारी दर्ता अधिकारीको कार्यालयबाट आवश्यक पत्र आएमा हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन मिल्ने बताए । तर, कार्यालयले नियन्त्रणमा लिएकालाई उजुरीविना थुनामा राख्न नमिल्ने बताएपछि पीडितहरु थप आक्रोशित छन् ।

प्रहरीले ती दुई जनालाई थप छानबिन तथा कारबाहीका लागि भन्दै सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरी दाङमा पठायो ।

सहकारीको कार्यालयभित्र सञ्चालकहरुको नाम र दर्ता प्रमाणपत्र कुनै देखिँदैन । व्यवस्थापक तामाङले आफूलाई समय दिएमा बचतकर्ताहरुको रकम भुक्तानी गरिदिने मौखिक वचन दिएकी थिइन् । तर, बचतकर्ताहरुले उनको भनाइलाई विश्वास गर्न नसकिने बताउँछन् ।

सहकारी दर्ता अधिकारी लुम्बिनी प्रदेश कार्यालय दाङ लगिएका दुई जनालाई ७ दिनभित्र बचतकर्ताहरुको रकम फिर्ता गर्नुपर्ने अन्यथा नगरे कानूनी प्रक्रिया अगाडि बढाइने व्यहोरासहितको पत्रमा हस्ताक्षरलगायत कागजात तयार गरिएको र प्रहरी नियन्त्रणमा रहेकाले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलमा विशेष मान्छेहरुसँग बसेर छलफल टुङ्ग्याउँछौं भनेपछि सहमति नभएमा मुद्दा चलाएर अनुसन्धान अगाडि बढाउन प्रहरीलाई पत्र दिएको सहकारी दर्ता अधिकारी कार्यालय लुम्बिनीका प्रमुख भीमप्रसाद तिवारीले बताए ।

‘उनीहरुलाई थुनेरमात्रै समस्या समाधान हुने कुरा भएन, अहिले एकसातामा बचत फिर्ता गर्ने कागज गराएर प्रहरीको निगरानीमा पठाइएको छ, सञ्चालकहरुको पनि खोजी भएको छ, समाधान हुनेमा आशावादी छौं’, उनले भने ।

उनका अनुसार २ वर्षपहिले कृषि मन्त्रालयअन्तर्गत हुँदा संस्था दर्ता भएको थियो । दर्ता गर्दा सञ्चालक सदस्यहरुको समेत सम्पर्क नम्बर राखिएको रहेनछ । जसले गर्दा यो सहकारी दर्ता प्रक्रिया नै नियोजित देखिएको तिवारी बताउँछन् ।

बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणखर खनालले सो सहकारी नगरमा दर्ता नभएको बताए ।

प्रदेश कार्यालयमा दर्ता भएका १२८ सहकारीमध्ये करिब एक दर्जन समस्याग्रस्त छन् । तीमध्ये अधिकांशले रुपन्देहीलाई नै कार्यक्षेत्र बनाएका छन् ।

यस्तो छ सहकारीको दर्ता र सञ्चालक समितिको नामावलीः

२०७८ भदौ १५ गते सहकारी रजिष्ट्रारको कार्यालय दाङमा दर्ता नं ४९ मा दर्ता भएको देखिएको छ । सहकारी दर्ता गर्दा स्याङ्जा कृष्णगण्डकी ६ का विष्णुप्रसाद भट्टराईको अध्यक्ष नाममा दर्ता भएको फेला परेको छ । उपाध्यक्षमा साविक बराङ्दी-६ पाल्पाकी सावित्रा बस्याल, सचिवमा विन्जोर-८ सिन्धुलीका राजन कार्की, सहसचिवमा दाङवाङ-६ प्यूठानका प्रेमप्रसाद आचार्य, कोषाध्यक्षमा तानसेन नगरपालिका-१ पाल्पाका विश्वबहादुर खत्री क्षेत्री सदस्यहरुमा हर्मिचौर गुल्मीकी कमला न्यौपाने र पैंयु-५ पर्वतकी विष्णुकुमारी श्रेष्ठसहित २० जना सञ्चालक भएको खुलेको छ।

सहकारी दर्ता गर्ने कर्मचारीले नै सञ्चालकको पूरै विवरण नराखेका कारण उनीहरुलाई पनि शंकाको घेरामा तान्नुपर्ने पीडितहरुको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर