ए डिभिजन लिगः १९औं चरण सकिँदा चर्च ब्वाइज शीर्ष स्थानमा, खुमलटार र फ्रेन्ड्सले रेलिगेशन जोन छोडेनन् – Nepal Press

ए डिभिजन लिगः १९औं चरण सकिँदा चर्च ब्वाइज शीर्ष स्थानमा, खुमलटार र फ्रेन्ड्सले रेलिगेशन जोन छोडेनन्

काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिगमा १९औँ चरणको खेल सकिँदा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको जावलाखेल यूथ क्लबको भन्दा उसको शीर्ष स्थानमा ४ अंक बढी छ ।

जारी लिगमा ३६ अंक जोडेको चर्च ब्वाइजले १९ खेल खेल्दा १० जित ६ बराबरी र ३ हारको नतिजा निकालेको छ । चर्च ब्वाइजसँगै उपाधि होडमा रहेको जावलाखेलको ३२ अंक छ ।

यस्तै, फ्रेन्ड्स क्लब र यसै वर्ष शीर्ष डिभिजनमा उक्लिएको खुमलटार यूथ क्लबले रेलिगेशन क्षेत्र छोडेका छैनन् । १९ खेल खेल्दा ११ खेलमा हार ३ बराबरी र ५ जितको नतिजा निकालेको खुमलटार १८ अंकसहित तालिकाको पुछारमा रहेको छ । खुमल्टार भन्दा एक स्थान माथि रहेको फ्रेन्डसको २१ अंक छ ।

लिगमा शीर्ष स्थानदेखि रेलिगेशन क्षेत्र सम्मका टिमको अंक दुरी फराकिलो भने छैन । एक खेलको नतिजाले पुरै अंक तालिका तल माथि हुने गरेको छ । जसले गर्दा सबै टिमलाई रेलिगेशनको डर रहेको छ ।

शुक्रबार रेलिगेशन क्षेत्रमा रहेको खुमलटारसँग बराबरी खेलेपछि त्रिभुवन आर्मी क्लबका मुख्य प्रशिक्षक नविन न्यौपानेले पनि पोष्ट म्याच कन्फरेन्समा सोही कुरा बताएका थिए ।

‘अहिले शीर्ष स्थानदेखि रेलिगेशन क्षेत्र सम्मको टिमको अंकदुरी फराकिलो छैन । शीर्ष स्थानको टिमलाई पनि रेलिगेशनको चिन्ता छ । एक खेल बराबरी भयो अथवा हारियो भने अंक तालिका नै उथल पुथल हुन्छ । अब हामीले कम्तिमा तीन खेल जितेनौ भने हामीलाई पनि रेलिगेशनको चिन्ता हुन्छ, उनले भने ।’

खेलको १९औँ चरण सकिँदा साविक विजेता मछिन्द्र फुटबल क्लब ३१अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटो यूथ क्लब ३१ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । समान २६ अंक भएका थ्रि स्टार क्लब र आर्मी हेड टु हेडका आधारमा क्रमशः पाँचौं र छैटौँ स्थानमा छन् ।

हिमालयन शेर्पा क्लब २५अंकसहित सातौँ स्थानमा रहँदा उत्कृष्ट सुरुआत गरेको मनाङ मर्स्याङ्दी क्लब जित लय कायम राख्न नसक्दा २३ अंकसहित आठौँ स्थानमा रहेको छ । अघिल्लो सिजन तेस्रो स्थानमा रहँदै लिग सकेको न्यूरोड टिम (एनआरटी) मनाङसँग समान २३ अंक भएपनि हेड टु हेडका आधारमा नवौं स्थानमा छ ।

एपीएफ क्ल्ब, संकटा क्लब र नेपाल पुलिस क्लब समान २२ अंकसहित क्रमशः १०औँ, ११औँ र १२औँ स्थानमा छन् । यी तीनै टिमलाई रेलिगेशन क्षेत्र भन्दा माथि भएपनि रेलिगेशनको बढी चिन्ता छ । अब लिगमा ७ चरणको खेल बाँकी छन् । २०औँ चरणको खेल आइतबारदेखि सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *