बागमतीमा नयाँ प्रयाेग : आर्थिक मामिला मन्त्रीलाई थप तीन मन्त्रालयको जिम्मेवारी – Nepal Press

बागमतीमा नयाँ प्रयाेग : आर्थिक मामिला मन्त्रीलाई थप तीन मन्त्रालयको जिम्मेवारी

हेटौँडा । खाली रहेको मन्त्रालय मुख्यमन्त्रीले जिम्मेवारी लिने परम्परालाई तोड्दै बागमती प्रदेशमा नयाँ प्रयोग भएको छ ।

मन्त्रालय भागवण्डा मिलाउन नसकेपछि बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५० दिन अघिबाट मन्त्रीविहीन रही आफूले कार्यभार सम्हाल्दै आएको तीनवटा मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसको नेतृत्व गर्दै सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका बहादुरसिंह लामालाई दिएका छन् ।

११ मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा भागवण्डाको विवादले चर्को रुप लिएपछि जम्कट्टेलले थप ३ मन्त्रालयको जिम्मेवारी लामालाई दिएका हुन् ।

आज बागमती प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लामालाई दिईएको जनाएका छन् । ६ वटा मन्त्रालयको दाबी नछाडेपछि रुष्ट बनेका मुख्यमन्त्री जम्कट्टेलले तीनवटा मन्त्रालयको जिम्मेवारी लामालाई दिएका हुन् ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणको समयमा मन्त्री नहुँदा काम गर्न असहज भएको बताउँदै आएपनि भागवण्डामा कांग्रेस र एकिकृत समाजवादीले आफ्नो दाबी नछाडेपछि एउटै मन्त्रीलाई थप तीन मन्त्रालयको भार थमाएका हुन् ।

११ जना मन्त्री हुने प्रदेश सरकारमा अब लामाको काँधमा चार मन्त्रालय, मुख्यमन्त्री जम्कट्टेलको काँधमा मुख्यमन्त्री सहित श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि मन्त्रालयको जिम्मेवारी छ भने माओवादीको तर्फबाट युवराज दुलाल भौतिक योजना तथा निर्माण, गंगाधर श्रेष्ठ आन्तरिक मामिला तथा कानुन, कुमारी मोक्तान सामजिक विकास मन्त्री छन् । कांग्रेसका तीर्थ लामा खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारीमा छन् ।

११ मन्त्रालय कुनैपनि हालतमा नफुटाउने अडानको कारण भागवण्डामा समस्या आएपछि मुख्यमन्त्रीले नयाँ प्रयोग गरेको जनाइएको छ । लामो समयको वार्ता, छलफलले समेत कुनै निचोड ननिकालेपछि मुख्यमन्त्रीले कांग्रेसको भागमा परेका मन्त्रालयहरु लामालाई जिम्मेवारी दिइएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर