भ्रष्टाचाररूपी अजिङ्‍गरले सिंगो समाजलाई सास फेर्न नसक्नेगरी बेर्‍यो : झलनाथ खनाल – Nepal Press

भ्रष्टाचाररूपी अजिङ्‍गरले सिंगो समाजलाई सास फेर्न नसक्नेगरी बेर्‍यो : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसक्ने दाबी गरेका छन् ।

अनेरास्ववियूको ५९ औं स्थापना दिवस एवं युवा संघ नेपालको ३४औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रगतिशील, न्यायप्रेमी, लोकतान्त्रिक, देशभक्त र समाजवादी युवा विद्यार्थीहरूमा नयाँ चिन्तन, सक्रियता हुनुपर्ने बताए ।

उनले भनेका छन्, ‘हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर, देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ । भ्रष्टाचाररुपी अजिङ्गरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ । बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका होनाहार श्रमजीवि युवाहरू खाडी मुलुक र मलेसिया तथा युवा विद्यार्थीहरू अस्ट्रेलियातिर लाग्न बाध्य भइरहेका छन् ।’

अझैसम्म देशका कतिपय वामपन्थी शक्ति मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निशाना के हो भन्नेमा नै अन्योलग्रस्त र दिशाहीन भएको खनालको बुझाइ छ ।

‘युवाहरू आजका सम्पूर्ण समस्या, विकार र विकृतिको एकमात्र समधान समाजवाद मात्र हो । समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्नसक्छ । त्यसैले यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने मूल नारालाई दृढतापूर्वक समातौं, समाजको प्रधान अन्तर्विरोध र प्रमुख निशानालाई होसियारीपूर्वक ठम्याऔं’, उनले भनेका छन् ।

दलाल पूँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निशाना केन्द्रित हुँदै आम क्रान्तिकारी जनतालाई गोलबन्द गर्दै समाजवादको सुन्दर भविष्यतिर दृढतापूर्वक अघि बढ्न आह्वान गरेका छन् ।


प्रतिक्रिया

One thought on “भ्रष्टाचाररूपी अजिङ्‍गरले सिंगो समाजलाई सास फेर्न नसक्नेगरी बेर्‍यो : झलनाथ खनाल

  1. सर्पबारेको ज्ञान अभिव्यक्त भएछ 👏👏👏👏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर