क्यारिकेचर गर्न स्टेज उक्लेका श्रीधर गीत गाएर बने सफल संगीतकर्मी – Nepal Press

क्यारिकेचर गर्न स्टेज उक्लेका श्रीधर गीत गाएर बने सफल संगीतकर्मी

काठमाडौं । २०६२/६३ सालतिर नेपालमा एफएम रेडियोको लोकप्रियता ह्वात्तै बढेको थियो । एफएम रेडियोका अनेक कार्यक्रममध्ये लोक संगीतप्रति विशेष रुचि थियो श्रीधर अधिकारीको ।

स्याङ्जा गल्याङमा हुर्किएका श्रीधरको समुदाय र घरपरिवारका अन्य सदस्यहरु पनि लोक संगीतमा विशेष चाख राख्थे । विवाह, व्रतबन्ध, न्वारनलगायतका अवसरहरुमा पनि विभिन्न किसिममा नाचगान तथा भजनकीर्तन हुने गर्थे गाउँमा । सांगीतिक माहोल औधी मन पराउने श्रीधर यस्ता कुनै पनि अवसरमा सरिक हुन छुटाउँदैनथे । तर, गाउन र बजाउन भने झ्याप्प अघि सर्दैनथे । छेउमा बस्थे, गीत सुन्थे र रमाउँथे ।

पछि उनको परिवार स्याङ्जाबाट बुटवल पुग्यो । पहाडबाट तराई झरेपछि श्रीधरको परिवेश बदलियो एफएम रेडियोमा गीत संगीत सुन्ने क्रम निरन्तर चलिरहे पनि गाउँको जस्तो सांगीतिक माहोलमा सरिक हुने अवसर टुट्यो ।

सांगीतिक जमघटको माहोल नबनेपछि उनी फुर्सदिला भए । फुर्सदमा टीभी हेर्दाहेर्दै उनमा कलाकार बन्ने हुटहुटी जाग्यो । विस्तारै उनले कलाकारहरुको क्यारिकेचर गर्न थाले । वाचन शिरोमणि नारायण पोखरेलको क्यारिकेचर त उनी हुबहु गर्न सक्थे ।

‘बुटवल आएपछि मलाई कलाकार बन्ने भूत चढ्यो । विस्तारै क्यारिकेचर पनि गर्न थालें । साथीहरुले मलाई देख्दा उ नारायण पोखरेल आयो भन्ने गर्थे’, उनी भन्छन् ।

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा बीबीएस अध्ययन गर्ने क्रममा कलेजमा आयोजित विभिन्न कार्यक्रममा उनी स्टेजमा उक्लिन्थे । कलाकारहरुको क्यारिकेचर गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन्थे । सोही कारण २०७३ साल भएको बुटवल औद्योगिक मेलामा उनले आफ्नो प्रस्तुति देखाउने अवसर पाए । उनका लागि यो तुलनात्मक रुपमा ठूलो अवसर थियो । सुरुमा उनले स्टेजमा गएर क्यारिकेचर नै गर्ने सोचेका थिए ।

तर, एकाएक उनको मन बदलियो । स्टेज पुगेर उनले शिरिष देवकोटाको ‘म त आउने थिएन’ बोलको गीत गाए । दर्शकबाट राम्रो प्रतिक्रिया पाए । नगद पुरस्कार र कदरपत्रसमेत हात पारे । ‘मैले दर्शकहरुबाट त्यति राम्रो प्रतिक्रिया पाउँछु भन्ने सोचेकै थिइनँ । दर्शकहरुको प्रतिक्रियाले मभित्रको गायकी र संगीतकर्मीलाई पुनर्जागृत गरायो’, उनी सम्झन्छन्, ‘त्यो कार्यक्रमपछि गीत संगीत क्षेत्रमा अझै राम्रो गर्न सकिन्छ भन्ने लागेर मैले संगीत सिक्न थालें ।’

अहिलेसम्म उनले ४३ वटा गीत बजारमा ल्याइसकेका छन् । जसमध्ये १९ वटा गीतमा उनी आफैंले स्वर दिएका छन् । बाँकी शब्द तथा संगीत भरेका छन् । हालैमात्र उनको ‘लाम्नी हो र माया’ नामक गीतले बजारमा राम्रो प्रतिक्रिया बटुलिरहेको छ । ‘लाली जोवन’, ‘मेरो तस्वीर’, ‘कपालै कोरी’, ‘बाजा तालमा’लगायत उनका अत्यधिक सफल गीतहरु हुन् ।

आधुनिक, लोकपप, दोहोरी तथा फिल्मका गीतहरुमा काम गरेका श्रीधरलाई हाल सांगीतिक क्षेत्रमा भर्सटाइल सर्जकको रुपमा चिनिन्छ । लोकदोहोरी गायिका पूर्णकला बीसीसँगको सहकार्यमा २०७५ सालमा पहिलो पटक ‘ख्यालख्यालमै पिरती’ बोलको गीत रेकर्ड गराएका श्रीधरले हालसम्म देवी घर्ती, शान्तिश्री परियार, प्रमोद खरेल, वसन्त थापा जस्ता स्थापित गायकगायिकादेखि रचना रिमाल, एलिना चौहान, पूजा देवकोटा, लक्ष्मी खड्कालगायतका नयाँ पुस्ताका गायकगायिकाहरुसम्म सहकार्य गरिसकेका छन् । संगीत क्षेत्रलाई नै पूर्ण रुपमा जीविकोपार्जनको माध्यम बनाइरहेका श्रीधर गीत बनाउनु र चलाउनुलाई दुई फरक फरक कलाको रुपमा बुझ्छन् ।

‘अहिले परिस्थिति बदलिएको छ । पहिलाको जस्तो क्यासेटहरु बिक्री हुने जमाना छैन । अहिलेका सर्जकहरुले गीत संगीतसँगै सँगै ‘स्ट्रिमिङ प्ल्याटफर्म’को पनि राम्रो ज्ञान राख्नु जरुरी छ’, उनी भन्छन्, ‘अहिले युट्युबको अल्गोरिदम बुझ्नु आवश्यक छ । अन्य अडिओ स्ट्रिमिङ प्ल्याटफर्मको बारे बुझ्नु आवश्यक हुन्छ । म्युजिक भिडिओमा अनेक एक्स्पेरिमेन्ट गर्नुपर्छ । यसो गर्न सकिएन भने यो क्षेत्रमा टिक्न मुस्किल पर्छ ।’

संगीतको क्षेत्रमा भर्खर वामे सार्दै गरेको बताउने श्रीधर आफूले अझै धेरै सिक्न बाँकी रहेको बताउँछन् । ‘सिक्न अझै धेरै बाँकी छ । सिक्दै जाने हो अन्तिम क्षणसम्म । यही क्षेत्रमा योगदान गर्ने हो’, उनी दृढ सुनिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर