साँघुरिँदै अमेरिकाकाे डलर सम्राज्य : अन्य मुद्रामा कारोबार बढाउँदै अर्जेन्टिना, ब्राजिल, भारत र रुस – Nepal Press

साँघुरिँदै अमेरिकाकाे डलर सम्राज्य : अन्य मुद्रामा कारोबार बढाउँदै अर्जेन्टिना, ब्राजिल, भारत र रुस

काठमाडौं । विश्वमा जुन देशको पहुँच र प्रभाव बलियो हुन्छ, मुद्रा पनि त्यही देशको बलियो हुने प्रचलन आइसकेको छ । सन् १९२० को दशकसम्म अमेरिकी डलरभन्दा बेलायती पाउण्डको धेरै प्रभाव थियो । त्यो समयताका धेरै देशहरुले पाउण्डको जोहो गर्थे ।

तर, सन् १९२० को दशकपछि खासगरी डलर हावी हुन थाल्यो । सन् १९४४ जुलाई १ देखि २२ सम्म भएको ‘ब्रिटोन उड्स् कन्फ्रेन्स’बाट डलर बलियो भएर आयो । दोस्रो विश्व युद्धका विजेता पक्षका ४४ देशका प्रतिनिधिहरु सम्मिलित उक्त कन्फ्रेन्सबाट आईएमएफदेखि विश्व बैंक स्थापनासम्मको बाटो खुलेको थियो ।

वैदेशिक मुद्रा सञ्चित गर्न होस् वा विदेश यात्रा गर्न होस्, अमेरिकी डलर नै हावी हुँदै आएको छ । तर, यसको प्रयोग कम गर्ने प्रचलन पनि सुरु भएको छ । दोस्रो विश्व युद्धपछि डलरको एकछत्र राजमा अमेरिकाको एकल विश्व वर्चश्वलाई प्रमुख कारण मान्न सकिन्छ । तर, पछिल्ला दशकमा विश्व अमेरिकी एक ध्रुव नभएर बहुध्रुवको भएको तर्क आएका छन् । ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका सहभागी भएको समूह ब्रिक्स्ले यो पदावली धेरै प्रचलनमा ल्याएको छ । बहुधु्रवीय विश्वसँगै डलरको एकछत्र प्रभुत्वमा पनि समस्या आउन थालेको छ ।

रुसले सन् २०१४ बाटै सुरु गरेको थियो डलरको प्रयोग कम

सन् २०१४ फेब्रुअरीबाट क्रिमियामा रुसी सैनिक आए । मार्चमा भएको भनिएको जनमतसंग्रहले क्रिमिया रुसमा गाभियो । त्यो घटनापछि अमेरिकी र युरोपेली शक्तिहरुले रुसलाई नाकाबन्दी लगाए । नाकाबन्दीको प्रतिकार गर्न रुसले डलरको प्रयोग कम गर्न थालेको विश्व मिडियाहरुले उल्लेख गरेका छन् । रुसको डलर कम प्रयोग गर्ने प्रयत्नमा उनले दुई देशको व्यापारमा आफ्नै मुद्रा प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।

यसैको पछिल्लो उदाहरण सन् २०२२ फेब्रुअरी २४ बाट सुरु भएको युक्रेन हमलापछिको आफ्नो कारोबारमा रुसले अमेरिकी मुद्रा प्रयोग गर्न छोडेको छ । गत मार्च २० देखि २३ सम्म चीनका राष्ट्रपति सी रुसको राजकीय भ्रमणमा गए । भ्रमणमा पुटिन र सीले डलरको कारोबार दुई देशका बीचमा नगर्ने घोषणा गरेका थिए । यसले रुसलाई थप सजिलो बनाइदिएको छ । रुसको यो तरिका इरानले पनि प्रयोग गरेको छ । इरान पनि अमेरिकी प्रतिबन्ध भोगेको देश हो ।

दुई पक्षीय व्यापारमा डलर नलगाउने देश : अर्जेन्टिनादेखि भारतसम्म

हालसालै अर्जेन्टिनाका अर्थमन्त्री सेर्गिओ मासाले चीनसँगको दोहोरो व्यापार कारोबारमा डलर प्रयोग बन्द हुने सार्वजनिक जानकारी दिए । यो खबर विश्वभर फैलियो । गत मार्च २६ देखि ३१ सम्म चीनको राजकीय भ्रमणमा आएका ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले सार्वजनिक रुपमै डलरको प्रयोग कम गर्ने बताएका थिए । उनले चिनियाँ विश्व अखबार सीजीटीएनसँग बोल्दै यस्तो बताएका थिए ।

अर्जेन्टिना, ब्राजिल जस्ता अमेरिकी गोलार्द्धका देशहरुले मात्रै होइन एसियाली देशहरुले पनि डलर प्रयोग कम गरेका छन् । जस्तै पछिल्लो समयमा भारतले १८ देशसँग आफ्नै रुपैयाँमा आर्थिक कारोबार गर्ने सम्झौता मार्चमा गरेको भारतीय मिडिया विओनले उल्लेख गरेको छ ।

जिओपोलिटिकल इकोनोमी डटकमका अनुसार अमेरिकी साझेदार यूएईले चीनसँग पेट्रोलियम कारोबार गर्दा युआनमा गर्न थालेको छ भने अफ्रिकी देश केन्याले पर्सियन गल्फ क्षेत्रको तेल आफ्नै मुद्रामा किन्न सुरु गरेको छ । साउदी अरबले पनि डलर प्रयोग कम गर्ने भएको छ ।

चीनले त संघाई कोअपरेसन अर्गनाइजेसनदेखि विभिन्न मञ्चहरुसम्ममा युआन प्रयोग गर्ने प्रयत्न सुरु गरेको छ । चीनले विश्व बजारमा डलरको विकल्पको रुपमा आफ्नो मुद्रा युआनलाई अघि सारेको छ । दक्षिण पूर्वी एसियाका १० देशको संस्था आसियानका मुलुकहरुले पनि स्थानीय मुद्रामै दुई देशका कारोबार गर्न थालेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

संयुक्त मुद्रा ल्याउने छलफलमा ब्राजिल र अर्जेन्टिना, ब्रिक्स् पनि साझा मुद्राकै पक्षमा

पछिल्ला वर्षहरुमा ल्याटिन अमेरिकी दुई ठूला छिमेकी ब्राजिल र अर्जेन्टिनाले साझा मुद्रा ल्याउने प्रयत्न सुरु गरेका छन् । ‘सुर’ नामको साझा मुद्रा ल्याउनेबारेमा दुई देशमा गहन छलफल भएका छन् । कहिले सुर नामको मुद्रा आउँछ भन्न सकिन्न । यति चाहिँ भन्न सकिन्छ, ब्राजिल र अर्गेन्टिना अमेरिकी गोलार्द्धमै भएर पनि अमेरिकी डलरमा दुई देशको कारोबार गर्न अनिच्छुक छन् । यस्तै ब्रिक्स् देशहरुबीच पनि साझा मुद्रा ल्याउने छलफल भएको छ ।

के अमेरिकी डलरको दबदबा अन्त्य होला ?

अमेरिकी डलरमा कारोबार गर्न अनिच्छुक देशहरु बढेका छन् । तर, डलरको महत्वै घटेको भने होइन । अहिले पनि वैदेशिक मुद्रा सञ्चितीको लागि सबैभन्दा धेरै जोहो गरिएको मुद्रा डलर हो । अन्तर्राष्ट्रिय मुद्राको रुपमा कारोबार हुने सबैभन्दा ठूलो मुद्रा डलर नै हो । विश्वको एक नम्बरको अर्थतन्त्र अमेरिकाको मुद्रा भएकाले डलरलाई अझै शक्तिशाली भइरहने सुविधा छ । तर, शक्ति पहिले जस्तो भने नहुने निश्चित छ ।

डलरको यही घट्दो महत्वलाई बुझाएर अमेरिकी पत्रकार तथा लेखक फरिद जकारियाले गत मार्च २४ मा वासिङटन पोस्टमा एक आलेख लेखेर डलर अमेरिकाको ‘सुपर पावर’ भएको तर्क गरे । तर, अमेरिकी डलर सुपर पावरमा रुस र चीनले तर्साइरहेको जकारियाको तर्क छ ।

अमेरिकी सरकारले डलरलाई हतियारको रुपमा प्रयोग गरेपछि बैकल्पिक मुद्रा प्रयोगको रहर र चलन बढेको जकारियाको तर्क छ । साउदीले युआनमा तेल बेच्न खोज्नु, भारतले फरक फरक मुद्रामा फरक फरक देशसँग कारोबार गर्नु, डिजिटल मुद्राको अवधारणा आउनु जस्ता कदमले डलरको प्रभुत्व कम हुने जकारियाको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *