सीसीटीभीको निगरानीमा बजेट लेख्दैछ अर्थमन्त्रीको ‘कोर टिम’ – Nepal Press

सीसीटीभीको निगरानीमा बजेट लेख्दैछ अर्थमन्त्रीको ‘कोर टिम’

बजेट लेखनमा व्यस्त अर्थ मन्त्रालय राती ९ बजेसम्म जाग्छ

काठमाडौं । जेठ १५ नजिकिँदै गर्दा अर्थ मन्त्रालयमा बजेट लेखनले व्यापक तीव्रता पाएको छ । बजेट लेखन टिम अर्थमन्त्री भन्दा अघि नै मन्त्रालय पुगिसक्छन् ।

सहसचिव धनिराम शर्माको संयोजकत्वमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा बजेट लेखन टिममा छन् । सो टिम बिहानको खाना खाजा मन्त्रालयमै खान्छन् ।

कहिले अर्थ सचिवको मिटिङ हलमा त कहिले राजस्व सचिवको हलमा टोलीले बजेट लेख्ने गरेको अर्थमन्त्रलयका अधिकारी सुनाउँछन् । दिनभर बजेट लेख्न व्यस्त टिमसँग विगत एक साता यता अर्थमन्त्री वर्षमान पुन पनि दैनिक ४ घण्टा बस्ने गरेका छन् ।

बजेट लेखन अति गोप्य हुने भएकाले अर्थमन्त्रीका आसेपासे समेत त्यहाँ जान पाउँदैनन् । बेलुका ९ बजेसम्म बसेर काम गर्ने टिमले बेलुकाको खाना पनि मन्त्रालयमै खान्छन् ।

सधैंजसो मोवाइल फोनमा रेस्पोन्स गर्ने सहसचिवहरू आजकाल फोन कलसमेत रिसिभ गर्दैनन् । आजकाल उनीहरूलाई कुनै सार्वजनिक बिदा वा शनिवारिय बिदा छैन ।

अर्थ मन्त्रालयको बाहिर गेटबाटै भित्र छिर्न कडाइ गरिएको छ । भित्र कुनै कर्मचारीले सुरक्षा गार्डलाई सिफारिस गरेपछि मात्र आगन्तुक अर्थ मन्त्रालय भित्र छिर्न पाउँछन् ।

यद्यपि अत्यन्त न्यूनलाई मात्र कर्मचारीले भित्र आउन दिन सुरक्षा गार्डलाई संकेत गर्दछन् । अर्थ मन्त्रालयले चैतमै अति आवश्यक बाहेक मन्त्रालय नआउनु भन्दै सूचना नै जारी गरेको थियो । बजेट निर्माणका लागि मन्त्री र कर्मचारीहरू व्यस्त हुने भएकाले अत्यावश्यक बाहेक भेटघाटका लागि नआउन मन्त्रालयले अनुरोध नै गरेको छ । अर्थमन्त्रीका कोर टिम दैनिक १७ घण्टा अर्थ मन्त्रालयमै हुन्छन् ।

सीसीटीभी पनि ठिकठाक

विगतमा सीसीटीभी फुटेजले चर्चा पाएको अर्थ मन्त्रालयमा यस पटक भने सबै ठिकठाक रहेको त्यहाँका कर्मचारीहरू बताउँछन् । मन्त्रालयका सूचना अधिकारी युवराज बस्नेत सिसिटिभी ठिक भएको र ९० दिनसम्मको स्टोरेज रहने बताउँछन् ।

अघिल्लो वर्ष तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करका विषयमा अनधिकृत व्यक्ति बजेट लेख्ने बेलामा छिराएर दर हेरफेर गरेको आरोप लाग्दा सीसीटीभीले निकै चर्चा पाएको थियो । सीसीटीभी बिग्रेको जवाफ शर्माले दिएका थिए ।

तर अहिले भने कर्मचारीहरूले सिसिटिभी सही अवस्थामा रहेको बताएका छन् । सोही सीसीटीभीको निगरानीमा अर्थमन्त्री सहित उनका कोर टिम बजेट लेखिरहेका छन् ।

अर्थमन्त्री वर्षमान पुन बिहान ८ देखि ९ बजेभित्र अर्थ मन्त्रालय छिरिसक्छन् । मन्त्रालयका फाइल हेर्ने काम गरिसकेपछि संसद मिटिङ भए निस्कन्छन् नभए मन्त्रालयमै काम गर्छन् । प्रधानमन्त्रीलाई हरेक दिन ब्रिफिङ गर्छन् । त्यसपछि दिउँसोको समयमा दैनिक करिब ४ घण्टा बजेट लेखन टिम भएको कोठामा छिर्छन् । एक्लै बजेट लेखन टिमसँग उनले विभिन्न विषयका जानकारी लिन्छन् । बजेट लेखनको अपडेट लिन्छन् । सार्वजनिक बिदाको दिन पनि मन्त्रालय पुग्छन् अर्थमन्त्री ।

अर्थमन्त्री बेलुका ९ बजेसम्म अर्थ मन्त्रालयमै हुने गरेका छन् । योजना आयोगले दिएको १८ खर्बको बजेट सिलिङ र प्रधानमन्त्रीले भन्दै हिँड्ने गरेको १९/२० खर्बको बजेटको ट्रयापमा मन्त्री परेका छन् ।

स्रोतका अनुसार उनले १९ खर्बको बजेट ल्याउने तयारी गरेका छन् । स्रोतको सकस अझै छ । तर देखाउनकै लागि बजेटको आकार बढाउनुपर्ने दबाबमा अर्थमन्त्री छन् । त्यसैले उनले अहिले हरेक दिन जसो प्रधानमन्त्रीलाई बजेट बारे ब्रिफिङ दिने गरेको स्रोत बताउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *