बागमती सरकार बिस्तारमा लफडा : कांग्रेसको ‘अल्टिमेटम’ मुख्यमन्त्रीद्वारा ‘रिजेक्ट’ – Nepal Press

बागमती सरकार बिस्तारमा लफडा : कांग्रेसको ‘अल्टिमेटम’ मुख्यमन्त्रीद्वारा ‘रिजेक्ट’

हेटौँडा । सत्ता गठबन्धनको भागबन्डा नमिल्दा बागमती प्रदेशको सरकार विस्तार अन्योलमा परेको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले पूर्णता पाउन नसक्दा आर्थिक वर्ष २०८०/०८१ को बजेट निर्माणमा समेत असर पर्न थालेको छ ।

संघमा भएको सत्ता समीकरणको परिवर्तनसँगै एमाले र राप्रपाले सरकार छाडेपछि रिक्त रहेका ७ मन्त्रालय मध्ये अझै ५ मन्त्रालय मन्त्री विहीन छन् ।

सरकार पुनर्गठनको तयारीको लागि मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अनेकौँ प्रयास विफल भइरहँदा नेपाली कांग्रेसले आज ९सोमबार० मुख्यमन्त्री जम्कट्टेलले आफूहरूको माग पुरा नगरे सरकारबाट राजीनामासम्म दिने चेतावनी दिएका छन् ।

११ मध्ये ६ मन्त्रालयको दाबी गरेको कांग्रेसले दुईजना मन्त्रीलाई मन्त्रीमण्डलमा समावेश गराइसकेको अवस्थामा थप ४ जनालाई कुनै पनि हालतमा मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने माग गरेको छ ।

प्रदेशको सबैभन्दा ठुलो दल भएको हैसियतमा आफूहरूले ६ वटा मन्त्रालय पाउनुपर्ने दाबी स्वभाविक रहेको आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुरसिंह लामाले बताए ।

आफूहरूले पटक–पटक मुख्यमन्त्री समक्ष ६ मन्त्रालयको दाबी गरेको तर मुख्यमन्त्रीले आफूहरूको प्रस्तावलाई वास्ता नगरेको भन्दै लामाले यस्तै अवस्था आए आफूहरूले सरकारबाट राजीनामा समेत दिने मनस्थिति निर्माण गरेको बताए ।

केन्द्रीय सत्ता साझेदार दलको एकीकृत समाजवादीलाई एक सिट दिएर आफूहरू ६ मन्त्रालय लिने तयारी कांग्रेसको भएपनि एकीकृत समाजवादीले भने दुई सिट भन्दा तल सरकारमा सहभागिता नजनाउने बताइसकेको छ ।

एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशका पूर्व मन्त्री कृष्णप्रसाद शर्मा खनालले आफूहरूको माग ३ वटा मन्त्रालय रहेको भएपनि सहमतिको लागि २ वटासम्म मान्न तयार रहने तर त्यो भन्दा तलको अवस्था आए प्रतिपक्षमा बस्ने बताएका छन् ।

सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टीले पनि सरकारमा सहभागिताको लागि मुख्यमन्त्री जम्कट्टेलाई दबाब बढाइरहेको छ । ११ मन्त्रालय मात्र रहेको अवस्थामा सबै दलको मागलाई सम्वोधन गर्न मुख्यमन्त्रीलाई समस्या बढेपछि सरकार विस्तारमा अन्यौलता छाएको हो ।

सरकारमा बसेर अल्टिमेटम दिनुको कुनै अर्थ छैन :  मुख्यमन्त्री जम्कट्टेल

नेपाली कांग्रेसले दिएको अल्टिमेटमबारे नेपालप्रेससँग कुरा गर्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले त्यो अल्टिमेटमको कुनै अर्थ नभएको बताए ।

उनले भने ‘सरकारमा सहभागी भएको दलले सरकारलाई नै अल्टिमेट दिने भन्ने कुरा पनि कहीँ हुन्छ र ? तपाईँहरू आफै सोच्नुस् त त्यो कुरा मिल्छ र ?’

सरकार विस्तार कहिले हुन्छ भन्ने नेपाल प्रेसको प्रश्नमा जम्कट्टेलले कांग्रेसले मन्त्रीको लिस्ट पठाएपछि सरकार बिस्तार हुने सहज उत्तर दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर