दर्शकको मागपछि ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स परिवर्तन – Nepal Press

दर्शकको मागपछि ‘ज्याकीः आई एम ट्वान्टी वान’को क्लाइमेक्स परिवर्तन

काठमाडौं । बिहीबारदेखि रिलिजमा आएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ले ३ दिने विकेन्डमा औसत व्यापार गरेको छ । तर, फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको कथावस्तुलाई नयाँ भन्दै प्रशंसा गरेका छन् । यसैले, पनि आगामी दिनमा दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ ।

फिल्मको क्लाइमेक्समा भने दर्शकले असन्तुष्टि जनाएका थिए । फिल्म हेरेर फर्किएका अधिकांश दर्शकले यसको क्लाइमेक्स अपूर्ण भएको भन्दै निर्माण पक्षसँग असन्तुष्टि जनाएका थिए ।

अब, दर्शकले परिवर्तन भएको क्लाइमेक्ससहित फिल्म हेर्न पाउनेछन् । दर्शकको मागलाई ध्यानमा राखेर निर्देशक रेनशा वान्तवा राईले क्लाइमेक्समा परिवर्तन गरेको बताएकी छिन् । क्लाइमेक्स परिवर्तन गरेर फिल्म हलमा लागेपछि दर्शकले धन्यवाद दिएको रेनशाले बताइन् ।

उनले भनिन्, ‘हामीले दर्शकको मागलाई ध्यानमा राखेर क्लाइमेक्समा परिवर्तन गरेका छौँ । परिवर्तित क्लाइमेक्सलाई दर्शकले मन पराउनुभएको छ । दर्शकले फिल्मलाई पूर्ण रूपमा मन पराउनुभएको छ । क्लाइमेक्समा आएको गुनासोलाई समेत हामीले परिवर्तन गरेका छौँ ।’

नायक धिरज मगर, नायिका जसिता गुरुङले पनि अब दर्शकले क्लाइमेक्सलाई रुचाउने बताए । नेपाली फिल्म क्षेत्रमै पहिलो पटक डान्स र पारिवारिक कथावस्तुमा तयार भएको यो फिल्म हेरेपछि अधिकांश दर्शकले निर्माण टिमको मिहिनेतको खुलेरै प्रशंसा गरेका थिए ।

नेपालमा यस्तो शैलीको फिल्म यस अगाडि नबनेको भन्दै उनीहरूले ‘ज्याकीः आई एम ट्वान्टी वान’ जस्ता फिल्म बन्नुपर्ने तर्क गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर