अर्थतन्त्र बलियो बनाउन कर्मचारी, नेता र निजी क्षेत्र सच्चिनुपर्छ : नवीन रिजाल (भिडिओ) – Nepal Press
नेपाल टक

अर्थतन्त्र बलियो बनाउन कर्मचारी, नेता र निजी क्षेत्र सच्चिनुपर्छ : नवीन रिजाल (भिडिओ)

विराटनगर । उद्योगी व्यपारीहरूको मुलुककै जेठो संस्था हो मोरङ व्यापार सङ्घ । यो संस्थाले सबैभन्दा पहिला बैङ्कहरूले बढाएको व्याजदरविरुद्धमा आन्दोलन थाल्यो । व्याजदरवृद्धि विरोधमा सुरूमा राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको व्यापार संघले पछि धर्नालगायतका आन्दोलनसमेत गर्‍यो । तर, राष्ट्र बैंकले उद्योगीव्यापारीको कुरा सुनेन । व्यापार संघसहित विराटनगरका उद्योगी व्यपारीहरूको संस्था उद्योग सङ्गठन, नेपाल उद्योग परिसंघलगायतले संयुक्त रूपमा सडक आन्दोलन थाले । विराटनगरका उद्योगी व्यापारीले आन्दोलन थालेपछि विभिन्न जिल्लामा रहेका उद्योग वाणिज्य संघहरूले पनि आन्दोलन थाले । आन्दोलनपछि बैंकहरूलाई प्रिमियम घटाउन निर्देशन दिइएको छ । बैंकहरूले ७ प्रतिशतबाट २ प्रतिशतमा झारेर प्रिमियम लिन थालेका छन् ।

मोरङ व्यापार संघले पनि आफूहरूको आन्दोलन सफल भएको जनाएको छ । बैंकहरूले ऋणीहरूलाई दु:ख दिएको र यसका कारण व्यपारीहरूले आत्महत्या गरेको समाचार अझै आइरहेका छन् । तरलता अभाव छ । लगानीको वातावरण नभएको उद्योगी व्यापारीहरूले नै बताइरहेका छन् । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूको अवस्था, समस्या र आर्थिक समस्यालगायतका विषयमा उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालसँग कुराकानी गरेका छौं । नेपाल प्रेसले रिजालसँग गरेको कुराकानी नेपाल टकमा

– यहाँहरू आन्दोलन सफल भयो भन्दै हुनुहुन्छ । अब आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान हुने बाटोमा गएका हुन् ?

हामीले नेपाल राष्ट्र बैंकले जब गलत मौद्रिक नीति ल्यायो त्यही बेलाबाट यो विषय उठाएका थियौं । नेपाल राष्ट्र बैंकको हठका विषयमा हामीले आवाज उठायौं । राष्ट्र बैंकले चालूपूँजी कर्जा निर्देशिका ल्यायो त्यसलाई पनि हामीले अब्जेक्शन गर्‍यौं । त्यतिवेलै हामीले भनेका थियौं, साढे ८ प्रतिशतमा दिएको ऋणको व्याजदर १७ प्रतिशतसम्म पुग्नसक्छ । यो नीतिले गर्दा । त्यस कारण हामी एक वर्षदेखि सडकमा छौ । विगतको तीन ४ महिनादेखि त हामी नेपाल राष्ट्र बैंक घेर्न तयार भयौं । नेपाल राष्ट्र बैकको आफ्नो हठको कारण यो सबै बिग्रिएको अवस्था थियो । अवस्था बिग्रिएपछि हामी बालुवाटार र नेपाल राष्ट्र बैंक घेर्न गयौं । त्यसपछि प्रधानमन्त्रीले हामीलाई वार्ताका लागि बोलाउनुभयो । हामीले सरकारले यस विषयमा हस्तक्षेप गर्नुपर्छ भनेर भन्यौं । त्यो राज्यले सुन्यो । हामीले पटकपटक भन्दै आएको कुरा सरकारले सुन्यो । सरकारका संस्थाहरु जसले आफैँले कमाएर व्याज खान्छन् यो हुनुहुँदैन । राज्यले व्याज खाएको राम्रो होइन भन्ने मुद्दा उठाएका थियौं यो कुरा राज्यले मान्यो । मुलुककै जेठो संस्था मोरङ व्यापार सङ्घले १ वर्षदेखि ७० लाख ऋणीहरूका लागि लडेको थियो अहिले यो कुरा राज्यले सुनेको छ । हामी सफल भएका छौं । ७ प्रतिशत प्रिमियमबाट घटेर अहिले २ प्रतिशतमा झरेको छ । म सबै ऋणीहरूलाई आव्हान गर्छु बैंकले २ प्रतिशतभन्दा तल प्रिमियम लिन थालेको छ तपाईँहरू ऋण तिर्नुहोस् । यथाशीघ्र आफ्नो ऋणहरू घटाउन थाल्नुस् । बैकसँग कुरा गर्नुस् ।

– अब तरलता अभावको समस्या पनि समाधान हुने हो ? कि अझै यो समस्या बाँकी छ ।

प्रिमियम घट्दैछ तर तरलताको फ्लो अझै छ यसको पाटो अलग छ । एकातिर बैंक व्याजदर घटेको छ । हाम्रो व्याजदर मात्रै समस्या थिएन तरलता अभावको मुद्दा पनि थियो । तरलता कसरी कन्ट्रोल गर्ने भन्ने कुराको सुझाव पनि मोरङ व्यापार सङ्घले दिएको छ । राज्यले ९ खर्व चालू खर्च गर्छ । यसलाई यथाशीघ्र घटाउनु पर्छ । विकास खर्च बढाएको अवस्थामा तरलता समस्या अलिकति भए पनि समाधान हुन्छ । अर्को स्वदेशी बजार प्रवर्धनका मुद्दा छन् यसलाई सम्बोधन गर्नु पर्छ । सीमापारि गएर किनमेल गर्ने प्रचलन छ यसलाई कन्ट्रोल गर्न पर्छ । अनुत्पादक क्षेत्रमा भइरहेको लगानी राज्यले यथाशीघ्र बन्द गर्नु पर्छ । उत्पादन मूलक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनु पर्‍यो । खर्च कन्ट्रोल नगरी उपाय छैन । यदि यसो भएन भने राज्य कर्मचारीलाई तलब समेत दिन नसक्ने अवस्थामा पुग्ने छ । अहिले समय हुँदै नीतिगत त्रुटिहरू छन् यो सच्याउनु पर्छ ।

– सुनसरी मोरङ औद्योगिक करिडोरमा अव लगानी गर्ने वातावरण बनेको हो ?

एउटा कुरा मान्न के जरुरी छ भने उद्योगी व्यपारीहरूले आत्महत्या गरिरहँदा नयाँ उद्योगीहरू आउने सम्भावना न्यून भएको छ । व्यवसाय गर्नुको मतलब भोलिको दिनमा ऋण तर्न नसक्ने अवस्थाको सृजना राज्यले गर्छ अनि उद्योगी व्यापारीले आत्महत्या गर्छ । अहिले जनमानसमा यो कुरा व्याप्त छ । हामी उद्योगी व्यापारीको संगठनको नेतृत्व लिइरहँदा हाम्रो जिम्मेवारी के हो भने टोल टोलमा गाउँमा गाउँमा उद्योगीहरू जन्माउनु पर्छ । उद्योग धन्दाहरू खोल्न प्रोत्साहन गर्नुपर्छ । यसका लागि राज्यले लिएको गलत नीति सच्याउन पहल गर्नुपर्छ । यसका लागि मोरङ व्यापार सङ्घ बलियो भएको छ । मोरङ व्यापार सङ्घको उपस्थिति उद्योग वाणिज्य महासङ्घमा पनि भएको छ । हाम्रा कुरा अव उद्योग वाणिज्य महासङ्घ मार्फत पनि उठ्ने छ । अव ७० लाख ऋणीहरूको समस्या समाधानको नेतृत्व गएका छौ । समस्याको उठान मात्रै गर्दैनौ समाधानको बाटोमा लैजान्छौ ।

– अहिले लगानी गर्ने अवस्था छ ?

अहिले नयाँ लगानीको अवस्था त भन्न सक्दिन । लगानी गरेर बसिरहेका साथीहरू छन् उनीहरूका लागि भने अवसर पनि छ । यसको वातावरण भने बनाउनु पर्छ । नीतिगत रूपमा रहेका त्रुटिहरू सच्याइदिने हो भने लगानीको अवस्था रहन्छ । नयाँ लगानीका लागि भने केही समय पर्खनु पर्छ । राज्यले गरेका नीतिगत त्रुटि सच्यायो भने नयाँ उद्योगी आउने छन् ।

– सच्याउनै पर्ने कुरा के हो त ?

अहिले कर्मचारी, नेता र कर्पोरेट सेक्टरको समीकरण छ यो तत्काल बन्द गर्नु पर्छ । अब अति भयो । यसलाई बन्द गर्नु पर्छ । हामी सच्चिनु पर्छ । पैसा मात्रै ठूलो कुरा होइन । देशको अर्थतन्त्र बलियो बनाउन हामी तीनै पक्ष सच्चिन जरुरी छ । देशको जनसङ्ख्या, ७० लाख ऋणीहरूको जिम्मेवारी कर्मचारी, नेता र कर्पोरेट हाउससँग छ । त्यो जिम्मेवारी सोचेर अगाडि बढ्न पर्छ । कर्मचारीले राज्य संयन्त्रमा काम गरिरहँदा जिम्मेवारी बुझ्नुपर्छ । नेताले आफ्नो जिम्मेवारी बुझ्न पर्छ र निजी क्षेत्रले पनि जिम्मेवारी बहन गर्न जरुरी छ । तीनै पक्ष सच्चिन जरुरी छ । कुन कुन ठाउँमा नीतिगत त्रुटि छ भन्ने कुरा तीनै पक्षलाई थाहा छ त्यो सच्चिनु अव जरुरी छ । अव हामीले नयाँ उद्योगीहरूलाई रोक्ने हो भने कर्पोरेट हाउसमात्रै बाँकी रहन्छ । बाँकी त खाडीमा हुन्छन् । त्यसपछि व्यवसाय कसरी हुन सक्छ ?आर्थिक उन्नति कसरी हुन सक्छ ?जब जनसङ्ख्या नै छैन भने राज्य सत्ता कसलाई हाँक्ने हो ?जनता नभए व्यापार कसरी हुन्छ ?कहाँ कहाँ त्रुटि छन् के के सच्याउँदा समस्या समाधान हुन्छ भन्ने कुरा तीनै पक्षलाई थाहा छ । अव तीनै पक्षले सच्याएर जानुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर