‘पासाङ’ चलचित्र प्रिभ्यू : पासाङ ल्हामुको प्रश्न- ‘के सगरमाथा हामीले चढ्न सक्दैनौं र ?’ – Nepal Press

‘पासाङ’ चलचित्र प्रिभ्यू : पासाङ ल्हामुको प्रश्न- ‘के सगरमाथा हामीले चढ्न सक्दैनौं र ?’

काठमाडौं । पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहणको चौथो र निर्णायक प्रयासमा हुन्छिन् । सान मिगेल बियर मुख्य प्रयोजक हुन्छ । अरु पनि प्रायोजक हुन्छन् । सान मिगेलको प्रतिशत २५ मात्रै हुन्छ । यही बारेमा आरोहणमा हिँड्नु अगाडि काठमाडौंमा पत्रकार सम्मेलन हुन्छ । सम्मेलनमा पत्रकारले प्रश्न गर्छन्, ‘सान मिगेल तपाईंको पछि लागेको हो कि तपाईं सान मिगेलको पछि लागेको हो ?’

जवाफमा पासाङ भन्छिन्, ‘सान मिगेल मेरो पछि लागेको होइन । म पनि सान मिगेलको पछि लागेको होइन । दुवै देशको पछि लागेको हो ।’

यस्तो सटिक सवाल जवाफको भिडियो नै छ चलचित्रमा । यतिमात्रै हेर्दा पनि पासाङको बौद्धिकस्तर र सवालजवाफको गजब दक्षता अनुमान गर्न सकिन्छ । प्रथम नेपाली महिला सगरमाथा आरोही तथा राष्ट्रिय विभूति पासाङको सगरमाथा आरोहणको बारेमा बनेको चलचित्र ‘पासाङः इन द स्याडो अफ एभरेस्ट’ यथार्थ घटनामा आधारित चलचित्र हो । अमेरिकी टोलीले बनाएको चलचित्रमा पासाङको जन्मथलो सोलुखुम्बुको सुर्के, बसाइ थलो काठमाडौंदेखि उनले यात्रा गरेको फ्रान्सदेखि सगरमाथा क्षेत्रसम्मका दुर्लभ भिडिओहरु समेटिएको छ ।

पासाङले रक क्लाइम्ब गरेको, सगरमाथामा यात्रा गरेका भिडियोहरु छन् । भिडिओमा पासाङका अभिव्यक्तिहरु पनि देखाइएको छ, त्यी सबै बोल्ड छन् । रक क्लाइम्बिङ गर्दैगर्दा पत्रकारले सोध्छन्, गाह्रो हुन्न ? पासाङले केटा जस्तै सक्छु भन्ने उत्तर दिन्छिन् । नेपाली महिलाहरु रक क्लाइम्बिङ र हिमाल आरोहण प्रयासमा थोरैमात्रै भएको भन्दै पासाङ आफ्नै लवजमा भन्छिन्, ‘कम्तिमा मात्रै छ ।’ सगरमाथा चढ्ने हुटहुटी धेरै भएकी पासाङ चौथो प्रयासमा चुचुरोमा पुग्छिन् ।

पासाङले सगरमाथा आरोहण गरेको वर्ष नेपाल-भारत महिलाको संयुक्त आरोहणको लागि पासाङलाई पनि प्रस्ताव गरिन्छ । उनी आफूलाई लिडर बनाउन सर्त राख्छिन् । त्यो सर्त नमानिएपछि उनी बेग्लै आरोहण दलमा तयार हुन्छिन् । पत्रकारहरुको प्रश्नमा उनी प्रतिप्रश्न गर्छिन्, ‘के सगरमाथा हाम्रो होइन र ? के सगरमाथा हामीले चढ्न सक्दैनौं र ?’

अमेरिकी टोलीले बनाएको चलचित्रमा पासाङको जन्मथलो सोलुखुम्बुको सुर्के, बसाइ थलो काठमाडौंदेखि उनले यात्रा गरेको फ्रान्सदेखि सगरमाथा क्षेत्रसम्मका दुर्लभ भिडियोहरु समेटिएको छ ।

लिडर उनी आफैं हुन्छिन् । सहायक लिडर लाक्पा फुटी शेर्पा हुन्छिन् र सदस्य नन्दा राई । तीन नेपाली महिला सगरमाथा आरोहणमा जान्छन् । नन्दा र लाक्पा फुटीलाई उछिनेर पासाङ चुचुरोमा पुग्छिन् । तर, मेन समिटबाट साउथ समिट आउन नै मौसम खराबी भएर पाँच घण्टा लाग्छ । पछि मौसम खराब भएर पासाङको ज्यान जान्छ । पासाङको शरीर पछि उद्धार गरेर काठमाडौं ल्याइन्छ । पहिले सरकारले आर्थिक सहयोग गर्दैन । ज्यान गएपछि सहयोग गर्न तयार हुन्छ । पासाङको परिवारले सरकारको सहयोग अस्वीकार गर्छ । चलचित्र पासाङमा पासाङ सगरमाथा चढ्ने पहिलो नेपाली महिला भएकोदेखि मृत शरीरको उद्धार गरी ल्याइएकोसम्म पनि पहिलो उदाहरण भएको भनिएको छ ।

चलचित्रमा पासाङका दाजु, साथीहरु, छोरीहरु, श्रीमान, गाइडहरुदेखि अरु समकालीन आरोहीहरुसम्मको कुरा राखिएको छ । फ्रान्सको माउन्ट ब्लोन्क चढेपछि त्यहाँको आधार शिविर र चुचुरो अनि सगरमाथाको आधार शिविरको चुचुरोको उचाइ कति फरक छ भनेर श्रीमानलाई सोध्छिन् पासाङ । श्रीमानले बराबर जस्तै भएको भनेपछि उनमा सगरमाथा चढ्ने आँट आएको श्रीमान लाक्पा सोनाम शेर्पाले भनेका छन् । फ्रान्सको माउन्ट ब्लोन्कको कारण मात्रै होइन फ्रान्सेली महिलाहरुलाई विमानस्थलमा रिसिभ गर्न गएपछि उनीहरु हिमाल चढ्न आएको बुझेपछि पासाङलाई हिमाल चढ्ने मोह भएको श्रीमान सोनामले बताएका छन् । पासाङको सगरमाथा मोह पूरा गर्न कम्पनीको ६० प्रतिशत शेयर बेचेको जस्ता रोचक कुराहरु चलचित्रमा समेटिएको छ ।

पासाङको शवयात्राबाट सुरु भएको चलचित्र शवयात्रामै पुर्‍याएर सिर्जनात्मक वृत्त बनाएर अन्त्य गरिएको छ । तस्विरमा मात्रै पासाङलाई हेर्दै आएकाहरुले पासाङका दुर्लभ भिडियोहरु, उनको प्रेमदेखि विवाहसम्मका रोचक किस्सा राखिएका छन् । लाक्पा फुटीको पुस्तक ‘हिमालमा चालीस वर्ष’ पढ्ने, सगरमाथा चढ्नेदेखि पासाङको जन्मघर सुर्के पुग्नेहरुसम्मलाई चलचित्र त्यही घुमेकाले अतिरिक्त आनन्द आउँछ ।

पासाङले सगरमाथा आरोहण गरेको वर्ष नेपाल-भारत महिलाको संयुक्त आरोहणको लागि पासाङलाई पनि प्रस्ताव गरिन्छ । उनी आफूलाई लिडर बनाउन सर्त राख्छिन् । त्यो सर्त नमानिएपछि उनी बेग्लै आरोहण दलमा तयार हुन्छिन् ।

दशक बढी समय लगाएर बनेको भनिएको चलचित्रकी निर्माता निर्देशक न्यान्सी स्भेन्डसनले आफूले चलचित्रमा नेपाल, अमेरिका र फ्रान्स पुगेर बनाएको बताएकी छन् । अहिलेसम्म विश्वका ३० चलचित्र महोत्सवमा देखाइएको र विभिन्न पुरस्कार पाएको चलचित्र पासाङ हेर्नेपर्ने चलचित्र हो । पासाङको आरोहणको ३० दशकपछि ६५ महिलाले मात्रै सगरमाथा आरोहण गरेका छन् । उनीहरु सबैको तस्बिर पनि चलचित्रमा कलात्मक रुपमा देखाइएको छ । यो कोणमा चलचित्र पासाङको मात्रै होइन, सबै नेपाली महिला आरोहीहरुको पनि हो ।

पासाङको बारेमा बनेको गजब चलचित्र हुँदाहुँदै केही देखिने कमजोरीहरु छन् । जस्तैः चलचित्रको सुरुदेखि अन्तिमसम्म पासाङको आरोहण दलकी सहायक लिडर लाक्पा फुटी शेर्पाको बारेमा किस्ता किस्ताका कुराहरु आउँछन् । तर, त्यही आरोहण दलकी सदस्य नन्दा राईको बारेमा भने खासै खोज गरिएको छैन । एक ऐतिहासिक आरोहण दलकी महत्वपूर्ण अनुहारलाई छुटाउनुले एउटा पक्ष नै अपूरो हुन्छ ।

यस्तै चलचित्रमा २०४६ सालको आन्दोलन, कांग्रेस सरकारको पालामा भएका प्रदर्शनहरु देखाइएको छ । ती प्रदर्शनहरुमा पासाङ कनेक्सन बलियोसँग देखाइएको छैन । त्यसको सट्टा मदन भण्डारी र पासाङ कनेक्सन जोडिएको भए चलचित्रको कथा थप उचाइको हुने थियो । मदन भण्डारीले पासाङलाई सगरमाथा आरोहणको लागि बिदाइ गरेका थिए । बिदाइ कार्यक्रमपछि मदन राजनीतिक कार्यक्रममा हिँडे । पासाङ आरोहणमा । पछि दुवैको शरीरमात्रै काठमाडौं आयो । उनीहरुको फेरि भेट हुन सकेन । यो पक्ष चलचित्रमा राखिएको भए आन्दोलनका किस्ताकिस्ताका फुटेजभन्दा प्रभावकारी हुने थियो ।

बुधबार सिभिल मलको क्यूएफएक्समा फिल्मकर्मी, सेलिब्रेटी, कूटनीतिज्ञ तथा मिडियाकर्मीहरुलाई राखेर प्रिमियर गरिएको चलचित्र १५ गतेबाट देशभरका क्यूएफएक्स हलहरुमा लाग्दैछ । चलचित्रलाई लुक्लादेखि नाम्चे हुँदै देशभरका प्रमुख शहरहरुमा देखाउने पासाङ ल्हामु फाउन्डेसनको योजना छ । पासाङप्रेमी, हिमालप्रेमी, नेपाली महिलाको विकासका इच्छुकहरुले हेर्नेपर्ने खालको बनेको छ चलचित्र ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर