तत्कालीन मुख्यमन्त्रीसहितको सेटिङमा २७ सय रुख काटिए, पालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी – Nepal Press

तत्कालीन मुख्यमन्त्रीसहितको सेटिङमा २७ सय रुख काटिए, पालिका अध्यक्ष र वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी

दाङ । लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री कुलबहादुर केसी ´सोनाम` ले आफ्नो कार्यकाल सकिनै लाग्दा गत मंसिरमा राजधानी बसेको राप्ती गाउँपालिकामा पर्ने पूर्व-पश्चिम राजमार्गमा सौन्दर्य कायम गर्न सडक डिभिजनलाई उर्दी जारी गरे ।

मुख्यमन्त्रीको उर्दी जारी भएसँगै सडक डिभिजन कार्यालय दाङले ०७९ मंसिर २० गते सडकको क्षेत्राधिकार खाली गर्ने सम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालेको थियो । सूचनामा पूर्व-पश्चिम राजमार्गको धानखोलादेखि शिवखोला सडकखण्डको केन्द्रबिन्दु दायाँबायाँ ३१-३१ मिटरभित्र रहेका संरचना तथा अन्य सामग्री सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन तथा खाली गर्न भनिएको थियो ।

उक्त अवधिमा खाली गरेको नपाइएमा सडक डिभिजन कार्यालयले आफैँ भत्काउने र हटाउने कार्य गर्ने, खाली गराउँदा लागेको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट सरकारी बाँकी सरह असुल-उपर गरिने चेतावनी सूचनामार्फत दिइएको थियो ।

यही सूचनालाई आधार मानेर वन माफियाले मुख्यमन्त्री कार्यालयसम्म सेटिङ मिलाएर राप्ती गाउँपालिकाको वडा नम्वर १,४ र ५ मा पर्ने पूर्व-पश्चिम राजमार्ग किनारमा रहेका रूख कटान गरेको पाइएको छ । मुख्यमन्त्री कार्यालयबाट ग्रिनसिंनल पाएपछि वन माफियाले पालिका अध्यक्ष प्रकाश विष्ट वडा नम्बर १ का अध्यक्ष गेमबहादुर खड्का, वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चौधरी, र वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको मिलेमतोमा दिन दहाडै सिसौ, बकाइनो र वर-पीपल गरी करिब साढे २७ सय रूख कटान गरे ।

माफियाले यसरी राजमार्गमै रूख कटान गर्दा नियमन निकाय डिभिजन वन कार्यालय देउखुरी मुखदर्शक बन्यो । स्रोतका अनुसार डिभिजन प्रमुख राजु क्षेत्रीलाई एक्सनमा नजान तत्कालीन मुख्यमन्त्री सोनामले दबाब दिएका थिए । क्षेत्रीलाई वन माफियाले समेत प्रभावमा पारेको बताइएको छ ।

जबकी सडक डिभिजनले किनाराका अवैध संरचनाहरुमात्र हटाउँन सूचित गरेको थियो । रुख कटान गर्ने निर्णय सडकबाट हुँदैन र सडक विस्तारमा रुख कटान गर्नुपर्ने भएमा सडक विभाग हुँदै वन मन्त्रालयबाट निर्णय भएर सरकारले अनुमोदन गर्नुपर्छ ।

पालिका अध्यक्ष र तीन वडाअध्यक्ष विरूद्व मुद्दा

राजमार्ग क्षेत्रका वन फडानी भएपश्चात अख्तियारमा बेनामी उजुरी परेपछि अख्तियार,वन र जिल्ला प्रशासनले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा पालिका अध्यक्ष प्रकाश विष्ट, अध्यक्षहरू गेमबहादुर खड्का, वीरबहादुर चौधरी र देवप्रसाद चौधरीको संलग्नता देखिएपछि डिभिजन वन देउखुरीले उनीहरूविरुद्ध ८१ लाखको बिगो दाबीसहित मुद्दा दायर गरेको छ ।

सब डिभिजनले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै दाङ जिल्ला अदालतसँग पक्राउ अनुमति मागेको थियो । डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत छोटेलाल चौधरीका अनुसार वनको आग्रह बमोजिम दाङ जिल्ला अदालतले चैत १९ र २३ गते पालिका अध्यक्ष र तीनैजना वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

उनीहरूलाई चैत २२ र २४ गते कार्यालयमा बोलाएर सामान्य सोधपुछ गरी छाडिएको छ । रूख फडानीमा डिभिजन वन प्रमुख राजु क्षेत्रीको पनि मिलेमतो भएकाले पक्राउ पुर्जी जारी भएकालाई पक्राउ नगरेको वन कार्यालयका एक अधिकारीको दाबी छ ।

´रुख कटानमा राजु सरको मिलेमतो भएकाले हिरासतमा राख्नुपर्ने मान्छेलाई त्यसै छाड्नुभयो’, डिभिजन वनका एक कर्मचारीले भने । डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले पक्राउ पुर्जी जारी भएको बारे केही खुलाउनै चाहेनन् । अनुसन्धानको विषयमा केही बोल्न नमिल्ने उनले बताए ।

कानूनअनुसार वनको हिरासतमा बस्नुपर्ने पालिका अध्यक्ष विष्टसहित अरू तीनजना वडाध्यक्ष खुलेआम हिँडडुल गरिरहेका छन् । पालिका अध्यक्ष विष्टले पक्राउ पुर्जीबारे आफूलाई केही थाहा नभएको जिकिर गरे । उनले रूख आफूले नभई जनताले काटेको बताएका छन् ।

वडा नम्वर ४ का अध्यक्ष वीरबहादुर चौधरीले भने जनताले काटेका करिब ४ सय रूख वडा कार्यालयले बेचेको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर