मुख स्वास्थ्य, के मुखसँग मात्र सीमित छ ? – Nepal Press

मुख स्वास्थ्य, के मुखसँग मात्र सीमित छ ?

काठमाडौं । मुखलाई शरीरको मूलद्वार मानिन्छ । शारीरिक स्वास्थ्यमा मुखको ठूलो भूमिका हुन्छ । जसरी कुनै पनि अन्य रोगः चिनी रोग, प्रेसर आदि भएका व्यक्तिमा दन्त समस्या अरु मानिसभन्दा धरै देखिन्छ । त्यसरी नै मुखको समस्याका कारणले शारीरिक रोग देखिन्छ । यसका दुईतर्फी सम्बन्ध हुन्छ । जसलाई हामी ‘पेरियोडोन्टल मेडिसिन’ भन्छौं ।

सन् १९२०-१९४० को दशकमा फोकल संक्रमणको सिद्धान्तले संक्रमण रहेको भागले नै शरीरमा रोग फैलाउन र त्यसलाई विकराल रुप दिन मद्दत गर्छ र उक्त भाग निकालेमा रोग आफै हराएर जान्छ भन्ने दाबी गर्‍यो । यही सिद्धान्तअनुरुप हाडजोर्नी दुःखाइको उपचारका लागि थुप्रै दाँतहरु उखेलिए । तर, रोग फैलनुमा दाँतको मात्र एकल भूमिका नहुने पुष्टि भयो । मुख स्वास्थ्य एक सिङ्गो आधारभूत कारण बन्यो । मुख स्वास्थ्यमा दाँत, गिजा, तालु, टन्सिल, ओठ, जिब्रो, मुखको भूईं, गालाको भित्री भाग सबै पर्छन् र कुनै एकमा समस्या देखिएमा यसले शरीरको अरु भागमा समेत असर गर्छ ।

मुख स्वास्थ्य र मुटु रोग

मुखको कुनै भागमा संक्रमण भएमा रगतको संरचनामा भिन्नता आउँछ । रगत बाक्लो हुँदै जान्छ । रक्तबाहिनीमा टाँसिन्छ र जम्छ । निरन्तर रुपमा यो प्रक्रिया दोहोरिए यसले हृदयघात निम्त्याउँछ ।

मुख स्वास्थ्य र मस्तिष्क सञ्चार

मुख स्वास्थ्य र मस्तिष्कघात पनि एकापसमा आबद्ध छन् । दिमागको रक्तबाहिनीमा रगत जमे यसले मस्तिष्कघात निम्त्याउँछ र यो प्रक्रिया पनि मुखको संक्रमणका कारण हुन्छ ।

मुख स्वास्थ्य र चिनी रोग

गिजा वा मुखको समस्या भएमा रगतमा विभिन्न संक्रमणविरुद्ध लड्ने कोषाणु (सेल) जम्मा हुन्छ । उक्त कोषाणुले चिनीको मात्रा मांसपेशी र अन्य अंगमा जान नदिई रगतमा बढाएर राख्छ । यसले गर्दा चिनी रोगसम्बन्धी अन्य जटिलता आउनसक्छ ।

मुख स्वास्थ्य र गर्भावस्था

गर्भावस्थामा मुख स्वास्थ्यमा समस्या हुँदा शिशुको तौल नपुग्ने, पूर्वअवधिमै जन्म हुने र गर्भपतनसमेत हुने जस्ता समस्या देखिन्छ ।

मुख स्वास्थ्य र श्वासप्रश्वास

मुखकै माध्यमद्वारा श्वासप्रश्वासमा समेत समस्या आउँछ । मुखमा रहेका किटाणु फोक्सोमा पुग्दा निमोनिया, फोक्सोमा पानी र पिप जम्ने अवस्था आइपर्छ ।

यसरी सानो र सीमित भए तापनि मानिस स्वस्थ हुनुमा मुख स्वास्थ्यले आफैंमा एक ठूलो भूमिका खेलेको हुन्छ । अप्रत्यक्ष रुपमा यसरी रगतको माध्यमबाट फरक पारेको हुन्छ भने प्रत्यक्ष रुपमा मुखबाट खाइने खानपिन र बोलिने पनि शारीरिक र मानसिक स्वास्थ्यमा क्रमशः ठूलो भूमिका खेलेको हुन्छ ।

(लेखक डा. शर्मा दन्त चिकित्सक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर