सञ्चालनमा आयो कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला – Nepal Press

सञ्चालनमा आयो कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला

सुर्खेत । कर्णाली प्रदेशको आफ्नै प्रयोशाला नहुँदा विभिन्न समस्या व्यहोर्नुपर्ने परेको थियो । जसले गर्दा जुनसुकै रोगको परीक्षण गर्न प्रदेश बाहिर पठाउनुपर्ने बाध्यता थियो । तर, शुक्रबारदेखि प्रदेशले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ । अब भने परीक्षणका लागि सहज हुने भएको छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री टेकराज पछाईले शुक्रबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन् । उनले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाइ गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताए ।

प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रको रुपमा पनि विकास गरिने मन्त्री पछाईले जानकारी दिए ।

प्रयोगशालाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्यसम्बन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताए ।

‘अब अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुन्छ’, उनले भने ।

प्रयोगशालामा नौ जना प्राविधिक गरी कूल १६ जना जनशक्ति छन् । हाल तीन जना प्राविधिकको मात्रै पूर्ति भएको छ । अन्य प्रयोगशालाका ल्याब टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, संक्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताए ।

प्रयोगशालाबाट निदानात्मक, अनुसन्धानमूलक र अनुगमनको काम गरिनेछ ।

निवर्तमान मन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले प्रयोगशालाको स्तरोन्नतिमा ध्यान दिइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर