खिजिदेम्बा अल्ट्रा म्याराथनको चौथो संस्करण- पुरुषतर्फ सुमन र महिलातर्फ सुनमाया प्रथम – Nepal Press

खिजिदेम्बा अल्ट्रा म्याराथनको चौथो संस्करण- पुरुषतर्फ सुमन र महिलातर्फ सुनमाया प्रथम

ओखलढुंगा । चौथो खिजिदेम्बा अल्ट्रा म्याराथनको पुरुषतर्फको पहिलो उपाधि सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन् । ओखलढुंगा पर्यटन परिषदले बिहीबार आयोजना गरेको प्रतियोगिताको महिलातर्फ पहिलो उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् ।

खिजि फलाँटेदेखि पिके हिमालसम्म ४२ किलोमिटर दूरी सुमनले ३ घण्टा ४९ मिनेटमा पूरा गरेका हुन् । त्यस्तै, महिलातर्फ सुनमायाले ४ घण्टा ४१ मिनेटमा सो दूरी पार गरेको आयोजकले जनाएको छ ।

राष्ट्रिय टीमतर्फ पूरष दोस्रामा भोजपुरका तीर्थ तामाङ १ मिनेट ढिलो हुँदा दोस्रो बने भने सोलुखुम्बुका अर्जुन कुलुङ राईले ३ मिनेट ५५ सेकेण्डमा दूरी पार गरेर तेस्रो र ४ घण्टा ८ मिनेटमा दूरी पार गरेका बैतडीका मोहनदेव जोशी चौथो स्थानमा रहे ।

त्यस्तै, महिलातर्फ राष्ट्रिय धाविका जुम्लाकी मन्जु रावतले ५ घण्टा ११ मिनेटमा दूरी पार गरेर दोस्रो स्थान पाएकी छन् भने खोटाङकी प्रिया राई तेस्रो र सिन्धुपाल्चोककी नितु तामाङ चौथो भएकी छन् ।

स्थानीय धावकमा ओखलढुंगाका किर्ति राई प्रथम, रवीन्द्र तामाङ दोस्रो र देवराज सुनुवार तेस्रो भएका छन् । महिलातर्फ स्थानीय पदम कुमारी सुनुवारले ५ घण्टा ३३ मिनेटमा सो दूरी पारेकी छन् ।

प्रतियोगितामा बेलायत र केन्याका धावक पनि सहभागी भएका थिए । म्याराथनको सहआयोजक खिजिदेम्बा गाउँपालिका छ भने नेपाल पर्यटन बोर्डले प्रतियोगितालाई सहयोग गरेको छ ।

बोर्डले पछिल्लो समय नयाँ गन्तव्यहरु पहिल्याउन र यस्ता प्रतियोगिताहरुलाई प्रोत्साहन गर्न सहयोग गरिरहेको कार्यक्रममा बोर्डका सदस्य ङावा ङिमा शेर्पाले बताए ।

विजयी प्रतियोगीहरुलाई गाउँपालिका अध्यक्ष गम्बु शेर्पा र नेपाल पर्यटन बोर्डका सदस्य शेर्पाले पुरस्कृत गरेका थिए ।

विजेताहरूले राष्ट्रिय विधातर्फ क्रमशः ७०, ६०, ५० र २५ हजार नगद प्राप्त गरे भने स्थानीय विधातर्फ क्रमशः २०, १५ र १० हजार नगद पाए । म्याराथनमा जम्मा ५८ प्रतिस्पर्धी सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *