तारको गुजुल्टो, दुर्घटनालाई निम्तो – Nepal Press

तारको गुजुल्टो, दुर्घटनालाई निम्तो

पोखरा । कास्कीको पोखरा महानगरपालिका- १७, घारीपाटन आँखा अस्पताल अगाडिको बिजुलीको पोलमा सोमबार दिउँसो एक्कासि आगो दन्कियो । बिजुली, टेलिफोन, केबुल र इन्टरनेटका तारहरुको गुजुल्टो रहेको पोलमा विद्युत सर्ट हुँदा आगो लागेको स्थानीय हरि बास्तोला बताउँछन् ।

पोलमा आगलागीपछि वरिपरिको क्षेत्रमा विद्युत सेवा अवरुद्ध भयो । जसको अहिले मर्मत भइरहेको छ ।

२०७५ साउन २६ गते महेन्द्र पुलबाट रानीपौवातर्फ गइरहेको मोटरसाइकलमा सवार व्यक्तिमाथि अचानक बिजुलीको तार चुँडिएर लाग्यो । तारले लागेका विष्णु बस्ताकोटीको उपचारका क्रममा मृत्यु भयो ।

सोही वर्ष बसको छतमा राखेर ल्याइँदै गरेको ट्याक्टर पोखरा अमरसिंहको बिजुली तारमा अड्कियो । बिजुलीका पोलमा तारको गुजुल्टो एकातिर छन्, अर्काेतिर सडकको बीचबीचमै बिजुलीका पोल ठडिँदा पनि समस्या छ ।

केही वर्षअघि अमरसिंह चोक सडकको पोलमा मोटरसाइकल ठोक्किँदा २५ वर्षमुनिका दुई युवा अनुप र सोनित गुरुङले ज्यान गुमाएका थिए ।

बिजुलीका तार र खम्बाहरुको अव्यवस्थाका कारण मानिसको ज्यानै जानेसम्मका घटना पोखरामा नयाँ होइन । बजार क्षेत्रमा बिजुलीको तारसँगै विभिन्न केवल नेटवर्क, टेलिफोन तथा इन्टरनेट कम्पनीका तार थपिँदै गएका छन् ।

पोलमा थाम्नै नसक्ने तारको गुजुल्टो र दूरसञ्चार उपकरणहरु हटाउने पोखरा महानगरको अभियान अधुरै छ ।

पोखरा महानगरपालिकाले २०७५ मंसिर २७ गते विद्युतीय पोलका थाम्नै नसक्ने तारको गुजुल्टो र दूरसञ्चार उपकरणहरु हटाउने भन्दै अभियान थालेको थियो ।

तत्कालीन मेयर मानबहादुर जिसीले सिद्धार्थ चोकमा गुजुल्टो परेकोमध्ये एउटा तार काटेर अभियान सुरु गरेका थिए । महानगरले एक महिनाभित्र पोखराका मुख्य-मुख्य ठाउँमा गुजुल्टो परेका तारहरु हटाउने भनेको ३ वर्ष पुग्दासम्म पोलपोलमा भएका गञ्जागोल तार व्यवस्थित हुन सकेको छैन । उल्टै प्रविधिको प्रयोगसँगै तारहरु झन्झन् बढ्दै गएका छन् ।

महानगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी २ वर्षभित्र प्रमुख शहरी क्षेत्रभित्रका टेलिफोनका तार र अन्य तार हटाउने उल्लेख गरेको थियो । ती तारको सट्टा भूमिगत अप्टिकल फाइवर जडान र नेपाल विद्युत प्राधिकरणसँगको सहकार्य र लागत साझेदारीमा बिजुलीका तार भूमिगत गरी शहरी जोखिम न्यून गरिनेछ र सुन्दरता बढाइने कार्यक्रममा उल्लेख छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत गत जेठमा पोखरा आएर यहाँका मुख्य सडकको बिजुली तार अन्डरग्राउन्ड केही दिनमै सुरु हुने बताएका थिए । एसियाली विकास बैंक (एडीबी)सँगको सम्झौतामा शहरी विद्युत वितरण प्रणाली सुदृढीकरण र शहरी सौन्दर्यीकरणका लागि लेखनाथदेखि पोखरासम्मको बिजुली तारलाई भूमिगत गर्न लागिएको घिसिङले जानकारी दिएका थिए ।

तर, उक्त काम पनि अहिलेसम्म सुरु हुन सकेको छैन । अव्यवस्थित तार भूमिगत गर्ने विषय महानगरको नीति तथा कार्यक्रममै समेटिएर आए पनि काम भने हुन सकेको छैन ।

महानगरले भने तार अन्डरग्राउन्ड गर्ने काम महानगरको योजनामै रहेको बताउँदै आएको छ । तार अन्डरग्राउन्डको काम १ वर्षभित्र सक्ने गरी अगाडि बढेको महानगरका प्रवक्ता वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले बताए ।

‘तार अन्डरग्राउन्डको काम हाम्रो योजनामै छ । १ वर्षभित्र तारलाई अन्डरग्राउन्ड गरिसक्ने भन्ने छ । प्रोसेस अगाडि बढिसकेको छ’, प्रवक्ता तिमिल्सिनाले भने ।

कहिले हुन्छ तार भूमिगत ?

पोखरामा विद्युतीय तार भूमिगत गर्न ठेक्का सम्झौता भएको पनि १ वर्षभन्दा बढी भइसकेको छ । पोखरा र भरतपुरमा तार बिछ्याउन भारतीय कम्पनी टाटा प्रोजेक्टसले २ अर्ब ५० करोड ३३ लाखमा जिम्मा पाएको हो । २ वर्षमा सक्ने गरी २०७८ मा निर्माण जिम्मा लिएको प्रोजेक्टसले अहिलेसम्म काम सुरु गरेको छैन ।

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका निमित्त प्रमुख इञ्जिनियर लक्ष्मीकेशर आगन्जाले तार अन्डरग्राउन्डको काम सुरु हुने प्रक्रियामा रहेको बताए ।

‘डिजाइन फेजमा हुनुहुन्छ, डिजाइन फेज फाइनल भइसकेको छैन, फिल्डमा काम सुरु हुने अवस्था छ भनौं अहिले त’, उनले भने ।

सडक पोलहरु पनि उतार्दा केही सयम ढिलो भएको इञ्जिनियर आगन्जाले जनाए । उनी भन्छन्, ‘काम सुरु गर्ने चाहिँ कुँडहरबाट हो, त्यहाँ सडकको पोलहरु उतार्नुपर्ने भएकाले अलि ढिलो भइराछ ।’

आयोजनाअन्तर्गत पोखरा सिर्जना चोक, राष्ट्र बैंक चोक, लेकसाइड, सभागृह चोक, न्युरोड, चिप्लेढुंगा, कुँडहरदेखि जिरो किमिसम्मको मुख्य राजमार्गलगायत क्षेत्रमा तार भूमिगत गरिनेछ । पोखरामा ११ केभीको ४८ सर्किट किलोमिटर, ४०० भोल्टको ३३ सर्किट किलोमिटर र ५५ किलोमिटर अप्टिकल फाइबर लाइन भूमिगत गर्ने गरी सम्झौता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर