रेखा थापाको प्रश्न : राष्ट्रपतिको चुनावमा भाग लिएर जनतालाई कसरी मुख देखाउने ? (भिडिओ) – Nepal Press

रेखा थापाको प्रश्न : राष्ट्रपतिको चुनावमा भाग लिएर जनतालाई कसरी मुख देखाउने ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय सदस्य रेखा थापाले राष्ट्रपतिको चुनावमा आफ्नो पार्टी सहभागी हुन नहुने राय व्यक्त गरेकी छन् ।

राष्ट्रपतिबारे निर्णय लिन बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकका क्रममा उनले यस्तो बताएकी हुन् ।

राष्ट्रपतिको चुनावमा सहमति जनाएलगत्तै आफूहरुले एजेण्डा छाड्नुपर्ने थापाको भनाइ छ । हिन्दू राष्ट्र कायम गर्ने, राजसंस्था पुर्नस्थापना गर्ने र प्रदेश खारेज गर्ने जस्ता एजेण्डासहित राप्रपाको स्थापना भएको उल्लेख गर्दै उनले राष्ट्रपतिको चुनावमा सहभागी जनाउँदा राप्रपाले आफ्ना उक्त एजेण्डाहरुमाथि सम्झौता गरेर अघि बढ्न नहुने भन्दै थापाले असन्तुष्टि जनाएकी हुन् ।

‘हामी एउटा सिद्धान्त बोकेर जमिनमा गएको मान्छे । जनताको घरआँगनमा गएको मान्छे । अहिले ठ्याक्कै व्यवहार अलग हुँदाखेरि भोलि कुन मुख लिएर जनतामाँझ जाने ? जनतालाई के जवाफ दिने ?’, थापाले प्रश्न गरेकी छन् ।

उनले दुई चारजना व्यक्तिको चाहनाअनुरुप देश र पार्टी नचल्ने तात्पर्यसमेत राखेकी छन् । पार्टीको सिद्धान्तलाई मध्यनजर गरेर अघि बढ्नुपर्ने उनको आशय छ ।

उनले भनिन्, ‘पार्टीको सिद्धान्त विपरीत व्यक्तिगत इच्छा र व्यक्तिगत चाहनाअनुसार अघि बढन हुन्छ जस्तो मलाई लाग्दैन ।’

राष्ट्रपतिको विषयमा पार्टीभित्रै दुई मत भइराख्दा पार्टी नै दुई टुक्रा हुने त होइन भन्ने संचारकर्मीको प्रश्नमा उनले त्यस्तो नहुने बताइन् ।

‘हामी पार्टीलाई दुई टुक्रा हुन दिदैनौँ । जीर्ण अवस्थामा भएको पार्टीलाई हामीले महाधिवेशनपछि एउटा राम्रो अनि सशक्त १४ सिटे पार्टी बनाएका छौं । त्यतिकै्र फुट्न दिदैनौं ।’, उनले थपिन् ।

उनले जनताकोे जनादेशलाई निर्णायक बनाएर अघि बढ्ने अपेक्षासहित राप्रपालाई एकल हिसावले लिड गरेर अघि बढ्ने पार्टी बनाउने चाहना भएको भावसमेत प्रकट गरिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर