लुम्बिनीमा दलको नेतालाई मन्त्री नबनाएको भन्दै राप्रपामा असन्तुष्टि – Nepal Press

लुम्बिनीमा दलको नेतालाई मन्त्री नबनाएको भन्दै राप्रपामा असन्तुष्टि

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लुम्बिनी प्रदेशमा दलका नेता मन्त्री नबनाइएपछि असन्तुष्टि देखिएको छ । रुपन्देही १ को १ बाट प्रत्यक्ष निर्वाचित आशिषकुमार चौधरी संसदीय दलका नेता हुन् । उनी नभई कपिलवस्तुका जानकी यादवलाई मन्त्री बनाएको भन्दै राप्रपाको असन्तुष्टि बाहिरिएको हो ।

राप्रपा रुपन्देहीका कार्यवाहक अध्यक्ष अजयकुमार गुप्ताले सबै पार्टीबाट दलको नेता मन्त्री बनेको अवस्थामा आफ्नो पार्टीमा त्यसो नभएको भन्दै असन्तुष्टि जाहेर गरेका छन् । पार्टीले कपिलवस्तुका जानकीप्रसाद यादवलाई मन्त्री बनाउने निर्णय गरेपछि रुपन्देहीका राप्रपा नेताहरूले पार्टीभित्र लिखितरूपमा र सार्वजनिकरूपमै असन्तुष्टि जाहेर गरेका छन् । उनले संसदीय दलको नेता नै सरकारमा जाने अभ्यासविपरीत लुम्बिनी प्रदेश सरकारमा पार्टीबाट मन्त्री छनोट हुँदा किन अर्कै व्यक्तिलाई गराइएको ? भनेर प्रश्न गरेका हुन् ।

राप्रपाले लुम्बिनी प्रदेशभर प्राप्त गरेको मतको करिब २७ प्रतिशत मत रुपन्देहीबाट मात्रै पाएको, बहालवाला गृहमन्त्री पराजित गरी पार्टीको शाख जोगाई जिल्लालाई महत्वपूर्ण स्थानमा राखेको जिल्लालाई केन्द्र एवं प्रदेश दुवै सरकारको मन्त्रीमण्डलमा सहभागिता नहुँदा रुपन्देहीबासीलाई दु:खी तुल्याएको गुप्ताको तर्क छ ।

राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदयले केन्द्रीय नेतृत्वले गरेको निर्णयलाई कार्यान्वयन गरेको बताएका छन् ।

मन्त्री छनोटमा प्रदेशले समन्वयकारी भूमिकामात्र निभाएको बताउँदै उनले सहमति र सम्झौताको कार्यान्वयन, बहुमत सांसदहरूको निर्णयअनुसार कपिलवस्तुका जानकीप्रसाद यादव मन्त्री नियुक्त भएको जनाए ।

राप्रपाबाट उपसभामुख बनेकी सांसद मेनुका खाण केसीले केन्द्रीय नेतृत्वले गरेको निर्णयलाई कार्यान्वयन गरिएकाले सोहीअनुसार बुझ्न आग्रह गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर