अखिल र युवा संघमा नेतृत्वको रस्साकस्सी, जनसंगठनको चुनावबाट एमालेभित्र गुट जन्माउने प्रयास – Nepal Press

अखिल र युवा संघमा नेतृत्वको रस्साकस्सी, जनसंगठनको चुनावबाट एमालेभित्र गुट जन्माउने प्रयास

अध्यक्ष ओलीको चेतावनी- एमालेभित्र गुटबन्दी स्वीकार्य छैन, स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्नुपर्छ

काठमाडौं । तत्कालीन नेकपाको विघटन र विभाजनपछि केपी ओलीको एकल नेतृत्वमा गुटविहीन ढंगले चलेको नेकपा एमालेभित्र जनवर्गीय संगठनहरुको महाधिवेशनसँगै दशौं महाधिवेशनदेखि नै चलमलाउन खोजेका गुटहरु अस्तित्वमा ल्याउने प्रयास हुन थालेको छ ।

एमालेले चैत मसान्तभित्र मान्यता प्राप्त सबै जनवर्गीय संगठनहरुलाई महाधिवेशन गरिसक्न निर्देशन दिएको छ । प्रायः सबै जनसंगठनहरुले महाधिवेशनको मिति घोषणा गरेर तयारी पनि थालिसकेका छन् ।

केही दिनअघि धुलिखेलमा आयोजना गरिएको जनसंगठन समन्वय संयन्त्रको प्रशिक्षण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमालेका भ्रातृ संगठनहरु कटबाँस जस्ता हुनुपर्नेमा मकैका ढोड जस्तो बनेको भन्दै सशक्त बन्न निर्देशन दिएका थिए ।

एमालेमा जनसंगठनहरुका महाधिवेशनसँगै दोस्रो तहका नेताहरुसँग जोडिएका गुट अस्तित्वमा ल्याउन खोजिएको छ । अध्यक्ष ओलीलाई कुनै नेताले चुनौती दिन सक्दैनन् र दिने सम्भावना पनि छैन । तर, ओलीकै छातामुनि अन्य नेताहरुका गुट बनिरहेका छन् ।

सौराहा महाधिवेशनकै वेला एमालेमा दोस्रो तहका नेताहरुको गुट बनाउने प्रयास भएको थियो । तर, अध्यक्ष ओलीले प्रस्ताव गरेका पदाधिकारीहरु लगभग सर्वसम्मत भएका कारण गुटको अस्तित्व रहेन ।

जसले ओलीको प्रस्ताव नमानेर महाधिवेशनमा उम्मेदवारी दिए उनीहरु सबै पराजित भए । तीमध्ये घनश्याम भुसालले एमाले छाडिसकेका छन् भने भीम रावल पार्टीको दैनिक भूमिकामा छैनन् । भीम आचार्य अध्यक्ष ओलीकै निर्देशनमा चलेर सांसद भइसकेका छन् ।

महाधिवेशनमा प्रकट हुन नसकेको र राष्ट्रपतिको उम्मेदवार छान्ने सन्दर्भमा भित्रभित्र चलखेल भइरहेको एमालेको गुटको अभ्यास विशेषगरी दुई प्रभावशाली जनसंगठन अनेरास्ववियु र युवा संघको महाधिवेशनमा सतहमा आउने सम्भावना देखिएको ती संगठनका नेताहरु बताउँछन् ।

अनेरास्ववियुको अध्यक्ष दाबी गरिरहेका एक नेताले भने, ‘हामी केपी ओलीकै हौं सबै दाबेदार । ओली बाका लागि हामी सबै छोराछोरी बराबर हौं । लोकतान्त्रिक प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्ने हो । यदि टीका लगाउने वा कुनै एक उम्मेदवारलाई अमूक नेताले समर्थन गरेमा स्वतः अर्को उम्मेदवार अर्को नेताको घरमा गएर समर्थन लिन बाध्य हुन्छ ।’

गुटबन्दी अस्वीकार्य

आइतबार केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले अखिलका नेताहरुलाई स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्न निर्देशन दिएका छन् । उनले एमालेमा गुट नरहेको र पार्टी एउटै नीति तथा नेतृत्वमा रहेको भन्दै जनसंगठनमा पनि गुटबन्दी स्वीकार्य नहुने बताए । उनले कुनै पनि उम्मेदवार पार्टीको आधिकारिक नहुने संकेतसमेत गरे ।

एमालेमा अहिले गुटहरु सतहमा प्रकट भएका छैनन् । अध्यक्ष ओलीकै वरिपरि सबै नेताहरु एकजुट छन् । दश बुँदे समूह भनिएका नेताहरु पनि ओलीको प्रतिरक्षामै उत्रिने गरेका छन् । तर, दोस्रो तहका नेताहरुमा एघारौं महाधिवेशनको अभ्यास सम्भवतः जनसंगठनका महाधिवेशनबाट हुनसक्ने आशंका छ ।

अहिले पार्टी संगठनको नेतृत्व महासचिव शंकर पोखरेलले गर्छन् । अध्यक्ष ओली राजनीतिक नेतृत्वमै व्यस्त रहने भएकाले पार्टीको आन्तरिक जीवन सञ्चालनमा महासचिव नेतृत्वको सचिवालयले काम गर्ने गरेको छ । महासचिव पोखरेलले यसबीचमा पार्टीलाई सांगठनिक रुपमा चलायन बनाएका छन् ।

लामो समयदेखि निष्क्रिय रहेका पार्टीका सबै संरचनाहरु अहिले महासचिव पोखरेलले सक्रिय बनाइरहेका छन् भने नियमित बैठक, कार्यशाला, प्रशिक्षण र पार्टी स्कुलसमेत सञ्चालन भइरहेका छन् । सचिवालयले सबै नेताहरुलाई आवश्यकताअनुसार विभिन्न कार्यक्रममा सहभागी गराइरहेकाले गुटको गन्ध नदेखिएको नेताहरु बताउँछन् ।

अहिले कुनै पनि एमालेका नेताले पार्टी अध्यक्ष ओलीको राय नबुझी जनसंगठनमा आफ्नो उम्मेदवार भनेर कसैलाई समर्थन गर्ने वा आशीर्वाद दिने सम्भावना कमै देखिन्छ । व्यक्तिगत, भौगोलिक वा अन्य कारणले कतिपय उम्मेदवारप्रति नेताहरुको सहानुभूति रहे पनि गुट बनाएर माथिबाटै प्यानलबन्दी हुने सम्भावना नरहेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पीएस गुरुङले बताएका छन् ।

अखिल र युवा संघमा के हुँदैछ ?

जनसंगठनका महाधिवेशनमा उम्मेदवारले नेताको समर्थन खोज्ने निश्चित छ । अखिल र युवा संघ तल्लो तहसम्म सञ्जाल भएका ठूला जनसंगठन भएकाले पनि नेताहरुले चासो दिनु स्वाभाविक रहेको अनेरास्ववियुका इन्चार्जसमेत रहेका एमाले केन्द्रीय सदस्य माधव ढुंगेल बताउँछन् ।

ढुंगेलले अखिलको महाधिवेशनमा सर्वसम्मतको प्रयास हुने र सहमति नभएको अवस्थामा लोकतान्त्रिक विधिबाट स्वस्थ प्रतिस्पर्धा गराइने बताए । कुनै नेताको नाम लिएर प्यानल बनाउन भने नदिइने ढुंगेलको भनाइ छ । उम्मेदवारले पार्टीका नेताहरुलाई विवादमा तान्न नपाउने उनले बताए ।

अनेरास्ववियुको अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक र महासचिव समिक बडालले सशक्त दाबी गरेका छन् । यीबाहेक उपाध्यक्षहरु झपिन्द्र खत्री, कल्पना वाइबा, उमेश आचार्य, लोकेश निरौलालगायतले पनि सम्मानजनक व्यवस्थापन वा प्रतिस्पर्धाको माग गरेका छन् । वाइबाले महासचिवमा दाबी गरेकी छन् ।

त्यस्तै महासचिवमा नरेश रोकाया, सुदर्शन शिवाकोटी, गोविन्द गिरी, नारायण घर्तीलगायतको दाबी छ । युवा संघको अध्यक्षमा क्रान्ति बुर्लाकोटी, अमित लामा, सन्तोष रावल, क्षितिज थेबे र अन्जना अधिकारीले दाबी गरेका छन् ।

युवा संघका इन्चार्जसमेत रहेका एमाले पोलिटव्युरो सदस्य महेश बस्नेत सर्वसम्मत गर्न प्रयास हुने तर कसैले प्रतिस्पर्धा चाहेमा नरोकिने बताउँछन् । उनले पार्टीबाट कुनै व्यक्तिलाई आधिकारिक उम्मेदवार बनाउने वा गुटको अभ्यास गर्ने प्रयास भए पनि युवा संघमा त्यो प्रयोग सफल नहुने बताए ।

उम्मेदवारहरुले पार्टी नेतृत्वको समर्थन लिन खोज्नु स्वाभाविक भए पनि नेतृत्वले कुनै एकलाई ‘सरकारी उम्मेदवार’ नबनाउने जनसंगठन समन्वय संयन्त्रकी सहइन्चार्ज तथा एमाले केन्द्रीय सदस्य रचना खड्का बताउँछिन् ।

खड्काले भनिन्, ‘पार्टीले कुनै एउटालाई आधिकारिक उम्मेदवार भन्दैन । नेताको नाम लिएर कुनै साथीहरुले आफूलाई फलानो गुटको वा नेताको उम्मेदवारको रुपमा प्रस्तुत गर्न पाइँदैन । हाम्रो विगतको अनुभवले भने जनसंगठनहरुका कारण पार्टीमा समस्या हुने र गुट बन्ने गरेकाले पनि त्यस्तो हुन नदिने प्रयत्न हुन्छ ।’

खड्काका अनुसार प्यानल बनाएर नभई व्यक्तिको बीचमा प्रतिस्पर्धा हुने कार्यविधि बनाइएको छ । अहिलेसम्म १४ वटा संगठनको महाधिवेशन भइसकेको र तत्कालीन परिस्थितिका कारण सर्वसम्मत चयन गरिए पनि त्यसले जनसंगठनका नेताहरु संगठनको हितमा भन्दा नेताप्रति बफादार देखिएकाले अब बाँकी जनसंगठनका प्रतिस्पर्धा गर्न खुला छाडिएको हो ।

एमालेमा अहिले कुनै पनि नेताले गुटको अभ्यास गरेका छैनन् । सबै नेताहरु संस्थापन नै मानिन्छन् । अध्यक्ष ओलीको नेतृत्व र निर्णयमाथि कसैले प्रश्न उठाएका छैनन् । प्रश्न उठे पनि बैठकमा उठाइने र बैठकमै आफ्ना कुराहरु राखिने सचिव रघुवीर महासेठ बताउँछन् ।

महासेठले मधेस प्रदेशको तालमेल, टिकट वितरणदेखि प्रदेशको संसदीय दलको नेता चयनसम्मका प्रक्रियामा केही नेताले माथिबाट निर्णय लादेकोमा आफ्नो विमति रहेको बताए । तर, यो विषय सचिवालय बैठकमा राख्ने भन्दै उनले मधेसमा आफूले चाहे जसरी टिकट वितरण भएको भए अझ सीट बढ्ने दाबी गरे ।

महासेठले भने, ‘केन्द्रीय कार्यालयबाट जसरी मधेसमा म इन्चार्जलाई बाइपास गरियो, त्यसमा मैले बैठकमै कुरा राख्नेछु । प्रभु साह चुनावसम्म एमालेमा रहँदैनन् भन्दा नेताहरुले पत्याएनन्, आखिर मैले भने जस्तै भयो । मधेसमा राम्रोसँग यहाँ काम गर्न दिइएन भने फेरि २०७४ को अवस्थामा पुग्ने अवस्था आउनसक्छ भनेर मैले सचेत गराएको छु । यसको मतलब पार्टीभित्र गुट बनाउने होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर