लुम्बिनीको नेतृत्वका लागि दबाब बढाउँदै एमाले-माओवादीका नेता – Nepal Press

लुम्बिनीको नेतृत्वका लागि दबाब बढाउँदै एमाले-माओवादीका नेता

रुपन्देही । लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दाबेदार नेताले आफ्नो पक्षमा निर्णय लिन नेताहरूलाई दबाब दिएका छन् ।

एमालेबाट दलको नेता निर्वाचित भएका लीला गिरी तथा माओवादीबाट दलको नेता निर्वाचित भएका नेता जोखबहादुर महरा दुवै प्रदेशको नेतृत्व लिनका लागि पार्टी नेतृत्वसँग निरन्तर संवादमा र भेटघाटमा छन् । सत्तारुढ गठबन्धन दलमा रहेका यी दुवै दलले यहाँको नेतृत्व दाबी गरिरहेका छन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको समय नजिकिएसँगै नेताहरूले दौडधुप बढाएका हुन् ।

प्रदेशमा कुनै दलको बहुमत नभएकाले प्रदेश प्रमुखले पुस २७ गते ४ बजेभित्र बहुमतीय सरकार गठनका लागि बहुमत सांसदहरूको हस्ताक्षर पेश गर्न आव्हान गरिसकेका छन् ।

नेतृत्व दाबी गरिरहेका दलले सरकार गठनका लागि गृहकार्य थालेका हुन् । दुई पार्टीबीच मुख्यमन्त्रीका लागि रस्साकस्सी र दौडधुप भए पनि केन्द्रबाट नै कसले पाउने भन्ने निर्णय नहुँदा अलमलमा परेका छन् ।

एमाले र माओवादी दुवै दलले प्रदेशको नेतृत्वका विषयमा आ–आफ्ना अडान छाडेका छैनन् । दुवै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीको सहमतिसहितको निर्णय कुरेर बसेका छन् ।

एमालेले प्रदेशको ठूलो दलका हिसाबले यहाँको नेतृत्व छाड्नै नसकिने जनाउँदै आएको छ भने माओवादीले आफ्नो आधार इलाका भएकाले पनि यहाँको नेतृत्व दाबी हुनु स्वभाविक भन्दै आएको छ ।

सत्ता गठबन्धनमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी केन्द्रको निर्देशनअनुसार कसरी बढी भागबन्डा लिने भन्ने योजनामा छन् ।

यता नेपाली कांग्रेसले पनि आकर्षक प्रस्तावसहित साना दलहरूसँग छलफल अगाडि बढाएको छ । त्यसको नेतृत्व कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गरेका छन् । चौधरी गठबन्धन भत्काएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने गृहकार्यमा देखिएपनि कुनै ठूलै फेरबदल नभए तत्काल सफल हुने अवस्था छैन ।

एमालेबाट संसदीय दलका नेता एवं पोलिटब्यूरो सदस्य लीला गिरी मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । माओवादीबाट संसदीय दलका नेता जोखबहादुर महराको दाबी छ । मुख्यमन्त्रीमा एमाले र माओवादी दुवैले दाबी नछाडेकाले गठबन्धनभित्र सहमति जुट्न सकेको छैन ।

महराले काठमाडौंमै पुगेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेर फर्केका छन् । महराकै पहलमा स्वतन्त्र सांसद दीपेन्द्र पुन मगर माओवादी प्रवेश गरेका छन् । यता गिरीले पनि पार्टी अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् ।

एमाले नेता लीला गिरीले केन्द्रको निर्णय पर्खेर बसेको तर यहाँ अन्य सत्तारुढ दलसँग गर्ने तयारी भइरहेको बताए । ‘नेतृत्वको विषयमा माथिबाटै टुंगो नलाग्दासम्म केही भएन, यहाँको अन्य तयारी हामीले गरिसकेका छौँ, उनले भने । यहाँको नेतृत्वका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई दबाब दिइरहेका छन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा मुख्यमन्त्री कसले लिने भन्ने टुंगो नलागे पनि अन्य दलहरूसँग अनौपचारिक छलफल अगाडि बढेको बताए ।

१० राजनीतिक दलको प्रतिनिधित्व रहेको ८७ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २९ सांसद छन् ।

यस्तै नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टी ४, लोकतान्त्रिक समाजवादी पार्टीका ३, जसपाका ३, जनमतका ३, नेकपा एकीकृत समाजवादीका १, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र २ जना सांसद छन् ।

सत्तारुढ गठबन्धनमा रहेका एमाले, माओवादी, राप्रपा, नागरिक उन्मुक्ति, जनमतका सांसदहरूको संख्या ५३ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर