मुख्यमन्त्रीको दाबी लिएर सुदूरपश्चिमका माओवादी नेता बालुवाटारमा, एमालेका पनि साँझ बालकोट जाने – Nepal Press

मुख्यमन्त्रीको दाबी लिएर सुदूरपश्चिमका माओवादी नेता बालुवाटारमा, एमालेका पनि साँझ बालकोट जाने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वको लागि एमाले र माओवादी केन्द्रले लबिङ थालेका छन् । आज माओवादी केन्द्रका नेताहरूले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बालुवाटारमा भेटेर सत्तागठबन्धनको बैठकमा सुदूरपश्चिम माओवादीले पाउने गरी अडान लिन आग्रह गरे ।

प्रचण्ड भेट्न माओवादी प्रदेश संसदीय दलका नेता खगराज भट्ट, प्रदेश सांसदहरू सरल भाट र प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ गएका थिए । प्रदेशको गठबन्धनमा सबैभन्दा ठूलो दल माओवादी भएकोले दाबी नछाड्न दबाब दिएको सहभागी एक सांसदले नेपाल प्रेससँग भने ।

नेताहरूको कुरा सुनिसकेपछि प्रचण्डले अहिले नै कसको भागमा पर्ने भन्नेबारे बताउन नसकिने जनाएका थिए ।

‘दलहरूबीच प्याकेजमा सहमति हुँदा सुदूरपश्चिममा जोड दिन सकिन्छ तर, हाम्रै भागमा पर्छ भन्ने कुरा हुँदैन’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती सांसदले भने ‘हाम्रो भागमा पार्न म जोड बल गर्छु ।’

कर्णाली एमालेलाई दिएको खण्डमा सुदूरपश्चिम प्रदेश माओवादीको भागमा पर्न सक्ने माओवादी नेताहरूको बुझाइ छ ।

एमालेको पनि जोड

यस प्रदेशको मुख्यमन्त्रीमा एमालेले सशक्तरूपमा दाबी गरिरहेको छ । अघिल्लो पटक एमालेको समर्थनमा माओवादीले पाँच वर्ष सरकार चलाएकोले भन्दै अहिले माओवादीको समर्थनमा एमालेले सरकारको नेतृत्व पाउनु पर्ने नेताहरूको जिकिर छ । यही माग लिएर एमाले नेताहरू आज साँझ अध्यक्ष केपी ओलीलाई भेट्न जाने तयारीमा छन् ।

एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र एमाले संसदीय दलका नेता राजेन्द्र रावल नेतृत्वको दाबी लिएर बालकोट जान लागेका हुन् ।

नागरिक उन्मुक्ति निर्णायक

माओवादीका खगराज भट्ट र एमालेका राजेन्द्र रावलमात्रै होइन नागरिक उन्मुक्तिमा रामेश्वर चौधरी पनि मुख्यमन्त्रीको लबिङमा छन् । नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म औपचारिक रुपले मुख्यमन्त्रीको दाबी गरेको छैन तर, केही नेताहरू मुख्यमन्त्री पाउने अवस्थामा सरकारमा जान सकिने बताउँदै आइरहेका छन् ।

नागरिक उन्मुक्तिका ७ सांसद सुदूरपश्चिममा निर्णायक छन् । यहाँ सत्ता गठबन्धनमा माओवादी ११, एमाले १० र राप्रपा १ सांसद छन् । यो गठबन्धनमा नागरिक उन्मुक्ति समावेश हुँदा २९ पुग्छ नहुँदा २२ मात्रै हुन्छ । यहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।

सत्ता गठबन्धनभन्दा बाहिर रहेको कांग्रेसमा १९ नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन्। कांग्रेस, नेकपा एस र स्वतन्त्र मिलाउँदा पनि २४ मात्रै हुन्छ । नागरिक उन्मुक्ति जुन गठबन्धनमा मिल्ने अवस्था आउँछ त्यहि गठबन्धनको सरकार बन्ने अवस्था छ ।

अहिले नेताहरू आफ्नो नेतृत्वसँग आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने कुरासँगै नागरिक उन्मुक्तिलाई मनाउने कुरामा पनि जोड दिन आग्रह गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर