कर्णालीमा सरकार गठन : बालकोट र बालुवाटारको ‘ग्रिन सिग्नल’ पर्खिँदै – Nepal Press

कर्णालीमा सरकार गठन : बालकोट र बालुवाटारको ‘ग्रिन सिग्नल’ पर्खिँदै

सुर्खेत । कर्णालीमा गठबन्धन दलबीच नै सरकार गठनकाबीचमा मतभेद हुँदा सरकार गठनको पेचिलो बनेको छ । गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच सरकार गठनका बिषयमा साझा धारणा बन्न नसक्दा सरकारको नेतृत्वमा तानातानको स्थिति सिर्जना भएको छ ।

हालसम्म प्रदेशस्तरमा सरकार गठनलाई लिएर एमाले-माओवादीबीच प्रारम्भिक छलफलसमेत हुन सकेको छैन । भागबण्डामा सत्तारुढ गठबन्धनमा सहमति हुन बाँकी रहेका कारण प्रदेशमा सरकार गठन प्रक्रियाले गति लिन नसकेको हो ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानी सरकार गठनबारेमा हालसम्म प्रदेश प्रमुखले कुनै गृहकार्य नगरेको बताउँछन् ।

‘आजका दिनसम्म प्रदेश प्रमुखज्यूले सरकार गठनका विषयमा छलफल अघि बढाउनुभएको छैन’, थानीले भने, ‘राजनीतिक विषय हो, उहाँले दलहरूलाई सरकार गठनका लागि कहिले आह्वान गर्नुहुन्छ त्यो हामीले भन्न सक्ने विषय पनि रहेन ।’

थानीका अनुसार प्रदेश प्रमुख तिलक परियारले दलहरूसँग सामूहिक वा एकल कुनै पनि छलफल गरेका छैनन् । आगामी प्रदेश सरकार निर्माणको साँचो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातमा रहेकाले पनि कर्णालीका नेताहरू अलमलमै छन् ।

माओवादी केन्द्रको प्रदेश कमिटीस्तरका नेताहरूले पनि अध्यक्ष प्रचण्डलाई भेटेर कर्णाली सरकारको नेतृत्व आफूले पाउनुपर्ने आधारसहित दाबाब बढाएका छन् । कर्णाली माओवादी केन्द्रको आधार इलाका र गठबन्धनमा ठूलो दल भएकाले सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने विषयमा प्रचण्डसँग छलफल भएको माओवादी केन्द्र प्रदेश इन्चार्ज कालीबहादुर मल्ल बताउँछन् । तर, अध्यक्ष प्रचण्डले गठबन्धनमा हुने सहमतिकै आधारमा सरकारको भागबण्डा हुने जवाफ दिएको इन्चार्ज मल्लले बताए ।

यस्तै कर्णालीमा माओवादी केन्द्र र एमालेले सरकारको नेतृत्वका लागि आफ्ना छुट्टाछुट्टै दाबीसहित शक्ति केन्द्र भने धाइरहेका छन् । एमालेका प्रदेशस्तरका नेताहरूले केही दिनअघि अध्यक्ष ओलीसँग भेटेर सरकारको नेतृत्वका बारेमा छलफल गरेका थिए ।

एमाले संसदीय दलका नेता यामलाल कँडेलसहितका नेताहरूले अध्यक्ष ओलीलाई भेटेर सरकारको नेतृत्व एमालेले नै गर्नुपर्ने बताएका छन् । प्रत्यक्षतर्फको परिणामको संख्यामा तलमाथि भए पनि समानुपातिक मतका हिसाबले कर्णालीमा एमाले नै पहिलो पार्टी भएको निष्कर्षसहित पहिलो चरणमा दाबी रहने पार्टी केन्द्रलाई जानकारी गराइएको एक नेताले बताए ।

एमालेले स्थायी कमिटी सदस्य एवम् प्रेदश इन्चार्ज यामलाल कँडेल र माओवादी केन्द्रले राजकुमार शर्मालाई संसदीय दलको नेता सर्वसम्मत चयन गरिसकेका छन् । कर्णालीमा माओवादी केन्द्र, एमाले र राप्रपा मिल्दा बहुमत पुग्छ ।

४० सदस्यीय प्रदेशसभामा यो गठबन्धनका पक्षमा २४ सांसद छन् । सरकार गठन गर्न कम्तीमा २१ सीट आवश्यक पर्छ । जसमा माओवादी केन्द्र १३, एमाले १० र राप्रपाका १ सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर