युनाइटेड सिमेन्टलाई १६ करोड विद्युत बक्यौता तिर्न अदालतको आदेश – Nepal Press

युनाइटेड सिमेन्टलाई १६ करोड विद्युत बक्यौता तिर्न अदालतको आदेश

धादिङ । धादिङको धुनीवेँसी नगरपालिका- ९ जुगेडीमा रहेको युनाइटेड सिमेन्टको विद्युत बक्यौता १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रूपैंया तिर्न धादिङ जिल्ला अदालतले आदेशसहितको फैसला गरेको छ ।

न्यायधीश स्वीकृति पराजुलीको इजलासले युनाइटेड सिमेन्ट उद्योगले विद्युत खपत गरेबापत विद्युत प्राधिकरणलाई तिर्नुपर्ने रकम भुक्तानी गर्न आदेश दिएको हो ।

२०७३ भदौदेखि २०७५ चैतसम्म ट्रंक लाइन तथा डेडिकेटेड महसुल तिर्नुपर्ने नेपाल विद्युत प्राधिकरणले चुक्ता गर्न ताकेता गरिरहेकोमा सिमेन्ट उद्योगले छुटको दाबी गरिरहेको थियो । उच्च अदालत पाटनले उत्प्रेषण आदेशको रिट खारेज गरेपछि उद्योगले बक्यौता महशुल छुट दाबीको मागसहित २०७६ पुस ८ गते धादिङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उच्च अदालत र जिल्ला अदालत गरी झण्डै चार वर्ष अदालतमा चलिरहेको मुद्दा सोमबार फैसला गर्दै धादिङ अदालतले बक्यौता महसुल तिर्नुपर्ने ठहर गरेको हो ।

विद्युत प्राधिकरण धादिङका अनुसार युनाइटेड सिमेन्ट उद्योगलाई अदालतले ठहर गरेको महशुलमा २५ प्रतिशत जरिबानासमेत थपिनेछ । जरिबानासहित अब युनाइटेड सिमेन्टले २० करोड २४ लाख २७ हजार तीन सय ७४ रूपैयाँ बुझाउनुपर्ने प्राधिकरणले जनाएको छ ।

उद्योगले लोडसेडिङको बेला ट्रंक लाइनबाट जोडिएको विद्युत महसुल छुट पाउनुपर्ने भन्दै अदालतसमक्ष माग गरेको थियो ।

२०७२ सालमा धादिङ धुनेबेँसी नगरपालिका-९ मा प्लान्ट जडान गरेर सिमेन्ट उत्पादन गरिरहेको कम्पनीको लगानीकर्तामा केएल दुगड ग्रुप रहेको छ । यस व्यवसायिक समूहले धारा तोरी तेल, ज्ञान चक्की आँटालगायतका खाद्यवस्तु पनि उत्पादन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर