देश हाँक्ने नेताको नर्सरी स्ववियु- १४ वर्षपछि चुनावको चर्चा, त्रिवि र विद्यार्थी संगठनबीचमै छैन विश्वास – Nepal Press

देश हाँक्ने नेताको नर्सरी स्ववियु- १४ वर्षपछि चुनावको चर्चा, त्रिवि र विद्यार्थी संगठनबीचमै छैन विश्वास

काठमाडौं । कुनै समय यस्तो थियो, क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावले भविष्यको देश हाँक्ने नेता जन्माउँँथ्यो । स्ववियुलाई पार्टी राजनीतिको नर्सरी भनिन्थ्यो । केन्द्रीय क्याम्पस कीर्तिपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, आरआर र ल क्याम्पस काठमाडौंजस्ता ठूला कलेजले एमालेको नेतृत्व जन्माउँथे ।

त्रिचन्द्र, पद्मकन्या, शंकरदेव जस्ता क्याम्पसबाट कांग्रेसको नेतृत्व जन्मिथे । आजको एमालेका महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराई, प्रदेश १ को मुख्यमन्त्री बन्दै गरेका हिक्मत कार्कीदेखि गण्डकीको मुख्यमन्त्री बन्दै गरेका खगराज अधिकारीसम्मका नेताहरु स्ववियु सभापति निर्वाचित हुँदै अघि बढेका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाहरु स्ववियुकै उत्पादन हुन् । २०३६ सालको विद्यार्थी आन्दोलनको बलिदानबाट स्थापित स्ववियु निर्वाचनले देशको नेतृत्व गर्ने नेताहरु जन्माएको थियो । हरेक २ वर्षमा फागुन १४ गते हुने निर्वाचन नेपालमा गणतन्त्र स्थापनापछि भने हुन छाडेको छ । केही क्याम्पसमा भए पनि अन्यत्र छैन ।

१४ वर्षपछि फागुन १४

अघिल्ला वर्षहरुको जस्तै नियति यसपटक दोहोरिएन भने आगामी चैतको दोस्रो साताभित्र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुको मिनि सरकार मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले नयाँ नेतृत्व पाउनेछन् ।

त्रिविले स्ववियु चुनावको तयारी थालेर १४ वर्षपछि विद्यार्थी राजनीति गर्माएको छ । चुनावले १४ वर्षपछि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् । तर, चुनावको मिति भने निश्चित भएको छैन ।

त्रिविका पदाधिकारीले फागुन १४ गते स्वविय चुनाव गराउने निर्णय गरेका थिए । सोहीअनुसार विभिन्न विद्यार्थी संगठनहरुलाई स्ववियु चुनावको अनौपचारिक जानकारी दिइएको छ ।

चुनावको मितिबारेमा छलफल गर्न र राय बुझ्न त्रिविले सोमबार विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरेको छ । छलफलमा संगठनका नेताहरुले फागुन १४, २८ वा चैत १४ गतेभित्र चुनाव गर्न सुझाव दिएका छन् । त्यसकारण चुनावको निश्चित मिति टुंगो लाग्न बाँकी छ ।

विद्यार्थी कल्याण परिषद्को बैठक बसेर चुनावको मिति टुंगो लगाइने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी बताउँछन् ।

उनले भने, ‘कति गते गर्ने भनेर फिक्स भएको छैन । विद्यार्थी नेताहरुले फागुनको १४, २८ वा चैत १४ गतेभित्र गर्न सुझाव दिनुभएको छ । विद्यार्थी कल्याण परिषद्को बैठकपछि मात्रै चुनावको डेट फिक्स हुन्छ ।’

कसरी हुन्छ निर्वाचन ?

विद्यार्थीको हकहितका आवाज उठाउने, विद्यार्थीका समस्याहरु समाधान गर्ने, कार्यक्रम गर्न बजेट उपलब्ध गराउँदै आएको छ स्ववियुले । त्रिविले ६२ वटा आंगिक क्याम्पसमा स्ववियुको नेता च्न्न चुनाव गर्छ । क्याम्पस भर्ना भएका विद्यार्थीहरु मतदाता हुन्छन् । त्यस्तै नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा पनि स्ववियु चुनाव सँगै हुने गथ्र्यो ।

मिश्रित निर्वाचन प्रणाली

पहिले सबै पदमा प्रत्यक्ष निर्वाचित हुने गर्थे । तर पछिल्लो समय त्रिविले प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट स्ववियु चुनाव गर्ने गराउने विनियम बनाएको छ ।

उक्त विनियमअनुसार निर्वाचनबाट सभापति, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपसभापति, सहसचिव र बाँकी ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन् ।

त्रिविअन्तर्गत केन्द्रीय क्याम्पससहित ६२ आंगिक, १ हजार ४० सामुदायिक र निजी क्याम्पस छन् । चुनाव भने ६२ वटा आंगिक क्याम्पसमा मात्रै हुँदै आएको छ । विद्यार्थी संख्याको आधारमा एउटा क्याम्पसमा ११ देखि २१ जनासम्म स्ववियु निर्वाचित हुन्छन् ।

२०० सम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११, २०० देखि बढी एक हजारसम्म विद्यार्थी संख्या भएमा १५ जना, एक हजारदेखि ३ हजारसम्म विद्यार्थी भएमा १९ र ३ हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्य समिति हुने व्यवस्था छ ।

साथै निर्वाचनको लागि २८ वर्षको उमेर हद तोकिएको छ । चुनाव लड्न उम्मेदवारी दिने अन्तिम दिनमा २८ वर्ष नपुगेको हुनुपर्नेछ । २८ वर्षभन्दा माथिका विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

स्ववियु चुनावमा हुने खर्च क्याम्पस आफै व्यहोर्नुपर्छ । १४ वर्षपछि चुनाव हुन लागेको हुनाले कति खर्च लाग्छ भन्ने एकिन नभएको खेलकुद विभागका पदाधिकारी बताउँछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले भन्छन्, ‘क्याम्पसले आफ्नो आम्दानीबाट खर्च गर्ने भएको हुनाले कति खर्च भयो भन्ने हामीलाई जानकारी हुँदैन ।’

१४ वर्षदेखि नियमित छैन चुनाव

शैक्षिक क्यालेण्डरमा स्ववियु निर्वाचन प्रत्येक दुईदुई वर्षमा हुनुपर्ने व्यवस्था छ । २०३६ सालबाट स्ववियु निर्वाचन प्रत्येक दुई÷दुई वर्षमा हुँदै आएको थियो । तर, २०६५ पछि भने निर्वाचन नियमित भएको छैन ।

१४ वर्षअघि त्रिविको ६२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । त्यसयता स्ववियु चुनाव नियमित हुन सकेको छैन । २०६५ पछि आठ वर्षमा २०७३ चैतको दोस्रो साता स्ववियु चुनाव भएको थियो ।उक्त चुनावमा पनि बिगतमा जस्तै एमाले निकट अनेरास्ववियु पहिलो बनेको थियो ।

त्यसवेला देशभरि त्रिविका सबै आङ्गिक क्याम्पसमा चुनाव हुन सकेन । त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकाका नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेन । त्यसपछि रोकिएको चुनाव हालसम्म हुन सकेको छैन ।

उपत्यका र उपत्यका बाहिरका ३६ आङ्गिक क्याम्पसमा १४ वर्षदेखि स्ववियु निर्वाचन भएको छैन ।

चुनाव हुनेमा ढुक्क छैनन् विद्यार्थी नेताहरु

चुनाव हुनुपर्छ भन्दै आएका विद्यार्थी संगठनका नेताहरु भने अघिल्ला वर्षहरुमा जस्तै चुनाव अल्मलाउन खोजेको त होइन भन्नेमा शंका गर्छन् । त्यसकारण चुनाव भइहाल्छ भन्नेमा विद्यार्थी नेताहरु ढुक्क छैनन् ।

यसअघि पनि चुनाव हुन्छ हुन्छ भन्दाभन्दै अन्तिममा निराश बनाएको घटना ताजै छ । चुनाव हुन्छ भन्नेमा ढुक्क भइहाल्ने अवस्था अझै नबनेको विद्यार्थी नेताहरु बताउँछन् । त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आइतबारदेखि हिउँदे बिदा दिइसकेको छ ।

२२ दिन लामो हिउँदे बिदाले पनि निर्वाचन प्रभावित हुने विद्यार्थी नेताहरु बताउँछन् ।

के भन्छन् विद्यार्थी नेताहरु ?

विद्यार्थी नेताहरु भने स्ववियु निर्वाचन जुनसुकै हालतमा पनि हुनुपर्ने बताउँछन् । त्रिविले स्ववियु चुनावको तालिका ननिकाल्दा निर्वाचन हुन्छ भन्नेमा विश्वस्त हुन नसकिने अनेरास्ववियु महासचिव समिक बडाल बताउँछन् ।

उनले भने, ‘त्रिविले हामीलाई बोलाएको वेला पहिले निर्वाचन तालिका प्रकाशित गर्न भनेका छौं । नयाँ सरकार बनेकाले सुरक्षाको हिसाबले सरकारसँग कुरा गर्ने र पछि बोलाउँछौं भनेको तर आजसम्म बोलाउनुभएको छैन ।’

उनका अनुुसार विद्यार्थी संगठनहरुले फागुन २८ गते निर्वाचन मिति प्रस्ताव गरेका छन् । सोहीअनुसार निर्वाचन तालिका प्रकाशन हुने प्रतीक्षामा रहेको महासचिव बडाल बताउँछन् ।

उनी भन्छन्, ‘एक हप्ताभित्र सबै काम सक्छौं भनेको त्रिविले उक्त समय सकिसक्यो । केही खबर छैन । त्यसैले त्रिविले चुनाव गराउँछ भन्नेमा हामी विश्वस्त छैनौं । पटक-पटक निर्वाचन गर्ने भने पनि नभएका घटनाले अविश्वास बढाएको छ । त्रिविले निर्वाचन तालिका ननिकालेसम्म आश्वस्त हुन सकिँदैन ।’

महासचिव बडालले शैक्षिक मुद्दा मिल्ने संगठनसँग मिलेर अनेरास्ववियुले स्ववियु निर्वाचन सम्बन्धमा त्रिविमा दबाब दिने बताए । ‘हामी तल्लो तहमा छलफलहरु गरिरहेका छौं । अनेरास्ववियुको तर्फबाट निर्वाचनको तयारी गरिराखेका छौं’, उनले थपे, ‘हाम्रा एजेण्डाहरुसँग सहमत हुनेहरुलाई एक ठाउँमा ल्याउन पहल गर्दैछौं ।’

अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्ट आफ्नो संगठन स्ववियु चुनाव जुनसुकै हालतमा पनि हुनुपर्ने पक्षमा रहेको बताउँछन् । विद्यार्थी आन्दोलन, विद्यार्थीका समस्या, ठूल्ठूला परिवर्तन विद्यार्थीबाट सम्भव भएकाले शैक्षिक क्षेत्रका विकृति र विसंगति हटाउन अहिले स्ववियु चुनाव हुनु जरुरी भएको उनको भनाइ छ ।

स्ववियु चुनाव नहुँदा धेरै खालका विकृतिहरु मौलाएकाले जसरी पनि चुनाव हुनुपर्ने उनको तर्क छ । ‘प्रशासनका ढिलासुस्ती, विद्यार्थी प्रतिनिधिविना सिनेट बस्ने, विद्यार्थीलाई समावेश नगर्ने कुराले पनि अब दबाब दिएरै चुनाव गराउनुपर्छ’, उनी भन्छन् ।

इन्चार्ज विष्टले स्ववियु चुनाव हुन नसक्नुमा त्रिविका पदाधिकारी र विद्यार्थी संगठनहरुले एकअर्कालाई दोष लगाएर कोही कसैले उन्मुक्ति नपाउने बताए । तर, स्ववियु चुनाव नियमित हुन नसक्नुमा त्रिविको कानुनलाई मुख्य दोषी मान्छन् उनी ।

‘स्ववियु चुनाव त्रिविको कानुनले गर्दा नियमित नभएको हो । चुनाव गराउन विश्वविद्यालयले हरेक दुईदुई वर्षमा विद्यार्थी संगठनसँग छलफल गरेर तालिका निकाल्नुपर्छ । तर, त्रिविले गरेको छैन’, उनले भने ।

स्ववियु चुनाव हुनेमा ढुक्क छिन् पञ्चा

यता माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह भने स्ववियु चुनाव हुनेमा ढुक्क छिन् । केही विद्यार्थी संगठनले मिति हेरफेर गर्न प्रस्ताव गरेको र संगठनहरुसँग छलफल पनि भएको हुनाले निर्वाचन हुने उनले बताइन् ।

उनले भनिन्, ‘मितिका हिसाबले दुई चार दिन तलमाथि होला । त्यसले केही फरक परेन । त्रिविले नै सूचना जारी गरेकाले चुनाव हुन्छ भन्नेमा हामी ढुक्क छौं ।’

अध्यक्ष सिंहले अखिल क्रान्तिकारी स्ववियु चुनावमा होमिन तयार रहेको र संगठन तयारीमा जुटिसकेकोसमेत बताइन् ।

सत्ता समीकरण परिवर्तन भएकाले स्ववियु चुनावमा गठबन्धन हुने नहुने अहिल्यै केही भन्न नसकिने उनी बताउँछिन् । ‘राजनीतिक स्थिति कसरी अगाडि बढ्छ र संघ-संगठनबीचमा के-कसरी तालमेल हुन्छ । त्यसको आधारमा अघि बढ्छौं’, सिंहले थपिन्, ‘अहिले वेला भइसकेको छैन । अहिले नै गठबन्धन गर्ने कि नगर्ने भनेर छलफल पनि भएको छैन ।’

नेविसंघ र नेकपा एसनिकट अखिल तयारीमा

 

नेपाल विद्यार्थी संघ पनि स्ववियु चुनावको तयारीमा जुटिसकेको अध्यक्ष दुजाङ शेर्पा बताउँछन् । ‘तयारी सुरु गरिसकेका छौं । चुनाव हुनुपर्छ भन्नेमा हामी विद्यार्थी संगठनहरु एकमत छौं’, उनले भने, ‘केही दिनभित्रै त्रिविका पदाधिकारीहरुसँग हामी विद्यार्थी संगठनका अध्यक्षहरुले छलफल गर्नेछौं ।’

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू पनि स्ववियुको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीको लागि केन्द्रीय पदाधिकारीको बैठक शुक्रबार बसेको थियो ।

अनेरास्ववियूले स्ववियुको निर्वाचन त्रिविको आंगिक क्याम्पसमा मात्र नभएर सम्बन्धन प्राप्त सामुदायिक र निजी क्याम्पसहरुमा गर्नुपर्ने, त्यसका निम्ति प्रशासन, विश्वविद्यालय तयार हुनुपर्ने र त्रिविमा मात्र नभई सबै विश्वविद्यालयमा स्ववियु निर्वाचन हुनुपर्ने माग राख्दै आएको छ ।

अन्य विश्वविद्यालयमा स्ववियुको निर्वाचन नगर्ने परिपाटी रचिएकाले त्यसलाई आन्दोलनबाट निष्क्रिय पार्ने अध्यक्ष सुदेश पराजुली बताउँछन् । उनले आफ्नो संगठन स्ववियु निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ पक्षमा रहेको जानकारी दिए ।

‘स्ववियु निर्वाचनको सन्दर्भमा विद्यार्थी राजनीति धेरै नै अपारदर्शी भयो । आर्थिक रुपमा बोझिलो भयो’, उनले भने, ‘स्ववियु निर्वाचन पूर्ण समानुपातिक पूणालीको हुनुपर्छ । त्यसमा क्याम्पस टपर दुईजना छात्रछात्राले स्वतः स्ववियुमा प्रतिनिधित्व गर्न पाउनुपर्छ । यी माग सम्बाेधन गररे विश्वविद्यालयले छिटोभन्दा छिटो स्ववियु निर्वाचन गर्नुपर्छ ।’

तर, चुनाव हुन्छ भन्नेमा विश्वास गरिहाल्ने आधार भने नभएको अध्यक्ष पराजुली बताउँछन् । ‘त्रिविको गतिविधिले स्ववियु चुनाव हुन्छ भन्नेमा शंका छ’, उनले थपे, ‘राजाको शासन कालमा पनि स्ववियुको चुनाव भयो । तर, लोकतन्त्र आइसकेपछि दलहरुबीचमा भागबन्डा भएर नियुक्त भएका विश्वविद्यालयका पदाधिकारीहरुले विभिन्न ढंगले आर्थिक चलखेल गर्दै स्ववियु निर्वाचन हुन नदिने प्रपञ्च रचिरहेका छन् ।’

चुनाव नहुनुपर्ने कारण छैन : त्रिवि

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारी भने स्ववियु चुनाव नहुनुपर्ने कारण नै नभएको बताउँछन् । चुनाव चैत अगाडि नै सम्पन्न गर्न त्रिविले तयारी थालिसकेको उनले जानकारी दिए ।

यसअघि नियमित चुनाव नहुनुमा त्रिविमात्र दोषी नभएर विद्यार्थी संगठन, राजनीतिक दलहरु पनि उतिकै दोषी रहेको उनको भनाइ छ । निर्देशक अधिकारी भन्छन्, ‘यसअघि विभिन्न कारणले हुन सकेन । तर, अब सबैतिरबाट चुनाव गर्नुपर्छ भन्ने कुरा आएको छ । हाम्रो तर्फबाट चुनावको तयारी अघि बढिसकेको छ ।’

तर विद्यार्थी संगठनहरुले चाहेमात्र चुनाव हुने अधिकारी बताउँछन् । उनीहरुले नचाहे अझै पनि चुनाव नहुन उनको भनाइ छ । विद्यार्थीको उमेर हदको कारण पनि स्ववियु चुनाव हुन नसकेको अधिकारी बताउँछन् ।

‘अधिकांश विद्यार्थी संगठनमै २८ वर्ष नाघेका मान्छेहरु छन् । उनीहरुले उमेर हदको विषयलाई लिएर बखेडा झिकिरहेका छन्’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *