सुदूरपश्चिम सरकार- ‘ट्रयाक वान’मा माओवादी र एमालेको दाबी, ‘ट्रयाक टु’ मा नागरिक उन्मुक्ति हाबी – Nepal Press

सुदूरपश्चिम सरकार- ‘ट्रयाक वान’मा माओवादी र एमालेको दाबी, ‘ट्रयाक टु’ मा नागरिक उन्मुक्ति हाबी

कैलाली । केन्द्रमा राजनैतिक कोर्स परिवर्तनसँगै प्रदेशमा पनि सरकारमा दाबी गर्ने पार्टीहरू फेरबदल भएका छन् । सुदूरपश्चिम प्रदेशमा यस अघि कांग्रेस र माओवादीले सरकारमा दाबी गरेको थियो ।

हिजो केन्द्रमा भएको नयाँ गठबन्धनले सुदूरपश्चिम प्रदेशमा कांग्रेस मुख्यमन्त्रीमा दाबी गर्न नसक्ने अवस्थामा पुगेको छ । अब प्रदेशमा नयाँ सरकार दाबी गर्नेमा कांग्रेस आउट हुँदा एमाले इन भएको छ ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको गठबन्धनले सहज बहुमत पुराउने देखिन्छ । यहाँ नयाँ गठबन्धनमा ११ सिट सहित माओवादी पहिलो १० सिट सहित एमाले दोस्रो ७ सिट सहित नागरिक उन्मुक्ति तेस्रो र १ सिट सहित राप्रपा चौथो दल रहेको छ ।

यो बाहेक काग्रेससँग १९ र नेकपा एकीकृत समाजवादीसँग ४ सिट छ । केन्द्रको फेरिएको समीकरण अनुसार एमाले माओवादी नागरिक उन्मुक्ति र राप्रपा मिल्दा सहज बहुमत पुग्छ । सरकार बनाउन २७ सांसद आवश्यक यी चार दल मिल्दा २९ सांसद पुग्छन् ।

नयाँ गठबन्धनमा सरकार बनाउन पुग्ने अङ्कगणित छ । तर, सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे अझै तय भइसकेको छैन । कांग्रेससँगको गठबन्धनमा पनि यहाँ माओवादीले दाबी गरेको थियो । अहिले एमालेसँगको गठबन्धनमा पनि माओवादीले दाबी गरिरहेको छ ।

अघिल्लो पटक एमाले र माओवादी तालमेल गरेर सरकार बनाउँदा नेतृत्व माओवादी केन्द्रले गरेको थियो । त्यो बेला ठुलो दल एमाले थियो । ठुलो दल एमाले हुँदा हुँदै अघिल्लो पटक एमालेको समर्थनमा माओवादीले मुख्यमन्त्री पाएजस्तै अहिले माओवादीको समर्थनमा एमालेले मुख्यमन्त्री पाउनु पर्ने दाबी एमाले नेताहरूको छ ।

यता माओवादी केन्द्रले ठुलो दल भएको हुँदा यस पटक पनि आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बताउँदै आइहरेको छ । सुदूरपश्चिम प्रदेशमा माओवादी र एमाले दुवैले दाबी गरिँदा यसको छिनोफानो भने केन्द्रबाटै हुने छ । केन्द्रमा अहिले सम्म शीर्ष नेताहरू बिच यसको छलफल सुरु भएको छैन ।

को बन्ला मुख्यमन्त्री ?

सुदूरपश्चिम प्रदेशमा एमाले वा माओवादी केन्द्रले मुख्यमन्त्री पाउँदा त्यो दल भित्रबाट पनि को भन्छ मुख्यमन्त्री भन्ने अझै निश्चित भइसकेको छैन । दुवै दलले अहिले सम्म दलको नेता छनोट नगरेको हुँदा पार्टीले सरकारको नेतृत्व पाउँदा पनि त्यसमा कसले अवसर पाउँछ भन्ने निश्चित हुन नसकेको हो ।

माओवादीले सरकारको नेतृत्व गर्ने अवस्थामा खगराज भट्ट वा ओम विक्रम भाटले त्यसको नेतृत्व पाउन सक्ने छन् । त्यस अलवा मानबहादुर धामी र अक्कल रावललाई पनि जिम्मेवारी आउन सक्छ । त्यो सम्भावना भने कम छ ।

माओवादीबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका भट्ट डडेल्धुराबाट प्रदेश सभामा निर्वाचित भएका हुन् । उनलाई अघिल्लो गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले र प्रचण्डले संयुक्त रूपमा एउटै मञ्चमा उभिएर सुदूरपश्चिम प्रदेशको भावी मुख्यमन्त्रीको रूपमा प्रस्तुत गरेका थिए ।

देउवासँग लगातार तीन पटक सम्म पराजित भएका भट्ट देउवाकै सहयोगमा मुख्यमन्त्री बन्ने अपेक्षामा थिए । तर, उक्त गठबन्धन टुटेपछि अहिले माओवादी प्रदेश इन्चार्ज र स्थायी कमिटी भएको हुँदा सिनियर भन्दै प्रदेशमा मुख्यमन्त्रीको दाबी गरिरहेका छन् ।

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भए लगत्तै उनी शुभकामना दिन खुमल्टार पुगेका थिए । त्यहाँ सरकारका विषयमा भने छलफल भएन।

माओवादीबाटै मुख्यमन्त्रीमा दाबी गरिरहेका ओम विक्रम भाट सरल कञ्चनपुरबाट निर्वाचित हुन् । युवा पुस्तालाई प्रदेशको नेतृत्व दिनु पर्ने भन्दै उनी पनि मुख्यमन्त्रीको लाइनमा उभिएका छन्। संसदीय दलको नेतामा सके सर्वसम्मत नभए निर्वाचन मार्फत भएपनि आफू हुने दाबी गरेका भाट भट्टको विकल्पमा दलको नेता चयन हुन सक्ने पनि आकलन गरिएको छ ।

यता एमालेले मुख्यमन्त्री पाउने सम्भावना हुँदा अहिले सम्म राजेन्द्र रावल र धर्मराज पाठकको नाम चर्चामा छ । सात प्रदेश मध्ये प्रदेश १, गण्डकी र कर्णालीमा एमालेले सरकारको नेतृत्व गर्ने करिब पक्का जस्तै हो यस्तो अवस्थामा सुदूरपश्चिममा पनि सरकारको नेतृत्व पाउन सहज भने छैन । यही सुदूरपश्चिममा त्यो अवसर आए रावल र पाठक नै मुख्यमन्त्री बन्न सक्ने आकलन गरिएको छ । दुवै जना समानुपातिक मार्फत प्रदेश सभा सदस्य भएका हुन् ।

रावल पोलिट व्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज हुन् भने पाठक प्रदेश सचिव हुन् । यी दुवै जनाले अहिले सम्म दलको नेतामा आधिकारिक घोषणा गरेका छैनन् । पार्टीले गरेको निर्णय मान्ने बताउँदै आएका दुवै जना मध्ये एक जना दलको नेता बन्ने र सरकारको नेतृत्व गर्ने अवसर पाए मुख्यमन्त्री बन्ने योजनामा छन् ।

ट्रयाक टु : नागरिक उन्मुक्तिको सरकार

हिजो बालकोटमा तयार भएको नयाँ गठबन्धनमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिका तर्फबाट अध्यक्ष रन्जिता चौधरी पनि सहभागी थिइन् । उनी बालकोट मात्रै गइनन् सितलनिवास पनि पुगिन् ।

केन्द्रमा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई समर्थन गर्दा प्रदेशमा पनि त्यही गठबन्धनलाई नागरिक उन्मुक्तिको साथ हुने अपेक्षा गरिएको छ । तर, यहाँ नागरिक उन्मुक्ति निर्णय भएको हुँदा मुख्यमन्त्री दाबी गर्दा पनि दिनु पर्ने परिस्थिति नआउँदा भन्न सकिन्न ।

नयाँ गठबन्धनमा नागरिक उन्मुक्तिका ७ सांसद जोड्दा २९ पुग्छ । यता कांग्रेस, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको संख्या २४ मात्रै पुग्छ । एमाले नेतृत्वको गठबन्धनबाट कांग्रेस नेतृत्वको गठबन्धनलाई नागरिक उन्मुक्तिले साथ दिने अवस्था सृजना हुँदा कांग्रेस नेतृत्वको गठबन्धनको सिट संख्या ३१ पुग्छ ।

यहाँबाट स्वतन्त्र उम्मेदवार नयाँ गठबन्धनका जाँदा पनि सरकार बन्ने अवस्था सृजना हुन्छ । उहाँ सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।

एमाले माओवादी र राप्रपा मात्रै सरकार बनाउन सक्दैनन् । यता कांग्रेस र नेकपा एकीकृत समाजवादी पनि सरकार बनाउन सक्दैनन् ।

नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्‍यो त्यही दलको सरकार बन्ने हुँदा सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्नु पर्ने अवस्था पनि सृजना हुन सक्छ ।तर, यो सम्भावना भने निकै कम छ ।

प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको सम्मानजनक उपस्थिति नभए त्यो परिस्थिति पनि आउन सक्ने आकलन गरिएको छ ।

एमाले नेतृत्वको सरकार बन्न नदिन कांग्रेस र नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको अफर दिएर त्यसमा नागरिक उन्मुक्ति सकारात्मक भए रामेश्वर चौधरी मुख्यमन्त्री बन्न सक्ने छन् । उनी नागरिक उन्मुक्तिको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हुन् ।


प्रतिक्रिया

One thought on “सुदूरपश्चिम सरकार- ‘ट्रयाक वान’मा माओवादी र एमालेको दाबी, ‘ट्रयाक टु’ मा नागरिक उन्मुक्ति हाबी

  1. ट्रयाक थ्री को परिकल्पना नै भएनछ त । जहाँ माओवादी ११ एमाले १० समाजवादी ४ राप्रपा १ स्वतन्त्र १ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर