प्रदेश राजधानी राख्न प्राविधिक शिक्षालय स्थानान्तरण : विद्यार्थीहरुका गुनासैगुनासा, सम्बाेधन गर्ने कसले ? – Nepal Press

प्रदेश राजधानी राख्न प्राविधिक शिक्षालय स्थानान्तरण : विद्यार्थीहरुका गुनासैगुनासा, सम्बाेधन गर्ने कसले ?

देउखुरी । कुनै वेला नेपालमै नमुना मानिएको थियो दाङको राप्ती प्राविधिक शिक्षालय । तर, अहिले शिक्षा र प्रविधिको विकास चाहने जोकोहीलाई यसको व्यवस्थाले निरास बनाउँछ । पूर्वपश्चिम राजमार्ग छेउ दाङको देउखुरीमा करिब १९ बिगा क्षेत्रफलमा ४२ वटा भवनसहितको सुविधासम्पन्न शिक्षालय अहिले ग्रामीण क्षेत्रमा सारिएको छ ।

राप्ती नदीपारि गढवास्थित एक सरकारी विद्यालयमा यो शिक्षालय सारिएको छ । केही वर्ष पहिले यसलाई रोजेर पढ्न आएका विद्यार्थी अहिले निरासमात्रै छैनन् कसरी बाँकी सेमेस्टर पूरा गरेर जाने भन्ने चिन्तमा छन् ।

शिक्षालयको लागि निर्माण गरिएका भवनहरू अहिले लुम्बिनी प्रदेशको राजधानीका मन्त्रालय, प्रदेशसभा भवन तथा अरू सरकारी कार्यालयमा प्रयोगमा ल्याइएको छ । लुम्बिनीको राजधानी व्यवस्थापन गर्न शिक्षालय सार्नु मूल कारण हो । प्रदेश राजधानी राख्न सुविधासम्पन्न शिक्षालयलाई बेवारिसे बनाइएको छ । चुनावलगत्तै बुटवलमा रहेको मुख्यमन्त्री कार्यालय शिक्षालयका भवनमा स्थानान्तरण गरिएयो । त्यसका लागि शिक्षालयलाई हतारहतारमा स्कुलको भवनमा सारिएको थियो ।

संघीय सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट मन्त्रीस्तरको निर्णयले २०७९ असार २१ गते शिक्षालयको जग्गा प्रदेश सरकारलाई उपभोग गर्न दिने स्वीकृति दिएको थियो । त्यसैअनुसार राप्ती गाउँपालिका ३ मा रहेको राप्ती प्राविधिक शिक्षालय र गढवा गाउँपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय गोवरडियाबीच २०७९ साउन ३ गते शिक्षालय विद्यालयमा सार्ने सम्झौता भएको हो । सरस्वती माध्यमिक विद्यालयले तत्काल आफ्नो ४ बिगा जग्गामा अस्थायी संरचना निर्माण गरी विद्यालय व्यवस्थापन गर्दैछ ।

२०५० सालमा एसियाली विकास बैंकको सहयोगमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक कक्षाहरू सञ्चालन हुँदै आएका थिए । जहाँ आधुनिक प्रयोगशालासहित सबै एकै परिसरमा व्यवस्थापन गरिएको थियो ।

अहिले यस शिक्षालय करिब ५ किलोमिटर दक्षिण गढवा गाउँपालिकास्थित सरस्वती मावि परिसरमा स्थानान्तरण गरिएको छ । सरस्वती माविका विद्यार्थीहरुलाई अस्थायी रुपमा बनाइएको टिनले छाएको संरचनामा कक्षा सञ्चालन गरिएको छ ।

राजमार्ग छेउमा सुविधासम्पन्न संरचना, आधुनिक प्रयोगशाला देखेर राप्ती शिक्षालय अध्ययन गर्न रोजेको बताउने अधिकांश विद्यार्थीहरु अहिले शिक्षालय नयाँ ठाउँमा सारिएपछि ती सबै सुविधाबाट बञ्चित भएको गुनासो गर्छन् । सिभिल इन्जिनियरिङ डिप्लोमा तहको अध्ययन गरिरहेका प्युठानका सुनिल विश्वकर्माले नयाँ स्थानमा कुनै सुविधा नभएको बताए ।

‘यहाँ सबै अस्तव्यस्त छ । विद्यार्थीको लागि राम्रो शैक्षिक वातावरण नै छैन । न पर्याप्त खेल्ने ठाउँ छ न त संरचना नै छन्’, उनले भने, ‘ल्याबहरु बनेकै छैनन् । ३० वर्ष पुरानो क्षेत्रबाट नयाँ ठाउँमा आएको छ । उता विकसित बजार क्षेत्र थियो, शैक्षिक माहोल थियो, यो ग्रामीण क्षेत्र हो, यहाँ यातायातका साधन नै सहज पाइँदैन । धेरै समस्या छ ।’

पुरानो शिक्षालयमा प्राविधिक अध्ययनलाई नै लक्षित गरेर त्यही अनुसारका भवन तथा प्रयोगशाला बनाइएको थियो । तर, नयाँ ठाउँ ती सबै व्यवस्थापन हुन सकेको छैन । विद्यार्थीहरु आफ्नो समस्याबारे बोलिदिने कोही नदेखिएको बताउँछन् ।

अहिले शिक्षालयमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन् । नयाँ स्थानमा शिक्षालय सारिएपछि विद्यार्थी तथा अभिभावकको रोजाइमा शिक्षालय पर्न छाडेको अधिकांश विद्यार्थीहरुको भनाइ छ ।

विद्यार्थीहरुले यसरी हतारमा शिक्षालय सारेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको आरोप लगाउँछन् । शिक्षालयको अवस्था बुझ्न गएका पत्रकारहरुलाई अधिकांश विद्यार्थीहरुले भने, ‘हाम्रो विषयमा बोलिदिने, आवाज पुर्‍याइदिने कोही भएन ।’

फार्मेसी विषयमा डिप्लोमा अध्ययनरत घोराहीकी स्मारिका शर्माले नयाँ ठाउँमा यातायातको समस्या रहेको र बस्ने कोठा पनि राम्रो नभएको बताइन् । जसले गर्दा पढाइ प्रभावित हुने उनको आशंका छ ।

डिप्लोमा इन फार्मेसी पढ्ने सल्यानका सरदप्रसाद थापाको पनि उस्तै गुनासो छ । ‘भौगोलिक हिसाबले फरक छ, उता हाइवेको छेउमा थियो, नयाँ स्थानमा सुविधा हुने कुरै भएन, बल्ल बन्दैछन्’, उनले भने ।

कपिलवस्तु बहादुरगञ्जका रामनारायण कश्यप ओए पढ्न पहिलो वर्ष यो शिक्षालयमा आएका हुन् । उनले शिक्षालयका बारेमा आफूले सुनेको र अहिले नयाँ स्थानमा देखेकोबीच धेरै फरक भएको सुनाए । विद्यार्थीहरुका अनुसार टिनले छाएको एक तले भवनमा गर्मीमा पढ्न सहज हुनेछैन ।

कैलालीको लम्कीबाट आएका नवीन उपाध्यायले नयाँ ठाउँ भएकाले शिक्षकहरु नै नियमित नभएको गुनासो गरे । ‘केमेस्ट्री शिक्षक नभएको डेढ महिना भयो, गुनासैगुनासा छन्, नयाँ ठाउँ भयो, संरचना बनेकै छैन’, उनले भने, ‘कक्षामात्रै भएका छन् । समयमात्रै बितेको छ ।’

सरस्वती माविमा प्राविधिक शिक्षालय स्थानान्तरण गरिएपछि सरस्वती माविमा अध्ययनरत करिब ४ हजार विद्यार्थीलाई अर्को भवन बनाएर व्यवस्थापन गरिएको छ । तर, एकै परिसरमा ४ हजार विद्यार्थी रहेको माध्यमिक तहको विद्यालय र १ हजार क्षमताको विशिष्टीकृत प्राविधिक शिक्षालय राख्नु उचित नभएको अभिभावकहरु बताउँछन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी भने शिक्षालयलाई क्रमशः व्यवस्थापन गर्दै लगिने बताउँछन् ।

‘संघीय सरकारले प्रदेशलाई यही राजधानी व्यवस्थापन गर्न भनेको छ । यहाँको राप्ती प्राविधिक शिक्षालय र गढवाको सरस्वती माविलाई जिम्मेवार तरिकाले व्यवस्थापन गरेका छौं । नयाँ संरचना बनाउँदै गएका छौं, राम्रो व्यवस्थापनका साथ फराकिलो ठाउँमा पठाएका छौं । अरू संरचना पछि बन्दै जाने हो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर