सत्ता पक्ष र प्रतिपक्षले अडान नछाड्दा प्रतिनिधिसभाको बैठक अन्योलमा – Nepal Press

सत्ता पक्ष र प्रतिपक्षले अडान नछाड्दा प्रतिनिधिसभाको बैठक अन्योलमा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको मागबाट टसमस नहुँदा प्रतिनिधिसभाको बैठक अन्योल बनेको छ ।

आज बिहान ११ बजेको लागि बैठक बोलाइएको थियो । दलहरूबीच सहमति जुटाउन भन्दै सभामुखसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आग्रहपछि बैठक ४ बजेलाई सारियो । अहिले पनि प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरेले सदनको गतिरोध हटाउन कांग्रेसका शीर्ष नेतासँग छलफल जारी राखेका छन् ।

सत्ता पक्ष र प्रतिपक्षबीच विभिन्न विकल्पमा छलफल भएपनि निचोड निस्केको छैन । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले रवि लामिछानेमाथि छानबिन समितिको अडान कायमै रहेको बताए ।

उनले भने, ‘रवीजीसहित सहकारीका सबै विषयलाई समेटेर छानबिन हुनुपर्छ भन्ने माग हो । त्यसका लागि सत्तापक्ष तयार भएको छैन । छानबिनको कुरा गर्दा सहकारीको कहाँ के समस्या छ हेर्ने, त्यस्तो छानबिन गर्ने भन्ने कुरा गरेर मूल विषयलाई डाइल्युट गर्ने कुरा आएकाले सहमति हुन सकेको छैन । विभिन्न चरणमा छलफल भएपनि कुरा मिलेको छैन ।’

कांग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने उनको भनाइ छ ।

उनले भनिन्, ‘अहिले सहमतिको बिन्दुमा पुग्न सकेन । तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ । केही कुराहरु अपुग भयो । केही कुराह? नसमेटिएको हुनाले केही समय चाहिएको जस्तो अनुभुति भएको छ । विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन ।

उनले कांग्रेसको संसदीय छानबिन समिति गठन गर्ने कुरालाई बलटमलाइन बनाएको बताइन् ।

थिङले थपिन्, ‘संसदीय छानबिन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने । अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट शु? गर्न खोजेको हो यो चाहीँ नमिलेको छ । सरकारमा संलग्न दलहरुको कारणले अड्किएको हो ।’

सरकार भने सबै सहकारीको समस्या समाधान गर्न समिति बनाउने पक्षमा छ । कांग्रेसले गृहमन्त्रीलाई निशाना बनाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिरक्षामा उभिएका छन् । उनले हिजो सदनमा रविले बोल्न नपाए कांग्रेसलाई पनि आफूहरूले बोल् नदिने र एमाले बोल्न पाउनुपर्ने बताएका थिए ।

त्यसो त गृहमन्त्री लामिछानेले पनि एक पटक बोल्न पाए समिति बनाउन तयार रहेको सन्देश दिइसकेका छन् । तर, कांग्रेस समिति नबनेसम्म बोल्न नदिने पक्षमा छन् ।

गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन्, एक पटक बोल्न पाउनुर्‍यो । त्यत्ति हो मागेको । यति घिन लाग्दो, मिडिया ट्रायल ?’

यता, कांग्रेसकै अवरोधपछि राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ । सहकारी प्रकरणले संघीय सदनका दुवै बैठक प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर