मेस्सीले अर्जेन्टिनालाई १५ वर्ष अगाडि जर्सी नम्बर १५ बाट दिलाएको त्यो ओलम्पिक उपाधि – Nepal Press

मेस्सीले अर्जेन्टिनालाई १५ वर्ष अगाडि जर्सी नम्बर १५ बाट दिलाएको त्यो ओलम्पिक उपाधि

इटहरी । सन २००८ मा बेइजिङ ओलम्पिक हुँदा ओलम्पिक भिलेजमा बस्नेहरूले सर्वाधिक तस्बिर लिइएकामध्ये एक खेलाडी थिए रोनाल्डिन्हो । सन २००२ को विश्वकप विजेता भएको रापतापका कारण रोनाल्डिन्हो विश्वभरमा झैँ नेपालमा पनि लोकप्रिय थिए ।

ओलम्पिक भिलेजमा मौका पाउने नेपाली खेलाडीहरूले रोनाल्डिन्होसँग तस्बिर लिए । त्यही ओलम्पिक भिलेजमा रोनाल्डिन्हो आसपास अर्जेन्टिनाको टोलीका मेस्सीसँग भने धेरैले तस्बिर लिएनन् किनभने मेस्सीको त्यो समयमा अहिलेको जस्तो चमकधमक थिएन । स्पेनको क्लब बार्सिनोलाबाट इटालीको क्लब एसी मिलानमा गएका तत्कालका सबैभन्दा महँगा स्थापित खेलाडी रोनाल्डिन्होका अगाडि मेस्सी उदयमान खेलाडी त थिए । तर, अहिलेको स्तरमा चर्चित थिएनन् ।

थुप्रै अन्तरवार्ताहरूमा मेस्सीलाई पत्रकारहरूले अहिलेसम्मको ‘अर्जेन्टिनाको जर्सी लाएर खेलेको सबैभन्दा सम्झिने खेल कुन हो’ भन्दा मेस्सीले धेरै पटक ‘बेइजिङ ओलम्पिक हो’ भनेका छन् ।

स्पेनिस मिडिया ‘स्पेनिस इस्केरे’सँग मेस्सीले सन २०१७ मा भनेका थिए, ‘सन २००८ को ओलम्पिक स्वर्णलाई नै म सबैभन्दा धेरै महत्त्व दिन्छु किनभने यो जीवनमा एक पटक मात्रै खेलिने र धेरै खेल क्षेत्रका खेलाडीहरू सहभागी हुने प्रतियोगिता हो ।’ मेस्सीको ओलम्पिक साइनो जोड्न स्वयं ओलम्पिक कमिटी पनि खुशी छ । सन २०२१ अगस्ट २२ मा मेस्सीको ओलम्पिक खेलबारेमा उतथ्या नाग नामको बाइलाइन ओलम्पिक्स डकटममा प्रकाशन भएको छ ।

मेस्सीले राष्ट्रिय जर्सी लगाएर खेलेको ओलम्पिक खेल नै धेरै महत्त्वपूर्ण भएको भन्नुमा प्रमुख कारण दुई वटा हुन सक्छन् । एक, सन २०२१ मा भएको कोपा अमेरिका जिताउनु बाहेक मेस्सीले राष्ट्रिय टोलीलाई कुनै विशाल प्रतियोगिता जिताउन सकेका छैनन् । सन २०१४ मा फाइनलमा पुगेर पनि विश्वकप नजितेका मेस्सीले राष्ट्रिय जर्सी लाएर जितेको विश्वस्तरीय उपाधि सन २००८ को बेइजिङ ओलम्पिक मात्रै भएकोले यसो भनेका हुन सक्छन् । दोस्रो कारण चै उनले देशलाई उपाधि दिलाउने प्रथम विश्वस्तरीय खेल त्यही भएकोले पनि उनले त्यसो भनेका हुन सक्छन् ।


सन २००८ को अगस्टमा भएको बेइजिङ ओलम्पिक चीनले आयोजना गरेको पहिलो ओलम्पिक थियो । सँगै यो मेस्सीले खेलेको पहिलो र अन्तिम ओलम्पिक थियो । ब्राजिलको फुटबल टोलीले बेइजिङको साङ्घाइ रङ्गशालामा आयोजना भएको समूह चरणको खेलमा अर्जेन्टिनाको तर्फबाट पहिलो गोल मेस्सीकै थियो । ४३ औँ मिनेटमा मेस्सीले आइभोरी कोस्टका विरुद्ध गोल गरेर जित निकालेका थिए । उक्त खेल अगस्ट ७ मा भएको थियो । खेलमा अर्जेन्टिना २–० ले विजयी भएको थियो । समूह चरणको अगस्ट १० को दोस्रो खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई १–० तथा अगस्ट १३ को खेलमा सर्भियालाई २–० ले हराएको थियो ।

समूह चरणको प्रथम खेलमा प्रथम गोल गरेर चुपचाप बसेका मेस्सीले क्याटरफाइनल खेलमा पनि पहिलो गोल गरेका थिए । अगस्ट १६ मा साङ्घाइ रङ्गशालामा भएको नेरल्याण्डसँगको खेलमा उनले १४ मिनेटमा गोल गरेका थिए । उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो ।

अगस्ट १९ को ब्राजिलसँगको सेमिफाइनल खेलमा अर्जेन्टिनाले ३–० को जित निकालेको थियो भने फाइनलमा अगस्ट २३ मा नाइजेरियालाई १–० ले हराउँदै अर्जेन्टिना विजयी भएको थियो । सन २००४ को एथेन्स ओलम्पिकको उपाधिको अर्जेन्टिनाले रक्षा गरेर लगातार दोस्रो पटक विजेता बनेको थियो ।

कोपा अमेरिकाको सन २००७ को उपाधिमा ब्राजिलसँग हारेको पीडामा सन २००८ को ओलम्पिक फुटबल स्वर्ण अर्जेन्टिना र मेस्सी दुवैलाई ठूलो राहत थियो । अझ रोचक कुरा सन २००७ को कोपा फाइनलमा ब्राजिलसँग ३–० ले पराजित अर्जेन्टिनाले बेइजिङ ओलम्पिकको सेमिफाइनलमा ब्राजिललाई ३–० ले नै हराएको थियो ।

मेस्सीले अर्जेन्टिनाको जर्सी नम्बर १५ बाट ओलम्पिक खेल खेलेर उपाधि जिताएको पनि १४ वर्ष पुरा भएर गत अगस्टबाट १५ वर्ष लागेको छ । यो १५ वर्षमा मेस्सीले विश्व विजेताको टाइटलमा ओलम्पिक मात्रै राख्छन् कि विश्वकप पनि थप्छन् त्यो भने आइतबारको विश्वकप फाइनलको नतिजाले देखाउनेछ । १५ वर्ष अगाडिको चीनमा भएको जित जस्तै आइतबार कतारमा भएको फाइनमा पनि जित भए मेस्सीलाई एसिया लक्की भेन्यु मान्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *