कतार विश्वकप : सेमिफाइनलसम्म ६२ खेलमा १६३ गोल, पेनाल्टीमा ११ – Nepal Press

कतार विश्वकप : सेमिफाइनलसम्म ६२ खेलमा १६३ गोल, पेनाल्टीमा ११

दोहा । कतारमा जारी २२औं विश्वकप फुटबलको सेमिफाइनलसम्म भएका ६२ खेलमा १६३ गोल भएका छन् । यीमध्ये ११ गोल पेनाल्टीमार्फत भएका हुन् ।

प्रतियोगितामा अब तेस्रो स्थान र फाइनल खेल बाँकी छ । सेमिफाइनलसम्म १६ वटा पेनाल्टी भएकामा ११ वटा गोलमा परिणत भएको छ । पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सीले मात्र ३ गोल गरेका छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सी, पोल्यान्डका रोबर्ट लेवान्डोस्की, इङ्ल्यान्डका ह्यारी केन, क्यानडाका अल्फेन्सो डेभियस र साउदी अरबका सलिम अल दासरी एकएक वटा पेनाल्टीमा गोल गर्न चुकेका छन् ।

विश्वकप इतिहासमा एकै संस्करणमा १७१ सम्म गोल भएको छ । सन् १९९८ मा फ्रान्समा आयोजित विश्वकप र २०१४ मा ब्राजिलमा आयोजित संस्करणमा समान १७१ गोल भएको थियो ।

जारी प्रतियोगितामा फ्रान्स र इङ्ल्यान्डले सर्वाधिक १३ गोल गरेका छन् । पोर्चुगल र साउदी अरबको १२-१२ गोल रहेको छ । वेल्स, ट्युनिसिया, कतार, डेनमार्क र बेल्जियमले एक-एक गोलमात्र गर्न सके । ७ टोलीले ५-५ र ४ टोलीले ४-४ गोल गरेका छन् । ३-३ गोल गर्ने टोलीको संख्या पनि ४ रहेको छ ।

जारी प्रतियोगितामा एकै खेलमा सबैभन्दा बढी गोल गर्ने टोलीमा स्पेन परेको छ। स्पेनले कोस्टारिकालाई ७-० गोलले हराएको थियो ।

जारी प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एमबाप्पे र मेस्सीको ५-५ गोल छ । फ्रान्सका ‌‌‌ओलिभर जिरोड र अर्जेन्टिनाका जुलियान अल्भारेजले ४-४ गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *