सेमिफाइनलपछि देखिएको एम्बाप्पे र हाकिमीको ‘ब्रोमान्स’ – Nepal Press
विश्वकप-२०२२

सेमिफाइनलपछि देखिएको एम्बाप्पे र हाकिमीको ‘ब्रोमान्स’

काठमाडौं । विश्वकपको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भिडन्त पक्का गर्‍यो । सेमिफाइनल भिडन्तमा आमनेसामने भएका दुई टिमका सुपरस्टार खेलाडीहरू किलियन एम्बाप्पे र अश्रफ हाकिमीको ‘ब्रोमान्स’ अहिले सामाजिक सञ्जालमा चर्चाका विषय बनिरहेको छ ।

एम्बाप्पे र हाकिमी क्लब फुटबलमा एउटै टिमबाट खेल्ने गर्छन् । उनीहरू दुवै पेरिस सेन्ट जर्मेन (पीएसजी) मा लियोनज मेस्सीका सहयोगी खेलाडीहरू हुन् । यस विश्वकपमा यी तीनै सुपरस्टारहरूले अत्यधिक हाइलाइट बटुलिरहेका छन् । मेस्सीको चर्चा स्वाभाविक नै भयो, एम्बाप्पले पनि फ्रान्सका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । त्योभन्दा बढी हाकिमीले पहिलोपटक आफ्नो देशलाई सेमिफाइनलमा पुर्‍याउन सफल भए ।

सेमिफाइनलमा पराजित भए पनि मोरक्कोले इतिहास रचेको छ र त्यसको सबैभन्दा ठूलो श्रेय हाकिमीले पाएका छन् । हिजोको म्याचपछि एम्बाप्पे र हाकिमीबीचको सौहार्दता मैदानमा छचल्किएको थियो । खेल सकिएपछि सेलिब्रेसनमा जानुअघि एम्बाप्पले हाकिमीलाई भेटे । उनीहरू दुवैले एक-अर्काको जर्सी साटासाट गरे । हाकिमीको जर्सी एम्बाप्पले र एम्बाप्पेको जर्सी हाकिमीले लगाएका थिए । यो दृष्यले विश्वभरका फुटबल फ्यानहरुलाई द्रविभूत बनाएको छ ।

एम्बाप्पले सामाजिक सञ्जालमार्फत पनि हाकिमीप्रति सहानुभूति प्रकट गरेका छन् । उनले एकअर्कालाई अंगालेको तस्वीर पोस्ट गर्दै ट्वीटरमा लेखेका छन्, ‘दुखी नबन ब्रो । तिमीले जे गर्‍यो, त्यसका लागि सबै गौरवान्वित छन् । तिमीले इतिहास रच्यो ।’

एम्बापेको यो सहृदयतापूर्ण ट्वीटलाई पनि धेरैले सराहना गरेका छन् । यद्यपि, उनले पोस्ट गरेको तस्वीरलाई लिएर कतिपयले ट्रोल पनि गरेका छन् ।

एम्बाप्पे र हाकिमी सेमिफाइनलमा भिड्नु आफैंमा रोचक संयोग थियो । गत जनवरीमा पीएसजीले कतारको भ्रमण गरेको थियो । त्यहाँ खेलाडीहरुलाई केही रंगशालामा लगियो । एजुकेसन सीटीमा भ्रमणपश्चात एम्बाप्पेले यही ठाउँमा प्रतियोगिताका दौरान फ्रान्स र मोरक्कोको भेट हुने ठठ्यौलो भविष्यवाणी गरेका थिए, जुन तत्कालीन समयमा असम्भव प्रतित हुन्थ्यो ।

‘मेरो साथी, मैले तिमीलाई ध्वंस पार्नुपर्ने हुन्छ,’ एम्बाप्पेले हाकिमीलाई लक्ष्यित गर्दै जोक गरेका थिए, ‘त्यसले अलिकति मेरो मुटु दुख्नेछ, तर यो फुटबल हो । यो यस्तै हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *