पीएसजीमा तालमेल मिलाइरहेका मेस्सी र एमबाप्पे, विश्वकप उपाधि भिडन्तमा बन्यो ‘मिठो’ संयोग – Nepal Press

पीएसजीमा तालमेल मिलाइरहेका मेस्सी र एमबाप्पे, विश्वकप उपाधि भिडन्तमा बन्यो ‘मिठो’ संयोग

काठमाडौं। समकालिन फुटबलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोका उत्तराधिकारी बन्न सक्ने बलियो प्रत्यासी हुन् केलियन एमबाप्पे। उनै एमबाप्पेको टोली फ्रान्ससँग उपाधि भिडन्त गर्दै अर्जेन्टिनी कप्तान लियोनल मेस्सी विश्वकपबाट बिदा हुँदैछन्।

७ पटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले हालसम्म यो प्रतियोगिता जित्न सकेका छैनन्। एमबाप्पेले चार वर्षअघि किशोर अवस्थामै यो प्रतियोगिता जित्दै विश्वकपमा पेलेको कीर्तिमान चुमेका थिए।

त्यतिबेला विश्वकपको सर्वोत्कृष्ट युवा खेलाडी अवार्ड पाएका एमबाप्पे फेरी उपाधि जित्ने दौडमा छन्। विश्वकपमा अन्तिमपटक यस्तो सफलता सन् १९६२ मा ब्राजिलले प्राप्त गरेको थियो। त्यतिबेला टोलीका प्रमुख सदस्य थिए पेले। संयोग नै मान्नुपर्छ, मेस्सी र एमबाप्पे फ्रान्सको पेरिस सेन्ट जर्मन(पीएसजीबाट व्यावशायीक फुटबल खेलिरहेका छन्।

मेस्सीमाथि डोमिनेट गरिरहेका एमबाप्पे

सन् २०२१ मा पीएसजी जाँदा मेस्सी ला लिगाको पछिल्लो सिजनको सर्वाधिक गोलकर्ता रहेका थिए। उनले २०२०र२१ सिजनमा ला लिगामा मात्र ३० गोल गरेका थिए। उता लिग वानमा एमबाप्पेको बर्चस्व थियो।

उनी पनि लिग वानका पछिल्ला तीन सिजन सर्वाधिक गोलकर्ता रहेका थिए। ला लिगामा ८ सिजन सर्वाधिक गोलकर्ता रहेका मेस्सीका लागि पीएसजी गएको पहिलो सिजन खास रहन सकेन।

उनले पीएसजीका लागि खेलेका ३४ खेलमा केवल ११ गोल गर्न सके। त्यसमा उनले लिग वानमा ६ गोल गरेका थिए। त्यो सिजन एमबाप्पे लिग वानका सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्ट दिने खेलाडी बने।

२०२१र२२ को त्यो सिजन एमबाप्पेले पीएसजीका लागि लिग वानमा २८ सहित ४६ खेलमा ३९ गोल गरेका थिए। उनले लिग वानमा १७ असिस्ट उपलब्ध गराएका थिए। मेस्सीले पीएसजीका लागि गरेको पहिलो गोल एमबाप्पेकै असिस्टमा थियो।

मेस्सीले पनि सबै प्रतियोगितामा गरेर पीएसजीका लागि १४ गोल असिस्ट गरेका थिए। तीमध्ये धेरै एमबाप्पे र नेमारका लागि रहेका छन्।
यो सिजन पीएसजीका लागि एमबाप्पेले लिग वानमा १२ गोलसहित २० खेलमा १९ गोल गरेका छन् भने मेस्सीले लिग वानमा ७ सहित १९ खेलमा १२ गोल गरेका छन्।

पीएसजीमा मेस्सी र एमबाप्पको तालमेल जम्नेक्रम बढ्दो छ। मेस्सी १० असिस्टसहित यो सिजन लिग वानमा सर्वाधिक असिस्ट दिने खेलाडी हुन्। उनका आधाभन्दा बढी असिस्ट एमबाप्पेका लागि रहेका छन्।

एमबाप्पेले पनि मेस्सीका केही गोलमा असिस्ट गरेका छन्। पीएसजीमा मेस्सी-एमबाप्पे तालमेल बढिरहँदा यी दुई खेलाडी विश्वकपको फाइनलमा आमने सामने हुँदैछन्। यो भिडन्तलाई पुराना पुस्ताका अब्बल खेलाडी र नयाँ पुस्ताका अब्बल खेलाडीबीचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ।

संयोग नै मान्नुपर्छ, एमबाप्पे र मेस्सी जारी विश्वकपको गोल्डेट बुट प्रतिस्पर्धाका दुई बलिया प्रत्यासी हुन्। मेस्सीले ५ गोल र तीन असिस्ट तथा एमबाप्पेले ५ गोल र दुई असिस्ट गरेका छन्। मेस्सीले गरेका गोलमा तीनवटा पेनाल्टीमार्फत रहेका छन्। समूहगत चरणमा दुई गोल गरेका मेस्सीले प्रिक्वाटरफाइनल, क्वाटरफाइनल र सेमिफाइनलमा एक एक गोल गरेका हुन्।

एमबाप्पेले क्वाटरफाइनल र सेमिफाइनलमा भने गोल गर्न सकेनन्। एमबाप्पेले पछिल्लोपटक विश्वकप जित्दा उनी क्लब फुटबलमा माथी आउनेक्रममा थिए। तर यसपटक उनी मेस्सी, नेमारजस्ता खेलाडी रहेको टिममा राज गरिरहेका छन्। फिफा वर्ष खेलाडी, बेलोन डीअरजस्ता अवार्डको प्रतिक्षा यो विश्वकपमा प्राप्त उपलब्धीले उनको पुरा हुन सक्छ।

र मेस्सीको टोलीमाथी प्राप्त जितले थप अर्थ राख्ने छ। एमबाप्पेले मेस्सीका समकालिन प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आदर्श मान्ने गरेका छन्। पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डो करियरमा विश्वकप उपाधिविहिन भएर विदा हुनेक्रममा छन्।

यता मेस्सी अन्तिमपटक विश्वकप खेलिरहेकाले यो अवसर गुमाउन चाहँदैनन्। यसअघि सन् २०१४ को विश्वकपमा पनि उनी फाइनल पुगेका थिए तर जर्मनी तगारो बनेपछि विश्व च्याम्पियन बन्ने उनको सपना अधुरै रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *