पेनाल्टी सुटआउट जिताएर सेमिफाइनल पुर्‍याएका दुई गोलरक्षकको भिडन्त – Nepal Press

पेनाल्टी सुटआउट जिताएर सेमिफाइनल पुर्‍याएका दुई गोलरक्षकको भिडन्त

काठमाडौं। कतारमा जारी विश्वकप फुटबलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहँदा लियोनल मेस्सी र लुका मोड्रिचले मात्र होइन दुवै टोलीका गोलरक्षकले पनि ध्यान तान्नेछन् ।

क्रोएसिया प्रिक्वाटरफाइनलमा जापान र क्वाटरफाइनलमा ब्राजिललाई टाइब्रेकरमा हराएर अन्तिम चारमा पुगेको हो। यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गरेको हो।

क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचले ब्राजिलविरुद्ध लगातार शानदार बचाउ गरेका थिए। उनले टाइब्रेकरमा पनि ब्राजिलको पहिलो प्रहार नै रोकेका थिए। प्रिक्वाटरफाइनलमा २७ वर्षीय लिभाकोभिचले टाइब्रेकरमा जापानका सुरुका चारमध्ये तीन प्रहार रोकेका थिए। क्रोएसियाले विश्वकपमा हालसम्म खेलेका सबै चार वटा पेनाल्टी सुटआउट जितेको छ।

सन् २०१७ मा क्रोएसियाको सिनियर राष्ट्रिय टोलिमा डेब्यु गरेका लिभाकोभिच त्यहाँको डाइनामो जाग्रेबबाट व्यावशायीक फुटबल खेल्दै आएका छन्। उनले पछिल्लो चार सिजन लगातार सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड हात पारिरहेका छन्।

सन् २०२१ देखि उनले पहिलो रोजाईको गोलरक्षकका रुपमा राष्ट्रिय टोलीमा ठाउँ बनाइरहेका छन्। उनले जारी विश्वकपमा ३ गोल ब्यहोरेका छन्। कुनैपनि खेलमा एक गोलभन्दा बढी सामना गरेका छैनन्।

यता अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले क्वाटरफाइनलमा भएको टाइब्रेकरमा नेदरल्यान्ड्सका सुरुका दुई प्रहार रोकेर अर्जेन्टिनालाई सेमिफाइनल नजिक पुर्‍याएका थिए। इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका पहिलो रोजाईका गोलरक्षक मार्टिनेजले गत वर्ष भएको कोपा अमेरिका अर्जेन्टिनालाई जिताउन महत्वपूर्ण भुमिका खेलेका थिए।

उनले सेमिफाइनलमा भएको टाइब्रेकरमा कोलम्बियाका पाँचमध्ये तीन प्रहार रोकेका थिए। ३० वर्षीय मार्टिनेजले जारी विश्वकपमा ४ गोल ब्यहोरेका छन्।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *