निर्णायक गोल गरेपछि सबै मार्टिनेजतिर झुम्मिए तर मेस्सी घोप्टिएर लडेका गोलरक्षकतर्फ लागे


दोहा । कतारमा जारी विश्वकप फुटबलको सुरुका दुई क्वाटर फाइनल टाई ब्रेकरबाट टुंगिए जसमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल भने अत्यधिक रोचक रह्यो । २-० गोलले पछाडि रहेको स्थितिबाट अन्तिम समयमा पुनरागमन गर्दै नेदरल्यान्ड्सले खेललाई अतिरिक्त समयमा धकेलेको थियो।
त्यसमा गोल हुन नसकेपछि टाई ब्रेकरमा पुग्यो। सुरुका दुई प्रहारमा गोल गर्न नसकेको नेदरल्यान्ड्स अर्जेन्टिनाको चौथो प्रहार रोकेर खेलमा आशा कायम राख्दै थियो। अर्जेन्टिनाको पाँचौँ प्रहार गर्ने जिम्मा लौतारो मार्टिनेजलाई थियो।
गोलपोष्टको बायाँतर्फ, डीबक्सबाहिर बसेर अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेज गोलको कामना गर्दै थिए। गोल पोस्टको अगाडि, करिब मध्य मागमा अर्जेन्टिनी खेलाडीहरू काँधमा काँध मिलाएर प्रतीक्षा गरिरहेका थिए। लौतारो मार्टिनेज गोल गरेर सेलिब्रेसन गर्दै गोल पोस्टको दायाँ क्षेत्रमा पुगे। अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेज बसिरहेकै ठाउँमा घोप्टो परेर लडे।
मध्य क्षेत्रमा रहेका अर्जेन्टिनी खेलाडी सबै लौतारो मार्टिनेजतिर जाँदा मेस्सी भने एक्लै लडिरहेका गोलरक्षक एमिलियानो मार्टिनेजसँग खुसी साट्न पुगेका थिए। एमिलियानो मार्टिनेजको छेउमा पुगेर मेस्सीले उनलाई उठाउँदै बेस्सरी अंकमाल गर्दै लौतारो मार्टिनेज रहेको क्षेत्रतर्फ बिस्तारै हिँड्दै पुगेका थिए।
पोस्ट म्याच कन्फेरेन्समा मेस्सीले गोलरक्षक एमिलियानो मार्टिनेजको खुलेर प्रशंसा गरे। टाई ब्रेकरमा मार्टिनेजले सुरुका दुई वटा विपक्षी प्रहार रोक्दै अर्जेन्टिनालाई जितनजिक पुर्याएका थिए।
तपाईँले प्लेयर अफ दी म्याचको अवार्ड कसलाई दिनु हुन्थ्यो भन्ने प्रश्नमा मेस्सीले भने, ‘एमिलियानो मार्टिनेजले टाई ब्रेकरमा आज हामीलाई बचाएका छन्। हामी शान्त थियौँ किनभने हामीलाई उनीप्रति विश्वास थियो। उसले जहिल्यै पनि हाम्रो लागि यो पार गरेको छ।’
गत वर्ष ब्राजिलमा आयोजित कोपा अमेरिकाको उपाधि जित्नेक्रममा गोलरक्षक मार्टिनेजले सेमिफाइनलमा कोलम्बियाविरुद्ध भएको टाई ब्रेकरमाम विपक्षीका सुरुका तीन प्रहार विफल बनाएका थिए।