कमजोर महादेशलाई फापेको एसियाली मैदान- २० वर्षअघि दक्षिण कोरिया, अहिले मोरक्को – Nepal Press

कमजोर महादेशलाई फापेको एसियाली मैदान- २० वर्षअघि दक्षिण कोरिया, अहिले मोरक्को

काठमाडौं । सन् २००२ मा एसियाली मुलुकले पहिलोपटक विश्वकप आयोजना गर्‍यो। जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको उक्त विश्वकपमा एसियाली टोलीले ऐतिहासिक सफलता प्राप्त गरे।

दक्षिण कोरिया सेमिफाइनल पुग्यो। त्यसअघि कुनैपनि एसियाली टोली विश्वकपको सेमिफाइनलसम्म पुगेका थिएनन्।त्यसयता पनि दक्षिण कोरियाको सफलता अन्य एसियाली टोलीले बराबरीसम्म पनि गरेका छैनन्।

२० वर्षपछि एसियाली मुलुकले फेरि विश्वकप आयोजना गरिरहेको छ। कतारमा भइरहेको २२ औँ विश्वकपमा अफ्रिकाले ऐतिहासिक सफलता प्राप्त गरेको छ।

मोरक्को सेमिफाइनल पुगेको छ। यसअघि कुनैपनि अफ्रिकी टोली विश्वकपमा सेमिफाइनलसम्म पुग्न सकेका थिएनन्। तीन अफ्रिकी टोली क्वाटरफाइनलसम्म पुगेर रोकिएका थिए। सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वाटरफाइनलसम्म पुगेको थियो।

सेमिफाइनल पुग्नेक्रममा मोरक्को समूहगत चरणमा उपविजेता बनेको थियो भने प्रिक्वाटरफाइनलमा पूर्व विजेता स्पेनलाई टाइब्रेकरमा पराजित गरेको हो। क्वाटरफाइनलमा शनिबार राति पाँचपटकका फिफा वर्ष खेलाडी क्रिस्टियानो रोनाल्डोसम्मिलित पोर्चुगललाई हराएर मोरक्कोले महादेशीय कीर्तिमान बनाएको हो।

मोरक्कोेले यसअघि पाँचपटक विश्वकप खेलेकामा एकपटक मात्र पहिलो चरण पार गर्न सकेको थियो। सन् १९८६ को विश्वकपमा मोरक्को दोस्रो चरणसम्म पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *