नेकपा एसमा प्रवेशपछि पत्रकारसँग मनाङे : म स्कुल आएको हो र सिक्नलाई ? (भिडिओ) – Nepal Press

नेकपा एसमा प्रवेशपछि पत्रकारसँग मनाङे : म स्कुल आएको हो र सिक्नलाई ? (भिडिओ)

काठमाडौं । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई नेकपा एकीकृत समाजवादीले आज पार्टीमा भित्र्यायो । पार्टी कार्यालयमा आयोजना गरिएको विशेष कार्यक्रममा पत्रकार र मनाङेबीच रोचक सवालजवाफ भए ।

पार्टीका महासचिव बेदुराम भुषालले खादा लगाएर स्वागत गरेपछि मनाङेले पत्रकारहरुको प्रश्नको सामना गरेका थिए । पत्रकारका प्रायः प्रश्नलाई उनले हल्का रुपमा लिँदै हचुवा जवाफ दिएका थिए । उनका केही जवाफमा हलभित्र हाँसो गुञ्जिएको थियो ।

पत्रकारको पहिलो प्रश्न थियो- स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जित्नुभयो । तर, लगत्तै पार्टी प्रवेश गर्नुभयो । यो त जनमतको अपमान भएन ?

मनाङेले जवाफ दिए- यो मैले एक्लै डिसिजन गरेको होइन । मैले आफ्नो जिल्लामा सबै युथहरुलाई… नर्मल्ली अहिले फिफ्टी पर्सेन्ट युथहरु मनाङबाटै आएको छ । तपाईंलाई जानकारी के हुनुपर्छ भने म गण्डकी प्रदेशको मिनिस्टर हो, नेपालको होइन । त्यो भएकाले मलाई पार्टीले आवश्यक ठान्यो । त्यो भएर हामीले डिसिजन गर्‍यौं । ओके भएपछि आएँ । अर्को क्वेसन ?

– चुनाव लड्न तपाईंलाई पार्टी चाहिएन । अहिले मन्त्री बन्ने सेटिङ मिलाउन सजिलो हुन्छ भनेर पार्टी प्रवेश गर्नुभएको हो ?

अब हेर्नुस्, तपाईंको भनाइ ठीकै हो । धेरै मान्छेले यो कुरा सोचिरहनुभएको छ । तर, तपाईंलाई यो थाहा हुनुपर्छ कि गण्डकीमा गठबन्धनको सरकार अलरेडी भइसक्यो । हामीसँग ३८ सीट छ । त्यसकारण मलाई मिनिस्टर ठूलो कुरा होइन । मन्त्री भनेको कस्तो चिज हो भने…. मलाई यति ठूलो ठूलो मन्त्रालयको अफर थियो । मैले किन युवा तथा खेलकुद मन्त्रालय लिएँ ? तपाईंले त्यो बुझ्नुपर्छ ।

सबैभन्दा पहिले तपाईंले बुझ्नुपर्ने कुरा के हो भन्देखी यो पार्टीमा आएर सरकारमा मिनिस्टर हुनुपर्छ भन्ने कुरा छैन । हामी त्यत्तिकै मिनिस्टर हुन पाउँछु । किनभने अहिले हाम्रो गठबन्धन भइसक्यो । त्यो तपाईंहरुलाई थाहा हुनुपर्ने कुरा हो । अरु केही ?

– गठबन्धनबाट बाहिर बसेर मन्त्री हुन पाइँदैन भन्ने तपाईंको कुरा हो ?

गठबन्धनबाट बाहिर बस्नै पर्दैन । हामी गठबन्धनबाट इलेक्सनमा गएको मान्छे । हामी कसरी बाहिर बस्ने ? त्योमाथि मलाई त अलिकति… तपाईंलाई त थाहा हुनुपर्ने कुरा हो ।

– त्यसो भए मुख्यमन्त्रीका लागि आउनुभएको हो ?

अब हेर्नुस्, मुख्यमन्त्री दिएर पनि मलाई काम छैन । त्यसका लागि एक्सपिरियन्स चाहिन्छ । मुख्यमन्त्री भनेको घरमा बसेर म यो बनाउँछु, त्यो बनाउँछु भनेर हुँदैन । मुख्यमन्त्रीको एक्सपिरियन्स मसित छैन पनि । तपाईंहरु सबैले दिनुहुन्छ भने पनि मलाई चाहिँदैन ।

– तपाईंको प्रवेशले नेकपा एकीकृत समाजवादीलाई के फाइदा हुन्छ ?

उहाँहरुलाई फाइदा भनेको मेरो एक सीटले भइसक्यो जस्तो लाग्छ । अरु केही ?

– तपाईंले गठबन्धन सरकारमा मालदार मन्त्रालय प्राप्त गर्ने चर्चा छ नि ?

तपाईंले भनेको एकदम राम्रो कुरा हो । तर, तपाईंलाई यो कुरा थाहा हुनुपर्छ, मलाई गठबन्धनले खेलकुद मन्त्रालय दिएको होइन । गठबन्धनलाई मैले दिएको हो । मलाई एमालेले खेलकुद मन्त्रालय दिएको हो । तपाईंहरुलाई थाहा हुनुपर्ने कुरा हो यो । अरु केही छ ?

– तपाईंले मन्त्री पद केही होइन भन्नुभयो । त्यसो हो भने किन मन्त्री पदमा बसिरहनुभएको त ?

अब हेर्नुस्, मैले मन्त्री छोड्छु भनेर त्यसरी पाउँदिनँ । तपाईंहरुले एउटा के कुरा बुझ्नुपर्छ भने मन्त्री भनेको कसैले दिएर पाउने कुरा होइन । दिएर पाउने भए सबैजना मन्त्री नै हुन्थे होला । तपाईंहरु पनि मन्त्री बन्नुहुन्थ्यो होला । मन्त्री बन्न त धेरै दुःख गर्नुपर्छ । अहिले मैले भनेर तपाईंहरुले त्यो फिल गर्न सक्नुहुन्न ।

– भनेपछि, मन्त्रीमा दाबी गर्नुहुन्छ कि गर्नुहुन्न त ?

मैले दाबी गर्ने होइन, मेरो पार्टीको सभापतिले गर्ने हो । अरु केही ?

– अब पार्टी प्रवेशपछि समाजवादी पार्टीलाई के सिकाउनुहुन्छ ? समाजवादीका शीर्ष नेताबाट के सिक्नुहुन्छ ?

समाजवादी पार्टीबाट मैले के सिक्नुपर्छ र ? सबै कुरा मलाई नै आउँछ नि ! म स्कुल आएको हो र ? स्कुलको स्टुडेन्ट हो म ?

– तपाईं मन्त्री भएर काम चाहिं के गर्नुभयो ?

त्यो मैले अलरेडी २५ चोटि भनिसक्या छु । घरीघरी भनिराख्नु हुँदैन । बरु तपाईंलाई म टेपमै ल्याएर दिन्छु । सानोसानो कुरा घरीघरी गरिराख्दा के-के न गर्‍याजस्तो हुन्छ । मैले १७ महिनामा २४६ वटा ग्राउन्ड कम्प्लिट गरें । अरु केही ?

मन्त्रीको सवालमा पार्टीका अध्यक्षले गर्नुहुन्छ भन्नुभयो । तपाईं र पार्टीका अध्यक्षबीच कुन मन्त्रालय पाउने सहमति भएको छ ?

हामी ज्योतिषी होइन । कुन पाउँछ भन्न हुँदैन । हामी हात हेर्ने मान्छे होइन । त्यही भएर यस्तो कुरा अहिले गर्नु हुँदैन । अरु केही ?

– मन्त्री नपाए पार्टी छोड्ने हो कि ?

राजनीति नै त्यागिदिन्छु बरु । यो पार्टीभन्दा अरुमा जानुपर्‍यो भने म राजनीति छाडिदिन्छु ।

– तपाईंको राजनीतिको अन्तिम पार्टी यही हो ?

अन्तिम पार्टीमात्र होइन, यही ताल हो भने देशै छोड्नुपर्ने हालत भइसक्यो । तपाईंहरुले बुझ्नुपर्ने कुरा हो यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर