ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद विघटन गर्नुभयो : देउवा (भिडिओ) – Nepal Press

ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद विघटन गर्नुभयो : देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान राम्रो भएकाले त्यसको संरक्षण गर्नुपर्ने बताएका छन् ।

ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले पटक-पटक संविधानविरोधी कदम चालेको बताएका हुन् ।

उनले भने, ‘लोकतन्त्रलाई स्थायी गर्नुछ । ओलीजीले जनताले चुनेको संसद दुई पटक भंग गर्नुभयो । हामीले संविधानमा भंग गर्न नपाउने लेखेका थियौं । उहाँले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद विघटन गर्नुभयो । बिहान ६/७ बजे लगेको भए पनि हुन्थ्यो । उहाँको हातमा परेपछि के के गर्नुहुन्छ हुन्छ नि !’

आफूहरुले गठबन्धन गरेर संसद बचाएको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले गठबन्धनको पक्षमा एकजुट भएर लाग्न आग्रह गरे । आफ्नो नेतृत्वमा सरकार बनेपछि देशलाई समृद्ध बनाउने अभियानमा लागेकोसमेत उनले बताए ।

‘देश महत्वपूर्ण मोडमा छ । नेपालमा कोभिडले गर्दा हाहाकार भएको थियो । अहिले डेंगुले सताएको छ । श्रीलंकाको जस्तो हालत हुन्छ भन्नेहरु पनि थिए, होस् भन्ने पनि थिए । तर, हामीले नेपाललाई सम्पन्न देश बनाउने बाटोमा लाँदैछौं । हामी अहिले सुधारको बाटोमा छौं’, देउवाले भने ।

उनले नेपाल केही वर्षमा सम्पन्न मुलुक बन्ने दाबी गरे । ‘भारतले किनेन भने हाम्रो बिजुली बिक्दैन । चीनलाई बेच्न सक्दैनौं’, प्रधानमन्त्री देउवाले भने, ‘तर, भारतले किन्ने सहमति गरेको छ । हामी सम्पन्न मुलुक बन्ने बाटोमा छौं ।’


प्रतिक्रिया

One thought on “ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद विघटन गर्नुभयो : देउवा (भिडिओ)

  1. तिमीले ज्ञानेन्द्रलाई सुम्पिएको नि ? आफूलाई हेर्नुनपर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर