महोत्तरीमा लोसपासहित गठबन्धनको निर्वाचन परिचालन कमिटी गठन – Nepal Press

महोत्तरीमा लोसपासहित गठबन्धनको निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । सत्ता गठबन्धनले महोत्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) समेटेर मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सुरक्षाको हिसाबले अति संवेदनशील महोत्तरीमा गठबन्धनले निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

१४३ वटा मतदानस्थल रहेको महोत्तरी भारतसँग खुला सीमाका कारणले अति संवेदनशील मानिन्छ । गठबन्धनमा रहेका दलहरुको जिल्ला निर्वाचन परिचालन कमिटीको संयुक्त बैठकले संयुक्त संघीय र प्रदेश चुनाव परिचालन कमिटी वडा तहसम्म गठन गर्ने निर्णय गरेको कांग्रेस जिल्ला सभापति नगेश्वर यादवले बताए ।

निर्वाचन प्रचारप्रसारको लागि प्रत्येक वडामा कार्यालय निर्माण गर्ने उनले बताए । निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले यहाँ करिब एक हजार पाँच सय नेपाल प्रहरी र दुई हजार आठ सय म्यादी प्रहरी परिचालन गरेको छ । सशस्त्र प्रहरी र नेपाली सेना आवश्यकतानुसार परिचालित हुने प्रशासनले जनाएको छ ।

महोत्तरीमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभातर्फ ८ वटा निर्वाचन क्षेत्र रहेका छन् । यहाँ ३ लाख ९७ हजार ३० मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर