‘जनयुद्ध’का कमाण्डरहरु बने एमालेका उम्मेदवार, पूर्वमाओवादी क-कसले पाए टिकट ? (सूचीसहित) – Nepal Press

‘जनयुद्ध’का कमाण्डरहरु बने एमालेका उम्मेदवार, पूर्वमाओवादी क-कसले पाए टिकट ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहले एमालेभित्र पूर्वमाओवादीको विजोग रहेको दाबी गरे पनि टिकट वितरणमा भने सो समूहले उच्च प्राथमिकता पाएको छ ।

प्रभु साहले दाबी गरेजस्तो पूर्वमाओवादीको उपस्थिति कमजोर र विजोग देखिएको छैन, बरु एमालेका पुराना नेता–कार्यकर्तालाई होल्ड गरेर नेतृत्वले माओवादीबाट एमाले बनेकाहरुलाई प्रत्यक्ष र समानुपातिक दुवैतिर उल्लेख्य संख्यामा उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभाका १६५ सीटमध्ये १४२ ठाउँमा उम्मेदवार उठाएको एमालेले तत्कालीन नेकपा विभाजनका बेला प्रचण्डलाई छाडेर केपी ओलीलाई साथ दिएका ११ जनालाई टिकट दिएकोमा दुईजनाले नमानेपछि अहिले ९ जना मैदानमा छन् ।

एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई चुनाव लड्न आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए । टिकट पाएका प्रभु साहले एमाले छाडेर सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् रौतहट ३ मा । साहले एमालेलाई धोखा दिएर षड्यन्त्रमा सामेल भएको आरोप छ ।

पूर्वमाओवादी समूहबाट एमालेमा प्रतिनिधिसभातर्फ सचिव टोपबहादुर रायमाझीले अर्घाखाँची र लेखराज भट्टले कैलाली ४ मा टिकट पाएका छन् । त्यस्तै ज्वालाकुमारी साहले बारा ३ मा टिकट पाएकी छन् । साह प्रदेश सांसद पद छाडेर एमालेमा लागेकी थिइन् ।

त्यस्तै गाउँपालिका अध्यक्ष छाडेर एमालेमा लागेका जालिम मियाँले पर्सा ४ मा टिकट पाउँदा गौरीशंकर चौधरीले कैलाली ३ र झपट बोहराले अछाम १ मा टिकट पाएका छन् । त्यस्तै मनोजजंग थापाले सिन्धुली २ मा टिकट पाएका छन् । सोही क्षेत्रमा पूर्वमाओवादी रामकुमार पौडेल पनि प्रदेशसभा सदस्यमा उम्मेदवार छन् ।

माओवादी जनयुद्धको उद्गमस्थल मानिने सिन्धुलीमा मात्र होइन रोल्पा र रुकुममा पनि पूर्वमाओवादीले नै एमालेबाट टिकट पाएका छन् । रोल्पामा वर्षमान पुनसँग उनकै मातहतमा जनयुद्ध लडेका फौजी कमाण्डर पूर्णबहादुर बुढामगर एमालेबाट उम्मेदवार छन् ।

त्यस्तै रुकुम पूर्वमा पूर्वमाओवादी कमाण्डर कैलाशकुमार मल्ल उम्मेदवार छन् । प्रतिनिधिसभाको समानुपातिकमा लीलादेवी भण्डारी, नैनकला थापा, टंक आङ्बोहाङ, नाम्गले शेर्पालगायतका पूर्वमाओवादी नेताहरुले टिकट पाउँदा प्रदेशमा पनि प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार पाएका छन् ।

प्रदेश सांसद पद त्यागेर एमाले बनेका ज्वालाकुमारी साह, कुन्दन कुशवाह, रामचन्द्र मण्डललगायत सबैले टिकट पाएकामा कुशवाह प्रभु साहसँगै स्वतन्त्र उम्मेदवार बनेका छन् ।

बागमतीमा पूर्वमाओवादीबाट प्रदेशतर्फ सिन्धुलीमा रामकुमार पौडेल, चितवनमा प्रकाश खनाल (शैलेस), सिन्धुपाल्चोकमा अमानसिंह तामाङ, रामप्रसाद अमगाई (काठमाडौं १) अन्तर्गत प्रदेशसभामा टिकट पाएका छन् ।

त्यस्तै गण्डकीमा बागलुङका प्रकाश घर्ती माओवादीबाट विद्रोह गरेर उम्मेदवारी दिएकोमा एमालेले समर्थन गरेको छ । लुम्बिनीमा प्रदेश सांसद पद त्यागेर एमाले बनेका रुपन्देहीका दधिराम न्यौपाने, गुल्मीका दिनेश पन्थीलगायतले टिकट पाएका छन् ।

कर्णालीका निवर्तमान ठम्मर विष्ट, धर्म रेग्मी र छक्कबहादुर लामा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् ।

गण्डकी प्रदेशको समानुपातिकमा लीलबहादुर थापा एक नम्बरमा समेटिएका छन् । पार्टीमा पूर्वमाओवादी भन्ने धार अब नरहेको र साबिक नेकपा विभाजनपछि एमाले रोजेका माओवादीहरुले उल्लेख्य अवसर र जिम्मेवारी पाएको थापाले बताए ।


प्रतिक्रिया

One thought on “‘जनयुद्ध’का कमाण्डरहरु बने एमालेका उम्मेदवार, पूर्वमाओवादी क-कसले पाए टिकट ? (सूचीसहित)

  1. रुकुम पुर्वको कैलास मल्ल माओवादी होइन दलाल हो । गाउँमा आफ्नै साथिको हत्या गरेपछि फरार भएको थियो पछि जनयुद्धकै साहारा लिएर माओवादी भएको भन्दै काठमाडौ बसेर पढेको थियो । यो ब्यकति अहिले शैक्षिक दलाली गर्छ । रुकुम पुर्वमा र काठमाडौमा बोर्डिङ संचालन गरेको छ । त्यहाँ विभिन्न व्यक्तिलाई बाहिरि जिल्लाबाट लिएर काम लगाउदै पैसा नदिएर धपाउदै गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *