दुईजनाको फिर्ता भएपछि दलित समुदायबाट प्रत्यक्षतर्फ ३ जना मात्रै उम्मेदवार – Nepal Press

दुईजनाको फिर्ता भएपछि दलित समुदायबाट प्रत्यक्षतर्फ ३ जना मात्रै उम्मेदवार

‘मुख्य निर्वाचन अधिकृतले फोन गरेर फिर्ता भएको जानकारी गराए’

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दलित समुदायबाट ३ जना मात्रै उम्मेदवार बनेका छन् ।

प्रमुख राजनीतिक दलबाट उम्मेदवारी दिएका ५ जना दलित उम्मेदवारमध्ये २ जनाको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गराएपछि दलित उम्मेदवार ३ जनामा समिति भएको हो । नेपाली काँग्रेसका दलित समुदायका एक्ला उम्मेदवार मानबहादुर नेपाली र नेकपा एमालेका दलित समुदायका दुई उम्मेदवारमध्ये एक जना चक्रप्रसाद स्नेहीको उम्मेदवारी पार्टीले नै फिर्ता लिएको हो ।

प्रत्यक्षतर्फ उम्मेदवारी फिर्ता लिने दिन बुधबार प्रमुख दुई दलबाट एक/एक जनाले उम्मेदवारी फिर्ता लिएसँगै दलित समुदायका उम्मेदवारको संख्या ३ मात्रै कायम रहेको हो ।

नेकपा एमालेले दुई जनालाई दलित समुदायबाट उम्मेदवार बनाउँदा रुपन्देही १ बाट पार्टी सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको छ भने अर्का चक्रप्रसाद स्नेहीलाई प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड्नेगरी डडेल्धुराबाट उम्मेदवार बनाएपनि अन्तिममा आएर पार्टीले नै फिर्ता गरेको छ । स्नेही यस अघि राष्ट्रिय सभाको सदस्य थिए ।

‘मुख्य निर्वाचन अधिकृतले फोन गरेर फिर्ता भएको जानकारी गराए’

नेकपा एमालेबाट डडेल्धुरामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका चक्रप्रसाद स्नेहीले सुरुमा उम्मेदवारी दिने इच्छा नराखेको भए पनि पार्टीकै दबाबमा उम्मेदवारी दर्ता गराएका थिए । तर, अहिले आएर फेरी पार्टीकै दबाबमा फिर्ता लिएपछि पार्टीसँग स्नेही रुष्ट भएका छन् ।

उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘मैले पहिले पनि उम्मेदवारी दिने खासै चासो देखाएको थिएन । पार्टीले नै मलाई एकल सिफारिस गरेर उम्मेदवारी दर्ता गराउन बाध्य बनायो । अहिले फेरी पार्टी महासचिव शंकर पोखरेल र अर्का उपमहासचिवले पनि फोन गरेर फिर्ता लिन दबाब दिनुभएको थियो । पहिले उम्मेदवारी दिन बाध्य पार्नुपर्ने र अहिले फिर्ता गराउनुपर्ने बाध्यता के हो त्यसो कारण देखाए मात्र फिर्ता लिन्छु भनेको थिए । खै कस्तो प्रणाली रहेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै निवेदन दिएर फिर्ता गराएको मुख्य निर्वाचन अधिकृतले मलाई फोन गरेर जानकारी गराउनुभयो । मैले त फिर्ता लिएको थिएन ।’

आफू निर्वाचन लडेको क्षेत्रमा विपी काँग्रेससँग गठबन्धन गर्नका लागि गरिएको भन्ने बुझेको स्नेहीले बताए । उनले फेरी पनि गुनासो गर्दै भने, ‘प्रक्रिया पुर्याउनका लागि मात्र दिन लगाइएको रहेछ । पार्टीले नै मलाई प्रयोग गरेर नाटकिय रुप देखायो ।’

नेपाली काँग्रेसबाट रुकुम पश्चिममा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका मानबहादुर नेपाली आफुले भन्दा पनि पार्टीले नै उम्मेदवारी फिर्ता लिएको नेपाल प्रेससँग बताए । उनले भने, ‘अहिलेका अर्थमन्त्री जनार्दन शर्मासँग स्वच्छ प्रतिस्पधा गरेर निर्वाचन लड्ने भन्ने थियो । तर, के भयो खै कुन्नी मैले उम्मेदवारी दिएको सुन्ने बित्तिकै मलाई फोन गरेर काठमाडौं बोलाइयो । आज पनि काठमाडौंमा नै छु । फिर्ता लिनै पर्छ । नलिने हो भने कारवाही भोग्न तयार हुनुपर्यो भन्ने गरेर दबाव आयो । पार्टीले नै उम्मेदवारी दिएको हुनाले मैले केहि नभने पनि पार्टीले नै उम्मेदवारी फिर्ता लियो ।’

दलित समुदायलाई प्रत्यक्षमा निर्वाचन लड्नै नै नदिने राजनीतिक दलको रणनीति जस्तो भएको उनको दुखेसो छ । उनले भने, ‘के गर्ने दलितले त समानुपातिकको बन्दसूचीमा मात्र जानुपर्ने अवस्था भयो । पार्टीको केन्द्रीय सदस्य पनि निर्वाचन लडेर जितेको मान्छे प्रत्यक्षमा निर्वाचन लड्न दिइएन भने अरु दलित समुदायका नेतृत्वको अवस्था झन कस्तो होला ?’

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बाट २/२ जना तथा नेपाली काँग्रेसबाट एक जनाले मात्रै आगामी मंसिर ८ गतेका लागि तय भएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचनमा सहभागि हुनका लागि पार्टीकै तर्फबाट उम्मेदवारी दिएका थिए ।

जसमा नेकपा (माओवादी केन्द्र)बाट युवा तथा खेलकुदमन्त्रीसमेत रहेका स्थायी कमिटि सदस्य महेश्वरजंग गहतराजले बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट र स्थायी कमिटि सदस्य अञ्जना विशंखेले काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १० बाट उम्मेदवारी दिएकी थिईन । उनीहरु दुवै जनाको उम्मेदवारी अन्तिमसम्म कायम भएको छ । यद्यपी विशंखेको उम्मेदवारी पार्टीको आधिकारीक भए पनि सत्ता गठबन्धन दलको भागभण्डा भन्दा बाहिरको उम्मेदवारी हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *