बसमा छेउमै बसेर आएका व्यक्तिले बेहोस बनाएर लुटे गहना, अनुसन्धानमा प्रहरीले चासो नदिएको गुनासो – Nepal Press

बसमा छेउमै बसेर आएका व्यक्तिले बेहोस बनाएर लुटे गहना, अनुसन्धानमा प्रहरीले चासो नदिएको गुनासो

काठमाडौं । बसको सीटमा छेउमै बसेर आएका व्यक्तिबाट काठमाडौं नयाँ बसपार्कमा लुटिएको भन्दै एक महिला प्रहरीकहाँ पुगेकी छिन् । लमजुङको बेँसिशहरबाट रात्रिबसमा वैशाख १४ गते बिहान काठमाडौं आएकी ४७ वर्षीया महिलाले केही गरगहना लुटिएकोले संलग्नलाई खोजी गरी कारबाहीको माग गरेकी हुन् ।

वैशाख १३ गते साँझ बा.न. ५ ख-११०५ नम्बरको बस चढेर ती महिला काठमाडौं आएकी थिइन् । बसपार्कमा ओर्लिएपछि ती व्यक्तिले आफूलाई आँधीखोला पञ्चासे होटलमा लगेर सबै लगाएको गरगहना र १० हजार रूपैयाँ लुटेको प्रहरी प्रभाग नयाँ बसपार्कमा दिइएको उजुरीमा महिलाले उल्लेख गरेकी छन् ।

महिलाले बसमा आउँदा बाटामा ती व्यक्तिले बिस्कुट खान दिएको र बिस्कुट खाएपछि आफूलाई चक्कर लागेजस्तो महसुस भएको बयान दिएकी छिन् ।

उनका अनुसार ती व्यक्तिले साढे दुई तोलाको सिक्री, दुई तोला बराबरको दुईवटा औँठी, एक तोलाको तिलहरी, झुम्कालगायतका गहना लुटेका छन् । तर, सीसीटीभी फुटेज प्रमाणस्वरूप दिँदा पनि प्रहरीले दाेषी पक्राउ गर्न चासो नदिएको पीडितको गुनासो छ । बेहोस अवस्थामा भेटिएकी पीडित महिलालाई तत्कालै अस्पताल पुर्‍याइएको थियो । प्रहरीले घटनाको अनुसन्धान र आरोपी पक्राउमा चासो नदिएको गुनासो गरेका छन् ।

‘प्रहरी जति पनि समय लाग्न सक्ने हामीलाई अनुसन्धान गर्दैछौं मात्र भन्छ’, ती महिलाका भाइले भने ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख दीपक केसीले आफू कार्यालय हाजिर भएको दुई दिनमात्र भएकाले घटनाबारे बुझ्न बाँकी रहेको बताए ।

‘यसभन्दा अगाडि के भइरहेको छ बुझेर घटनाबारे तत्कालै अनुसन्धान बढाउँछु’, इन्स्पेक्टर केसीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर