गुल्मी २ मा कांग्रेसका भुसाल फिर्ता नभएपछि रामकुमारी झाँक्रीलाई संकट, गोकर्ण विष्टलाई सहज – Nepal Press

गुल्मी २ मा कांग्रेसका भुसाल फिर्ता नभएपछि रामकुमारी झाँक्रीलाई संकट, गोकर्ण विष्टलाई सहज

रुपन्देही । नेकपा एसका सचिव रामकुमारी झाँक्रीका लागि गठबन्धन दलमा भएको सहमतिअनुसार गुल्मीको क्षेत्र नम्वर २ मा कांग्रेस नेता दामोदर भुसालले दर्ता गरेको उम्मेदवारी कायम रहेको छ । कांग्रेस नेताहरुले फिर्ता लिन दवाव दिए पनि बुधबार समयसम्म डाक्टर भुसालले फिर्ता नलिएपछि नेपाली कांग्रेसको भरोसामा उम्मेदवार बनेकी रामकुमारी झाँक्रीलाई संकट परेको छ ।

गठबन्धनकी आधिकारिक उम्मेदवार रामकुमारी झाँक्रीविरुद्ध स्वतन्त्र भन्दै बागी उम्मेदवारी दिएका भुसाललाई नेपाली कांग्रेस गुल्मीले आज दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता गर्न अल्टिमेटम दिएको थियो । त्यस अवधिमा उनले उम्मेदवारी नदिए स्वतः कारबाही गर्ने चेतावानीलाई बेवास्ता गर्दै उनले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनकी उम्मेदवार झाँक्रीलाई धक्का लाग्ने र एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई सहज भएको स्थानीय नेताहरुले आंकलन गरेका छन् ।

प्रदेश योजना आयो लुम्बिनीका पूर्व सदस्य रहेका भुसालले आफूले पार्टीको संगठन जोगाउन र गठबन्धन संस्कृतिको अन्त्य गर्न उम्मेदवारी दिएकाले निर्वाचनमा परीक्षण हुने नेपाल प्रेसलाई बताए । पार्टी संस्थापन समूहका प्रभावशाली नेता भुसालले उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसलाई समेत संकट परेको छ ।

नेता भुसालले जनाधार नै नभएको पार्टीका नेतालाई नेपाली कांग्रेसका समर्थकले भोट दिएर जिताउन अब बाध्यता नरहेको र आफ्नो जित हुने दावी गरे ।

निर्वाचन अधिकृत शिबबहादुर थापाका अनुसार गठबन्धनका अर्का बागी उम्मेदवार नरेन्द्र बहादुर अर्यालले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेस नेता अर्यालले उम्मेदवारी फिर्ता लिएपछि ख प्रदेशमा भने केही सहज भएको छ । त्यसैगरी, माओवादी केन्द्रबाट उम्मेदवारी दिएका दुई जनामध्ये एक जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । क्षेत्र नम्वर १ प्रदेश ख मा गठबन्धनका आधिकारिक उम्मेदवार धनेन्द्र कार्कीविरुद्ध माओवादी केन्द्र प्रदेश कमिटी सचिव रामचन्द्र कँडेलले उमेदवारी दिएका थिए । तर उनले उम्मेदवारी फिर्ता गरेका छन् । क्षेत्र नम्वर २ को क प्रदेशबाट गठबन्धनका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्र मुसिकोट नगरकमिटी अध्यक्ष युवराज खरेलले फिर्ता लिएनन् ।

प्रमुख निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार गुल्मीका दुई क्षेत्रमा गरी चार जनाले उमेदवारी फिर्ता लिएका छन् । जिल्लामा कुल ६६ जनाले उमेदवारी दिएका थिए । स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतभारका आधारमा एमाले ३१२५३, कांग्रेस २९८२१, माओवादी १८४१, एस ६५८, राप्रपा १०१ रहेका छन् ।

स्थानीय तहको निर्वाचनपछि नेकपा एसका जिल्लाको मुख्य नेतृत्व नै एमालेमा प्रवेश गरेको छ भने माओवादी तथा अन्य पार्टीबाट समेत एमालेमा प्रवेश गरेकाले स्थानीय तहको मतभार फेरिएको दावी एमाले नेताहरुले गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर