बहालवाला र पूर्वअर्थमन्त्रीसँग को काे भिड्दैछन् चुनाव ? – Nepal Press

बहालवाला र पूर्वअर्थमन्त्रीसँग को काे भिड्दैछन् चुनाव ?

काठमाडौं । सबै राजनीतिक दलका नेतादेखि कार्यकर्तासम्मलाई अहिले चुनाव लागिसकेको छ । उम्मेदवारी मनोनयन भइसकेको छ ।

मंसिर ४ मा हुने संघीय चुनावमा एकजना बहालवाला र ४ जना पूर्वअर्थमन्त्री चुनावी दौडमा छन् । बहालवाला अर्थमन्त्री जनार्दन शर्मासँगै पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, वर्षमान पुन, विष्णु पौडेल र ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यको लागि मैदानमा रहेका छन् ।

अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्रीहरु पुन र कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । पूर्वअर्थमन्त्रीद्वय पाण्डे र पौडेल एमालेबाट जनता समाजवादी तथा राप्रपाको समर्थनमा चुनावी मैदानमा छन् ।

बहालवाला र पूर्व अर्थमन्त्रीहरुको चुनावी प्रतिस्पर्धामा अर्थविद्समेत रहेका छन् ।

अर्थमन्त्री शर्माविरुद्ध नन्दराम

बहालवाला अर्थमन्त्री शर्मासँग एमालेका नन्दराम देवकोटा चुनावी मैदानमा छन् । दुवै जनाले रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

अर्थमन्त्री शर्माले यसभन्दा पहिले पनि सोही क्षेत्रबाट चुनाव जितेका थिए । यो ठाउँलाई माओवादीको पकड क्षेत्रको रुपमा लिने गरिन्छ ।

पूर्वअर्थमन्त्री पाण्डेविरुद्ध अर्थशास्त्री डा. पौडेल

चितवन क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेसबाट अर्थशास्त्री डा. विश्व पौडेलबीच कडा टक्कर हुने निश्चित भएको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका डा. पौडेल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

उपाध्यक्ष पाण्डेको क्षेत्रमा जेएन थपलियाले पनि टिकट पाउने चर्चा थियो । तर, एमालेले पाण्डेलाई नै उम्मेदवार बनाएको हो । चितवन क्षेत्र नम्बर १ मा डा. पौडेलसँगै योजना आयोगकै पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पनि टिकट पाउने चर्चा थियो । तर, पौडेलले बाजी मारे ।
पूर्वअर्थमन्त्री पाण्डे र अर्थशास्त्री डा. पौडेल दुबै उम्मेदवार अर्थतन्त्र बुझेका व्यक्ति हुन् ।

पूर्वअर्थमन्त्री पुनविरुद्ध पूर्ण बुढामगर

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनसँग नेकपा एमालेका पूर्ण बुढामगरले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि २०७४ सालको निर्वाचनमा पनि पुनले रोल्पाबाटै चुनाव जितेका थिए ।

गत स्थानीय चुनावमा रोल्पाको १० वटा पालिकामध्ये माओवादीले ७ वटा पालिकाको प्रमुख जितेको थियो । एमालेले एउटा पालिका जितेको थियो ।

पूर्वअर्थमन्त्री कार्कीविरुद्ध कुसियैत

बहालवाला सञ्चार एवं सूचना प्रविधिमन्त्री एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनीसँग एमालेका जगदीशप्रसाद कुसियैत संघीय चुनावमा भिड्दैछन् । प्रतिनिधिसभा सदस्यको लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा कार्की र कुसियैत भिड्ने तय भएको हो ।

कार्कीले अघिल्लो निर्वाचन पनि सोही निर्वाचन क्षेत्रबाट जितेका थिए ।

पूर्वअर्थमन्त्री पौडेललाई हाइसञ्चो !

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रासद पौडेल र सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजु गुरुङबीच प्रतिस्पर्धा हुने तय थियो । तर, गुरुङको उम्मेदवारी खारेज भएसँगै पौडेललाई सहज देखिएको छ ।

गुरुङको उम्मेदवारी खारेजको विरुद्ध सत्ता गठबन्धनले निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापनपत्र दिएको छ । उनी आफैं पनि अदालत जाने तयारीमा छन् ।

निर्वाचन आयोगले बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरेको थियो । नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको थियो ।

बहालवाला र पूर्वअर्थमन्त्रीहरु उठेका क्षेत्रका अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु पनि प्रतिस्पर्धामा रहेका छन् । तर, स्थानीय निर्वाचन र गठबन्धनका दृष्टिले सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच कडा टक्कर पर्ने निश्चित छ ।

पूर्वअर्थमन्त्री डा. रामशण महत र डा. युवाराज खतिवडा भने चुनावी मैदानमा छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *