इच्छाकामना गाउँपालिकामा ‘कोल्ड ड्रिङ्क्स’ निषेध, पाहुनालाई महीले स्वागत – Nepal Press

इच्छाकामना गाउँपालिकामा ‘कोल्ड ड्रिङ्क्स’ निषेध, पाहुनालाई महीले स्वागत

चितवन । अहिले उखुम गर्मीको समय छ । अझ चितवनका बासिन्दाले त ४१ डिग्री तापक्रम खेपिरहनुपरेको छ । यस्तो उखरमाउलो गर्मी पाहुना आइपुगे तपाइँ के ले स्वागत गर्नुहुन्छ  ?

नेपाली समुदायको संस्कार अनुसार चिया वा चिसो सोध्नुहुन्छ । गर्मीको समय चिसो पेय पदार्थ सामान्य स्वागतको संस्कार हो । चिसो भन्ने बित्तिकै आम नेपाली समुदायमा बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका कोकाकोला लगायतका पेय पदार्थ मस्तिष्कमा आइहाल्छ ।

तर, चितवनको एक स्थानीय पालिकाले आफ्नो कार्यालयबाट चिसो भन्ने बित्तिकै बजारमा पाइने केमिकल मिसिएका पेय पदार्थ हुन्छन् भन्ने भ्रम हटाउन पहल गरिरहेको छ ।

चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाले आफ्नै कार्यालयबाट पाहुनाको स्वागतमा मही दिने संस्कारको थालनी गरेर चिसो पेय पदार्थ भनेको मही हो भन्ने स्थापित गर्ने अभियान थालेको हो ।

‘हामी भर्खरै निर्वाचित भएर आउँदा कार्यालय सहयोगी कोकको बोतल लिएर स्वागत गर्न आइपुग्नु हुन्थ्यो, इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले नेपाल प्रेससँग भनिन्, — मलाई कोक खाने संस्कार मन परेन र कोक हटाउँ भन्ने छलफल गरेँ ।

तत्कालीन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत भुषालले पनि उनको प्रस्तावमा सहमती जनाए । उपप्रमुख सिलवाल भन्छिन्, ‘अनि सल्लाह भयो, बरु मही पिउने व्यवस्था गरौँ ।

उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सल्लाह अध्यक्ष दानबहादुर गुरुङलाई पनि काइदा लाग्यो । उनले भने, — केमिल नहालिएको पोषण पनि पाइने र स्थानीय दुग्ध उत्पादक किसानको जीवनसँग पनि जोडिएको भएपछि सबैले सहमती जनायौँ ।

मौखिक सहमतीलाई उनीहरुले कार्यपालिका बैठकमा नै लिपिबद्ध गरे । उपाध्यक्ष सिलवालका अनुसार पालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र कोक निषेध गरेको हो ।

करिब वर्षदिनअघि कार्यपालिका बैठकको निर्णयपछि पालिकाको सानो चिया पकाउने भान्छामा भएको फ्रिजमा केही लिटर दही हरेक दिन ल्याएर राख्न थालियो । त्यसयता इच्छाकामना गाउँपालिकाको नयाँ पाहुना पुगे संस्कार गर्ने पहिलो पेय मही हुन थालेको हो ।

अहिले कार्यक्रम हुँदा र नहुँदा कहिले पाँच त कहिले दश लिटरसम्म मही प्रयोग हुने गरेको छ । अपुग हुने जस्तो भयो भने पातलो वा बाक्लो पनि बनाउन मिल्ने भएकोले खर्च पनि किफायती हुने अध्यक्ष दानबहादुर गुरुङले बताए ।

इच्छाकामना गाउँपालिका चितवनको पहाडी क्षेत्र पर्दछ । पहाडी क्षेत्र र चेपाङ लगायतका पूर्ण कृषिमा आधारित जातीको बसोबास भएकोले पालिकाले सकेसम्म स्थानीय किसानहरुलाई सहयोग पुग्ने कार्यक्रमहरु गर्दै आएको छ । त्यही अनुसार हराउन लागेको मही संस्कृतिलाई पुर्नताजगी गराउन लागेको उपाध्यक्ष सिलवालले बताइन् ।

‘अहिले पालिकामा भएका जुनसुकै कार्यक्रम वा पाहुनाको स्वागतमा पनि कोक ल्याएर दिने गर्दैन । कार्यक्रमहरुमा एकपटक मही दिएकै हुन्छौँ, उपाध्यक्ष सिलवालले थपिन्, — ‘चिसोको नाममा हुने खर्च किसानको हातमा बजारबाट पुग्छ भन्ने पनि हाम्रो विश्वास छ । अहिले बजारबाट दही ल्याउने भएपनि विस्तारै दुध ल्याएर पालिकामा नै जमाउने तयारी गरिएको पनि उनले बताइन् ।

इच्छाकामना गाउँपालिकाले अहिले सुन्तला उत्पादनमा अनुदान दिने, बाख्राको बृद्धिको लागि अनुदान तथा खोर सुधार कार्यक्रम लगायत गर्दै आएको छ । पालिकाका अध्यक्ष गुरुङले सुन्तलालाई राष्ट्रिय फल घोषणा, पालिकामा ५० हजारबाट १ लाखसम्म बाख्रा पुर्याउने, गाई तथा पशुपालनमा किसानको सहभागिता बढाउने कार्यक्रम पनि गरिरहेको बताए । पालिकाले ससाना पहलमार्फत कृषिजन्य उपजको बजार तथा व्यवस्थापनमा पनि सहयोग गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *