गृहमन्त्री खाणविरुद्ध उठेका इम्दादले फिर्ता लिए उम्मेदवारी – Nepal Press

गृहमन्त्री खाणविरुद्ध उठेका इम्दादले फिर्ता लिए उम्मेदवारी

प्रदेश सभा (क) मा उम्मेदवारी दिएका फैजले पनि फिर्ता लिए

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका इम्दाद हुँसेन खा र रुपन्देही ३ प्रदेश सभा (क)मा माओवादीकै फैज अहमद खाँले उम्मेदवारी फिर्ता लिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि आफूहरूले उम्मेदवारी फिर्ता लिएको प्रदेशसभा उम्मेदवार फैज अहमद खानले जानकारी दिए । उनीहरूले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन र प्रतिगमनकारी उम्मेदवारलाई पराजित गर्न आफूहरूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

‘हामीले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी गराउन र प्रतिगमनकारी उम्मेदवारलाई हराउनन उम्मेदवारी फिर्ता लिएका छौँ,’ फैज अहमदले भने ।

प्रतिनिधिसभामा उम्मेदवारी दिएका इम्दादले गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र गठबन्धनलाई विजयी बनाउन उम्मेदवारी फिर्ता लिएको बताए ।

निर्वाचन कार्यालयले पनि फैज र इम्दादको उम्मेदवारी फिर्ता भएको जानकारी दिएको छ । फैज र इम्दाद नाताले बाबु छोरा हुन् । फैज माओवादीका सिद्धार्थनगर नगरपालिकाका इञ्चार्जसमेत हुन् । फैजले आफू उम्मेदवार हुँदाभन्दा बढी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन खटिनेसमेत बताए । ‘म जति म उम्मेद्वार हुँदा प्रचार प्रसारमा खटिन्थे, त्यति गठबन्धनका उम्मेद्वारलाई जिताउन खटिनेछु,’ फैजले भने ।

रुपन्देही प्रतिनिधि सभा क्षेत्र नं ३ मा गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण उम्मेदवार हुन् । रुपन्देही क्षेत्र नं ३ प्रदेशसभा (क)मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे र रुपन्देही क्षेत्र नं ३ प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर