कम्युनिष्ट पार्टी विचलनका सात कारण – Nepal Press

कम्युनिष्ट पार्टी विचलनका सात कारण

मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा अंगीकार गर्ने राजनैतिक पार्टीलाई वास्तवमा कम्युनिष्ट पार्टी भनिन्छ । जसले सधैं सर्वहारा श्रमजीवी वर्गको पक्षमा वकालतमात्र गर्दैन, आफ्ना हरेक नीति तथा कार्यक्रमलाई लेलिनवादी संगठनात्मक सिद्धान्तका आधारमा जनवादी केन्द्रीयताको विधिले प्राप्त राज्यसत्ताको प्रयोग गरेर न्यायपूर्ण, शोषणरहित समतामूलक समाज निर्माण गर्ने उद्देश्य लिएको हुन्छ । संसारका जुनसुकै कम्युनिष्ट पार्टी निर्माणको महत्वपूर्ण आधार विचार र संगठन हो । वर्गीय पक्षधरता, क्रान्तिकारी चरित्र, सामाजिक परिवर्तनको उद्देश्य र समाजवादको लक्ष्य उसको मूलमन्त्र हो ।

आफ्नो जनजीविका धान्न अहोरात्र श्रम गर्ने श्रमजीवीहरु (शारीरिक र बौद्धिक दुवै खालका)को प्रतिनिधित्व नै सच्चा कम्युनिष्ट पार्टीको सर्वस्वीकार्य नेतृत्व हो । वैज्ञानिक समाजवाद र साम्यवाद कम्युनिष्ट पार्टीहरुको साध्य हो । साध्य प्राप्तिका लागि साधनको आवश्यकता पर्छ । कम्युनिष्ट पार्टीको साध्य प्राप्त गर्ने साधन भनेकै संगठन हो । तसर्थ हरेक कम्युनिष्ट पार्टीले आफ्नो उद्देश्य प्राप्तिका लागि निश्चित विधि र प्रक्रियामा आधारित संगठनात्मक ढाँचा तयार पारेको हुन्छ । कम्युनिष्ट पार्टीले आफ्नो संगठन सञ्चालन निश्चित सिद्धान्तका आधारमा गर्दछ । जसलाई कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्तका रुपमा परिभाषित गरिएको छ ।

कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त भनेको लेनिनवादी संगठनात्मक सिद्धान्त नै हो । यसलाई जनवादी केन्द्रीयता सिद्धान्त भनेर पनि बुभिन्छ । निर्णय प्रक्रियामा जनवाद र कार्यान्वयनमा केन्द्रीयता प्रभावी हुनु नै जनवादी केन्द्रीयताको व्यवहारिक प्रयोग हो । सार पक्ष र रुप पक्ष यो सिद्धान्तका भुल्नै नहुने दुई पक्ष हुन् । मार्क्सवादी विश्व दृष्टिकोण, श्रमजीवी वर्ग पक्षधरता र समाजको आमूल परिवर्तन गर्ने मान्यता यो सिद्धान्तको सार पक्ष हो । कम्युनिष्ट पार्टीको वर्गाधार श्रमजीवी वर्ग जो आफै सचेत नभएको हुँदा त्यसलाई माथिबाट योजनाबद्ध ढंगले संगठित र सचेत गराउनु पर्दछ भन्ने उद्देश्यका साथ अगाडि सारिएको सार पक्षलाई विचारधारात्मक सार पक्ष भनिन्छ ।

वैज्ञानिक समाजवाद र साम्यवाद कम्युनिष्ट पार्टीहरुको साध्य हो । साध्य प्राप्तिका लागि साधनको आवश्यकता पर्छ । कम्युनिष्ट पार्टीको साध्य प्राप्त गर्ने साधन भनेकै संगठन हो ।

तर, नेपालको सन्दर्भमा मार्क्सवाद लेनिनवादको भूगोल र परिवेशअनुसारको सिर्जनात्मक प्रयोगलाई आफ्नो सैद्धान्तिक आधार मान्ने कम्युनिष्ट पार्टीहरु विस्तारै पूँजीवाद, अवसरवाद र व्यक्तिवादको चंगुलमा फस्दै गएको आभास हरेक कम्युनिष्ट पार्टीको सदस्य भन्ने नागरिकले गर्न थालिसकेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीहरुले पछिल्लो पटक संगठन निर्माण, परिचालन र प्राप्त राज्यसत्ता सञ्चालनमा देखाएको व्यवहारगत प्रवृत्तिले कसरी कम्युनिष्ट आन्दोलनमा विचलन पैदा भएको छ भन्ने चर्चा यहाँ गर्न खोजिएको छ । अभाव, दमन, अन्याय, अत्याचार, शोषण र उत्पीडन नै कम्युनिष्ट कार्यकर्ता उत्पत्तिको आधारभूमि मानिए पनि पछिल्लो समय कम्युनिष्ट पार्टीभित्र देखिएका संगठनात्मक विकृतिका कारण सत्ता, स्वार्थ, अवसर, नेतृत्वबाट जिम्मेवारी विभाजन र अवसर प्रदानमा देखिने नातावाद, कृपावादकै कारण यी पार्टीभित्र संगठनात्मक अराजकता र विचलन पैदा हुँदै गएको देखिन्छ ।

विश्व आधुनिक समाजवादको यात्रामा अग्रसर भएका वेला दुईतिहाइभन्दा बढीको आधारभूमिका रुपमा चिनिने नेपाली कम्युनिष्ट आन्दोलन कसरी विभाजन, फुट, सांगठनिक विचलनमा पुग्दै गएको छ भन्ने व्यवहारिक कारक तत्वहरुका बारेमा यहाँ चर्चा गर्न खोजिएको हो । लामो समय एक कम्युनिष्ट कार्यकर्ता हुनुका नाताले संगठन निर्माणमा मात्रै नभएर कार्यकर्ता एवम् मतदातास्तरमा बहुमत देखिने नेपालका कम्युनिष्ट पार्टीहरु निर्वाचन (स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा) मा कसरी पराजित हुन्छन् ? भनेर गरिएको अनुभवगत तत्थ्यलाई ५ बुँदामा समेट्ने प्रयास गरिएको छ ।

क) संगठनमा नीतिगत बहसको कमी

सर्वहारा वर्गका आदर्श पुरुष कमरेड लेनिनको संगठनात्मक सिद्धान्तलाई आत्मसात गरेका नेपालका कम्युनिष्ट पार्टी पछिल्लो समय आफ्नो सैद्धान्तिक धरातलको लिक छोड्दै पूँजीवाद र अवसरवादको ललिपपका शिकार हुँदै गएका छन् । वैचारिक खुराकका माध्यमबाट नीतिगत बहस गर्दै संगठनमा प्राप्त बहुमतका आधारले हरेक तहका संगठनमा आफ्नो धरातल (भौगोलिक र वर्गीय) को योजना निर्माण गर्ने नेपालका प्रायः कम्युनिष्ट पार्टीहरुका संगठन (इकाईदेखि स्थायी कमिटीसम्म) मा सैद्धान्तिक र वैचारिक बहसमा निकै कमी आएको देखिन्छ । फलस्वरुप जननेता कमरेड मदनकुमार भण्डारीले प्रतिवाद गरेको जनताको बहुदलीय जनवादकै वैचारिक ताँगुलोमा नेपालको कम्युनिष्ट आन्दोलन तर्दै आएको छ ।

नेपालको सन्दर्भमा मार्क्सवाद लेनिनवादको भूगोल र परिवेशअनुसारको सिर्जनात्मक प्रयोगलाई आफ्नो सैद्धान्तिक आधार मान्ने कम्युनिष्ट पार्टीहरु विस्तारै पूँजीवाद, अवसरवाद र व्यक्तिवादको चंगुलमा फस्दै गएको आभास हरेक कम्युनिष्ट पार्टीको सदस्य भन्ने नागरिकले गर्न थालिसकेका छन् ।

सशस्त्र युद्धबाट साम्यवाद र समाजवाद ल्याउने धाउन्यामा हुमिएको एकीकृत माओवादी केन्द्रले सुरु गरेको प्रचण्डपथको नीतिगत मार्गबाट २१ औं शताब्दीको जनवाद हुँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत मार्क्सवाद लेलिनवाद (एमाले) सँगको एकीकरणपछि जनताको बहुदलीय जनवादमा भएको विलय होस् वा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाको वैज्ञानिक समाजवादका नाममा अघि सारिएको विचार नै किन नहोस् सबैको अवस्था हेर्दा नेपालका कम्युनिष्ट पार्टीभित्र देखिएको नीतिगत बहसमा आएको शून्यतालाई सहजै अनुमान लगाउन सकिन्छ ।

यतिमात्र होइन नेपाली कम्युनिष्ट आन्दोलनको अगुवाइ गरेको नेकपा एमालेले पनि देशमा आएको राजनीतिक व्यवस्थामा परिवर्तन, विकासका आयामहरुमा देखिएको फरकपन, समाज रुपान्तरणको बदलिँदो स्वरुप, सूचना प्रविधिले ल्याएको क्रान्ति, पूँजीवादको बढ्दो हस्तक्षेप, हरेक व्यक्ति (मतदाता, नेतृत्व र कार्यकर्ता) मा फैलिँदो अवसरवादलगायतका समस्यालाई चिर्दै जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई समयसापेक्ष परिमार्जित गर्न नसक्नु पनि पार्टीभित्र कमैमात्र हुने वैचारिक र नीतिगत बहसको कमी हो भन्नलाई कुनै संकोच मान्नुपर्दैन ।

पछिल्ला वर्षहरुमा कम्युनिष्ट पार्टीका सांगठनिक बैठकहरु जिम्मेवारी विभाजन, पार्टीभित्र प्राप्त हुने अवसरको लेनदेनमा मात्रै सीमित रहने गरेका देखिन्छन् । पार्टीले लिएको नीतिगत मार्गमा देखिएका सकारात्मक तथा सुधारात्मक पक्षका बारेमा बहस नभई जनवादी केन्द्रीयताका नाममा केन्द्रको निर्णयमाथि मातहतका कमिटीमा बहसविनै अक्षरसः कार्यान्वयन हुनु पनि कम्युनिष्ट पार्टीमा देखिएको नीतिगत बहसमा देखिएको शून्यताको सबैभन्दा बलियो प्रमाण हो । वडादेखि गाउँ/नगरपालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रमा आयोजना हुने पार्टीका अधिवेशन/महाधिवेशनमार्फत पार्टीले लिने महत्वपूर्ण वैचारिक र सैद्धान्तिक निर्णयमा समेत केन्द्रीय नेतृत्वको निर्णयमा अन्धभक्त समर्थन गर्नु पनि नेपाली कम्युनिष्ट पार्टीमा देखिएको नीतिगत बहसमा छाएको सन्नाटा हो ।

सूचना तथा प्रविधिमा आएको अनपेक्षित परिवर्तनका कारण कम्युनिष्ट पार्टीमा हरेक सदस्य परिवर्तित अवस्थाका बारेमा जानकार हुनु तर आफू आवद्ध भएको कम्युनिष्ट पार्टीका संगठनले अपेक्षित विषयमा बहस नगरी शास्त्रीय निर्णयमा मात्रै केन्द्रित रहनुका कारण हरेक दिन कम्युनिष्टका कार्यकर्तामा नेपाली कम्युनिष्ट पार्टीप्रति पैदा हुने असन्तुष्टिको लेभल बढ्दै गएको छ । पार्टीभित्र व्यापक रुपमा वैचारिक छलफल, बहस र प्रशिक्षण सञ्चालन गरी वैचारिक र सांगठनिक प्रतिस्पर्धा र पहलकदमीबाट श्रेष्ठता हासिल गर्न सक्नु कम्युनिष्ट पार्टीको सर्वस्वीकार्य विधि हो । तर, पछिल्लो समय नेपालका कम्युनिष्ट पार्टीहरुले यो विधिको रटान गरे पनि कार्यान्वयनमा फितलोपनलाई बढावा दिएका देखिन्छन् ।

कम्युनिष्ट पार्टीभित्र देखिएका संगठनात्मक विकृतिका कारण सत्ता, स्वार्थ, अवसर, नेतृत्वबाट जिम्मेवारी विभाजन र अवसर प्रदानमा देखिने नातावाद, कृपावादकै कारण यी पार्टीभित्र संगठनात्मक अराजकता र विचलन पैदा हुँदै गएको देखिन्छ ।

ख) कार्यकर्ताभन्दा शिष्य (अनुयायी) निर्माणमा जोड

नेपाली कम्युनिष्ट आन्दोलनमा पैदा भएको अर्को सबैभन्दा ठूलो समस्या नेतृत्वले अनुयायी निर्माणमा ध्यान दिनु पनि हो । विचार र सिद्धान्तलाई आफ्नो पार्टीको आत्मा मान्ने नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले पछिल्लो समय मातहतका हरेक कमिटीमा आफ्ना अनुयायी तयार पार्ने प्रवृत्ति दिन दुगुना र रात चौगुनाका हिसाबले बढ्दै गएको छ । पार्टी कमिटीलाई संगठनको सर्वोत्तम हितमा लगाउनेभन्दा पनि आफ्नो पक्षमा वकालत गर्ने कार्यकर्ता निर्माणमा पार्टी नेतृत्व केन्द्रित हुँदै जानु नेपाली कम्युनिष्ट आन्दोलनभित्र देखिएको डरलाग्दो प्रवृत्ति हो । यसले निश्चित नेतृत्वलाई कमिटीको प्रमुख पदमा रहिरहन र पार्टीका नाममा आउने अवसर हत्याउन सहज होला । तर, त्यसबाट सर्वहारा वर्गको अधिनायकत्व स्थापनामार्फत समाजवादको लक्ष्यको नीतिलाई समर्थन गरेर पार्टीको सदस्यता लिएका आम कार्यकर्ताका लागि समग्र कम्युनिष्ट आन्दोलनप्रति नै विकर्षणको कारकको भूमिका खेलेको छ ।

पार्टीका सबै तहका कमिटीमा नेतृत्वले आफ्नो बहुमत पुर्‍याउन आफू पक्षीय कार्यकर्ता, आफन्त, नातागोतालाई जिम्मेवारीमा ल्याउनु, आफ्नो आलोचना गर्नेलाई सांगठनिक घेराबन्दी गरिनु, पार्टीमा दिएको योगदान, अग्रसरता, पार्टी सदस्यताभन्दा विभिन्न विषयमा निकटतालाई आधार मानेर कम्युनिष्ट पार्टीको सांगठनिक मापदण्डलाई कुल्चिँदै अवसर र जिम्मेवारी वितरण गरिनु यो प्रवृत्तिमा देखिएका प्रमुख समस्या हुन् भने पुस्तान्तरण र नेतृत्व हस्तान्तरण गर्ने कम्युनिष्ट पार्टीको नीतिविपरीत लामो समयदेखि निर्विकल्प केन्द्रीय नेतृत्वका रुपमा छाइरहने (एकीकृत माओवादी केन्द्रको) नेतृत्व, सांगठनिक विरासत भएको पार्टी निश्चित क्षेत्रमा मात्रै खुम्चिँदै जानु (नेपाल मजदुर किसान पार्टीको) पर्ने अवस्था, प्रमुख पदकै लागि पटक-पटक पार्टीमा विभाजन आउनु (नेकपा एमाले, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आदि) यसका परिणाम हुन् । यो प्रवृत्तिले श्रमजीवी र सर्वहारा वर्गको प्रतिनिधित्व गर्दै समाजवादी राज्य व्यवस्थामार्फत साम्यवादको परिकल्पनामा आफ्नो सुन्दर भविष्य देखेका आम कम्युनिष्ट पार्टीका कार्यकर्ता र मतदातालाई दलविहीनको अवस्थामा पुग्न बाध्य हुनुपर्ने, कानूनले व्यवस्था नगरेको ‘नो भोट’ को बाटो अवलम्बन गर्न बाध्य बनाएका परिणाम २०७९ साल वैशाख ३० गतेको निर्वाचनको मत परिणामले पनि देखाएको छ ।

ग) व्यक्तिगत स्वार्थले गुट निर्माण

कम्युनिष्ट पार्टीभित्रको आलोचनात्मक चेतको विकास गर्न सुरु भएको दुईलाइन संघर्षको नीतिलाई प्रयोगको सन्दर्भमा नेपालको वाम आन्दोलनले पछिल्लो समय गलत तरिकाले प्रयोग गरेको देखिन्छ । पार्टी स्थापनाको सात दशक लामो अवधिमा दर्जनौं पटक विभाजनको शिकार भनेको कम्युनिष्ट आन्दोलन नेतृत्वको निहित स्वार्थ र अवसरका कारण सबै भन्दा तल्लो सेल कमिटीदेखि स्थायी कमिटी आन्तरिक रुपमा विभिन्न गुटमा विभक्त भएका उदारहणबाट कुनै जिल्ला वा प्रदेश अछुत छैन ।

नेतृत्व लिन समूह निर्माण स्वाभाविक भए पनि संविधानअनुसार आवधिक रुपमा हुने निर्वाचनमा टिकट हत्याउन, पार्टीभित्र सृजित अवसर वितरण र पार्टीको सांगठनिक जिम्मेवारी विभाजनका सन्दर्भमा समेत अस्वस्थ रुपमा हुने गुट निर्माणको अवस्था नेपाली कम्युनिष्ट आन्दोलनको खिलका रुपमा गडिएर रहेको छ । पार्टी कमिटीभित्रको छलफलमा हुने फरक मतलाई आम कार्यकर्ता र सांगठनिक जीवनमा आफू पक्षीय गुटका रुपमा विकसित गर्दै सांगठनिक अंगका रुपमा बढावा दिनु नेपाली कम्युनिष्ट पार्टीका नेतृत्वमा देखिएको सबैभन्दा ठूलो समस्या हो ।

नेपालका कम्युनिष्ट पार्टी पछिल्लो समय आफ्नो सैद्धान्तिक धरातलको लिक छोड्दै पूँजीवाद र अवसरवादको ललिपपका शिकार हुँदै गएका छन् । वैचारिक खुराकका माध्यमबाट नीतिगत बहस गर्दै संगठनमा प्राप्त बहुमतका आधारले हरेक तहका संगठनमा आफ्नो धरातल (भौगोलिक र वर्गीय) को योजना निर्माण गर्ने नेपालका प्रायः कम्युनिष्ट पार्टीहरुका संगठन (इकाईदेखि स्थायी कमिटीसम्म) मा सैद्धान्तिक र वैचारिक बहसमा निकै कमी आएको देखिन्छ ।

पार्टीको नीति र विचारमा भन्दा आफू अनुकूल नेतृत्वको सेरोफेरोमा घुम्ने प्रचलनले यो समस्यालाई बल्झाउने काममा थप मलजल गरेको देखिन्छ । कुनै समस्या आए तत्काल समीक्षा बस्नु, आलोचना र आत्मालोचनाबाट पैदा हुने निचोडको कार्यान्वयनमा एकताबद्ध भएर लाग्नुपर्ने अवस्थामा कम्युनिष्टहरुको परम्परागत नीति र विधिविपरीत सामान्य विषयमा हुने विमतिमै दुईलाइन संघर्षको उपमा दिएर हुने अमर्यादित गुटबन्दीको शिकार हुनुको परिणाम नेपाली कम्युनिष्ट पार्टीप्रति पछिल्लो समय बढ्दो विकर्षण पनि हो । यसलाई समयमै समालोचनात्मक समीक्षासहितको कार्यगत प्रर्णालीमा सुधार ल्याउन सकिएन भने कार्यकर्ताविनाका कम्युनिष्ट पार्टीको संख्यामा वृद्धि होला । तर, मतदाता र कार्यकर्ताले विकल्पको मार्गमा जानुपर्ने बाध्यतालाई नकार्न सकिन्न ।

घ) संगठनमा नातावाद र कृपावादको प्रश्रय

राज्यका नीतिगत तहमा भएको बेमेलकै कारण लोकतान्त्रिक आन्दोलनले नेपालको निर्वाचन प्रणाली र अन्य सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ । जसको प्रमुख श्रेय नेकपा एमालेलगायतका नेपालका कम्युनिष्ट पार्टीहरुलाई जान्छ नै । संविधानतः व्यवस्था भएको समानुपातिक सहभागिताको सिद्धान्तलाई राज्यका हरेक निकाय र स्वयं राजनीतिक दलहरुका आन्तरिक जीवनमा समेत लागू हुने गरेको छ । तर, राज्य र पार्टीको नीतिगत तहमा पहुँच नभएका वर्ग, लिङ्ग, जातजाति र क्षेत्रको न्यायोचित सहभागिताका नाममा पार्टीकै पहुँचमा रहेका व्यक्तिहरु र तिनका नातागोताहरुमा मात्रै अवसर जानुले पनि नेपाली राजनीतिमा देखिएको अर्को डलाग्दो प्रवृत्तिका रुपमा देखिएको छ ।

आफूलाई लोकतन्त्रका हिमायती ठान्ने राजनीतिक दलहरुकाे समावेशीका नाममा ‘तरमारा’ पोस्ने प्रवृत्ति पछिल्ला वर्षहरुमा नेपालका कम्युनिष्ट पार्टीभित्र पनि समस्याका रुपमा देखापरेको छ । पार्टीको संगठन निर्माणका क्रममा हरेक बस्ती र गल्लीहरुमा खट्ने, पार्टीलाई हरेक निर्वाचनमा विजयी बनाउन अहोरात्र खट्ने नेता र कार्यकर्तालाई भन्दा नेतृत्वको वरिपरि घुम्ने, नेतृत्वलाई मिथ्या र भ्रमित सूचना दिएकै आधारमा आफू निकटस्थहरुलाई राज्य तथा पार्टीका निकायमा जिम्मेवारी सुम्पिने गरेकै कारण नेपालका कम्युनिष्ट पार्टीहरुको कार्याशैलीप्रति सार्वजनिक रुपमा टीकाटिप्पणी हुन थालेको छ ।

ङ) सांगठनिक अराजकतामा वृद्धि

हरेक संगठनमा निर्णय कार्यान्वयनपश्चात भएका हरेक गतिविधिको समीक्षा र नयाँ योजना निर्माण गरिनु कम्युनिष्ट पार्टीको साश्वत नियम हो । तर, पछिल्लो समय नेपालका कम्युनिष्ट पार्टीहरुमा नेतृत्वले आलोचना पञ्छाउने नाममा बैठकको समीक्षासमेत हुन छोडेको छ । यतिमात्र होइन समीक्षा पार्टीभित्र विभिन्न समयमा कम्युनिष्ट पार्टीको आचरण विपरीतका काम गरे, निर्वाचनका क्रममा पार्टीलाई सहयोग नगरेको खण्डमा हुने कारबाही र स्पष्टीकरणसमेत हुन छोडेपछि पार्टीभित्रको दण्डहीनता निकै मौलाउँदै गएको छ । यसले नेता र कार्यकर्तालाई राजनीति, सामाजिक, सांस्कृतिक मामिला रुपमा गरिने अराजकताका गतिविधि पनि बढ्दै गएका छन् ।

विचार र सिद्धान्तलाई आफ्नो पार्टीको आत्मा मान्ने नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले पछिल्लो समय मातहतका हरेक कमिटीमा आफ्ना अनुयायी तयार पार्ने प्रवृत्ति दिन दुगुना र रात चौगुनाका हिसाबले बढ्दै गएको छ ।

अर्को अर्थमा भन्ने हो भने नेपालका कम्युनिष्ट पार्टीभित्र नेता र कार्यकर्तामा जसले जे गरे पनि हुन्छ भन्ने मान्यताको विकास भएको छ । यसले कम्युनिष्ट पार्टीका संगठन कम्युनिष्ट सिद्धान्तभन्दा अन्य लोकतान्त्रिक दलहरुका व्यवहारभन्दा कुनै फरक नदेखिएपछि नेपाली समाजमा कम्युनिष्टप्रतिको आलोचनामा बढावा हुँदै गएको छ ।

कार्ल मार्क्स, एंगेल्स, लेलिन र मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेका नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो व्यवहार, शैलीमा कम्युनिष्टपन ल्याउने र समाजमा कम्युनिष्ट पार्टीका कार्यकर्ताप्रतिको परम्परागत छापलाई कायम गराउँदै चुस्त, दुरुस्त संगठन निर्माणमा अघि बढाउने हो भने संगठनभित्रको अराजकताको अन्त्य गर्न सांगठनिक दण्डहीनताको अन्त्यविना सम्भव देखिँदैन ।

च) पार्टी सदस्यता वितरण/नवीकरणमा ठेकेदारी

नेपालका कम्युनिष्ट पार्टीले दाबी गरेका आफ्ना पार्टी सदस्यभन्दा विभिन्न चरणमा हुने निर्वाचनमा प्राप्त गर्ने मत संख्या निकै कम हुन्छ । यो क्रम २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि देखियो । जुन कम्युनिष्ट पार्टीको आधारस्तम्भ मानिने पार्टी सदस्यता वितरणमै ठूलो प्रश्नचिन्ह खडा भएकोमात्रै छैन, व्यक्तिगत आचरण, शैलीको अध्ययनपश्चात वितरण कम्युनिष्ट पार्टीको सदस्यता कतै कागजमा मात्रै त सीमित छैनन् ? पार्टीको नेतृत्व हत्याउन फर्जी पार्टी सदस्य वितरणको रोगले कतै नेपालका कम्युनिष्ट पार्टीहरु पनि थलिँदै गएका त होइनन् ? भन्ने गम्भीर प्रश्नहरु नेपालका प्रायः कम्युनिष्ट पार्टीहरुका सामु अनुत्तरित छन् । यसले स्वरुपमा पार्टी संगठन ठूलो देखिए पनि सार रुपमा कम्युनिष्ट पार्टीको संगठन कमजोर बन्दै गएको तथ्यलाई नकार्न सकिँदैन ।

पार्टी सदस्यहरुको मासिक लेवीबाट आफ्नो संगठन सञ्चालन गर्ने कम्युनिष्ट पार्टीहरुको नियमित लेवी उठाउने काममा समेत पछिल्लो समय नेपालका हरेक कम्युनिष्ट पार्टीहरुमा ठेकेदारी प्रथा सुरु भएको देखिन्छ । वर्षौंसम्म पार्टी सदस्यता नवीकरणमा ध्यान नदिने तर पार्टीको जिल्ला अधिवेशन होस् वा केन्द्रीय महाधिवेशनको सम्मुखमा हतारले पार्टीका सबै सदस्यहरुको नवीकरण गर्न सम्बधित जिल्लाले गर्ने ठेकेदारी प्रथाले पनि पार्टीको सांगठनिक गतिविधिमा पार्टी सदस्यहरुको सामिप्यता टाढिँदै गएको देखिन्छ ।

निर्वाचनको समयमा वा अधिवेशनको समयमा मात्र पार्टी सदस्यहरुको खोजी हुने नत्र पार्टी सदस्यहरुलाई कुनै जानकारी नगराउने प्रवृत्तिको परिणाम अन्य राजनीतिक शक्ति र कम्युनिष्ट पार्टीबीचको फरकपन आम नागरिकले गर्न सकिरहेका छैनन् । यसले विस्तारै कम्युनिष्ट पार्टीहरुको सांगठनिक जीवनमा खुम्चिनुपर्ने अवस्थाको सृजना हुँदै गएको आँकलन स्वयम् राजनीतिक दलहरुले नै गर्न चुक्नुहुँदैन ।

आफूलाई लोकतन्त्रका हिमायती ठान्ने राजनीतिक दलहरुकाे समावेशीका नाममा ‘तरमारा’ पोस्ने प्रवृत्ति पछिल्ला वर्षहरुमा नेपालका कम्युनिष्ट पार्टीभित्र पनि समस्याका रुपमा देखापरेको छ ।

छ) स्वार्थ केन्द्रित कार्यकर्ताको बाहुलता

पछिल्लो समय नेपालका कम्युनिष्ट पार्टीका नेतामात्रै होइन कार्यकर्ताको व्यवहारमा समेत निकै फरकपन आएको छ । इमानदारी, सादा जीवन उच्च विचार, संगठनप्रति बफादारीको परिचय अहिलेका कम्युनिष्ट पार्टीका कार्यकर्तामा विरलै प्राप्त हुने गरेको छ । यसको उल्टो, कमिसन, घुसखोरी, संगठन निर्माणभन्दा आफू पक्षीय नेता निर्माणमा केन्द्रित, पार्टीको पद र सत्ताको स्वार्थमा केन्द्रित कार्यकर्ताको बाहुल्यकै कारण पछिल्लो समय कम्युनिष्ट पार्टीका नेताहरुले सानो समूहमा भए पनि गुट निर्माण गर्ने, पार्टी विभाजन गरेरै भए पनि प्रमुख पदै चाहिने अवस्थाको सृजना भएको देखिन्छ । आफूलाई विलासी जीवन बिताउने अवस्था नभए नेतालाई स्वीकार गर्न नसक्ने, पार्टी सदस्यताको लेवी तिर्नुभन्दा उल्टै पार्टीको नाममा संकलित रकममा आँखा लगाउने प्रवृत्तिकै कारण मतदाताबाट कम्युनिष्ट पार्टीप्रतिको आकर्षण विस्तारै घटेजस्तो देखिन थालेको छ ।

गाउँमा नेताभन्दा कार्यकर्ता बढी चिन्ने मतदाताले दिन दुगुना रात चौगुनाका हिसाबले अनेकौं धन्धा गरेका कम्युनिष्ट पार्टीका कार्यकर्ताले स्रोतविनाको आर्थिक उपार्जन गर्ने तर गाउँमा कम्युनिष्ट पार्टीले लगाएको नारा र विनियोजित बजेटको तुलनामा देखिने प्रगति नभएकै कारण पनि नेपाली कांग्रेसलगायतका दल र कम्युनिष्टबीच भिन्नता नदेख्नेको बाहुल्य बढ्न थालेको छ । अझ भन्ने हो भने यस खालका कार्यकर्ताले आफ्नो व्यवस्थापन नहुञ्जेल पार्टीको खाँटी कार्यकर्ताका रुपमा परिचित गराउने र व्यवस्थापनपछि गाउँबाट विलय हुने प्रवृत्ति पनि नेपाली कम्युनिष्ट आन्दोलनमा आएको विचलनको डरलाग्दो कारण हो । नेताले आफूअघि उपस्थित हुने कार्यकर्तालाई मात्रै केन्द्रित गर्ने कार्यकर्ता मतदाताबाट कटौती हुँदै जाने स्थितिले हरेक मतदातासम्मको सञ्जाल विस्तारमा माहिर मानिने कम्युनिष्ट पार्टी संगठन निर्माणका हिसाबले खुम्चिँदै जानु परेको वास्तविकतालाई कसैले नकार्न सक्दैन ।

इमानदारी, सादा जीवन उच्च विचार, संगठनप्रति बफादारीको परिचय अहिलेका कम्युनिष्ट पार्टीका कार्यकर्तामा विरलै प्राप्त हुने गरेको छ ।

अन्तमा

विश्वको कुनै पनि वैचारिक शक्तिलाई भौतिक शक्तिमा रूपान्तरण गर्ने सबैभन्दा महत्वपूर्ण साधन नै संगठन हो । जुन राजनीतिक दलहरुका लागि आत्माभन्दा अत्युक्ति नहोला । कुनै पनि राजनीतिक दलले निर्माण गरेको संगठनका स्वरूप र आकारप्रकारमा भिन्नता हुनसक्छ । तर, संगठनको अल्पकालीन एवम् दीर्घकालीन कार्यशैली नै वर्गीय न्याय, सर्वहारा वर्गको अधिनायकत्व र जनजीविकाका मुद्दालाई बिर्सेर किमार्थ जीवित रहन सक्दैन । पार्टीका विचार, नीति र निर्णय बुझ्न र बुझाउनमा नेतादेखि कार्यकर्तामा एकरुपता हुँदै संगठनमा चुस्तता र निर्णय कार्यान्वयनमा एकरुपता पार्टी निर्माणको महत्वपूर्ण कडी हो ।

पार्टीको कार्यदिशालाई कार्यान्वयन गर्न अनुकूल हुने गरी सांगठनिक संरचना निर्माण कम्युनिष्ट पार्टीको आधार स्तम्भ हो । सांगठनिक चुस्तता र छरितोपनाले निर्णय प्रक्रिया र कार्यान्वयनमा सहज हुने यथार्थकै परिणाम विश्वभरका कम्युनिष्ट पार्टीहरु हरेक निर्णय प्रक्रियामा लिड गरेका इतिहासलाई आत्मसात गर्ने हो भने वास्तवमै कम्युनिष्ट पार्टीप्रतिको नागरिक आकर्षण थप उँचो हुँदै जाने देखिन्छ । नेपाली कम्युनिष्ट आन्दोनमा देखिएका उल्लेखित प्रवृत्तिगत समस्याको निराकरण गर्दै संगठन निर्माणमा नीतिगत रुपमा अवलम्बन गरेका विधि र पद्धतिलाई कार्यान्वयनमा जोड दिने हो भने विकासोन्मुख देश नेपाल कम्युनिष्ट पार्टीहरुका लागि अझै केही शताब्दी उर्बर भूमिका रुपमा रहनेमा कुनै शंका छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *