देउवालाई ओलीको प्रश्न- प्रधानन्यायाधीशलाई ‘हाउस एरेस्ट’ गरेर खानेपानीको लाइनसमेत काट्न मिल्छ ? (भिडिओ) – Nepal Press

देउवालाई ओलीको प्रश्न- प्रधानन्यायाधीशलाई ‘हाउस एरेस्ट’ गरेर खानेपानीको लाइनसमेत काट्न मिल्छ ? (भिडिओ)

‘गठबन्धनका सभामुखले महाअभियोग ७ महिनासम्म लुकाए, अदालतलाई कब्जामा लिइएको छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीशलाई विनापक्राउ पुर्जी नजरबन्द गरिएको तथा सुरक्षाकर्मी खोसिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन् ।

पूर्वआर्इजीपी सर्वेन्द्र खनाललगायतलाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले गठबन्धनले कम्फरटेबल मिडिया र कथित नागरिक आन्दोलनको समेत समर्थनमा देशमा स्वेच्छाचारी शासन चलाउन थालेको आरोप लगाए । अकुपाइ बालुवाटार भनेर एमालेको पालामा कराउनेहरु प्रायोजित थिए भन्ने अहिले प्रस्ट भएको ओलीको दाबी छ ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘स्वतन्त्र न्यायपालिका आज गठबन्धनको आज्ञापालक बनाइएको छ । प्रधानन्यायाधीशलाई गैरकानूनी थुनामा राख्ने, हाउस एरेस्टमा राख्ने सोच्न सकिन्छ ? प्रधानन्यायाधीशकी छोरीलाई पक्राउ गरेर दिनभर चौकीमा राखेर आतंकित पारिएको छ । आज एकजनालाई पर्‍यो भनेर बसियो भने यो समस्या भोलि सबै नागरिकमाथि पर्नेछ ।’

उनले प्रधानन्यायाधीशको सुरक्षा गृहमन्त्रीको तजबिजबाट हटाइएको भन्दै यसबारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । गठबन्धनकै सभामुखले ७ महिनासम्म महाअभियोग थन्क्याएर राखेको र अहिले संसदको समितिले त्यसलाई अस्वीकार गरेपछि प्रधानन्यायाधीशलाई हाउस एरेस्ट गरिएको ओलीको आरोप छ ।

अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ, कुन कानूनअन्तर्गत प्रधानन्यायाधीशलाई विनापक्राउ पुर्जी नजबरन्दमा राखिएको हो ? तपाईंले लगाएको अभियोग संसदले वास्ता गरेन, गठबन्धनको सभामुखले गरेन । ७ महिनासम्म वास्ता नगर्ने, अनि अहिले झोक्किएर सेक्युरिटी खोस्ने, भान्से खोस्ने, इन्टरनेट काट्ने, पानीको पाइप काट्ने, के के गर्न जानुभयो ? लोकतन्त्रको नाम लिन सरम लाग्दैन ?’

पूर्वप्रधानमन्त्री ओलीले अदालतलाई आफूले भनेबमोजिम फैसला नगरे चोलेन्द्र शमशेर जबराको हालत बनाइदिने धम्की दिइरहेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर