माधव नेपालको दुर्दशा ! – Nepal Press

माधव नेपालको दुर्दशा !

लामो समयसम्म कम्युनिष्ट आन्दोलनमा होमिएका माधव नेपाल जीवनको उत्तरार्द्धमा भने दुर्दशामा फसेका छन् । कम्युनिष्ट आन्दोलनको स्थापनाकालदेखि नै आरोहअवरोहका बीचमा रहेका माधव नेपाल कम्युनिष्ट आन्दोलनका एउटा अथक योद्धा हुन् । जसको नाम नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा सधैं रहिरहनेछ । यति धेरै इतिहास बोकेको नेता आज कम्युनिष्ट आन्दोलनको पुनःस्थापनामा लागेका छन् कि विर्सजनमा ? यो विषयमा घोत्लिन आवश्यक छैन ।

२००९ सालमा जन्मिएका माधव नेपालले पार्टी र सरकारको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । २०४८ सालमै राष्ट्रियसभा सदस्य बनेर काम गरेका माधव नेपाल अहिले प्रतिनिधिसभाका सदस्य हुन् । २०४७ सालको राजाको प्रत्यक्ष शासनकालमा संविधान मस्यौदा आयोग सदस्यमा रहेर काम गरेका माधव कम्युनिष्ट आन्दोलनका अगुवा हुन् । २०५६ सालमा भएको चुनावमा रौतहटको १ र ४ नम्बर क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट विजयी माधव २०५५ देखि २०५८ सालसम्म विपक्षी दलका नेतासमेत बने ।

२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीका झक्कुप्रसाद सुवेदीसँग काठमाडौं २ नम्बर क्षेत्रबाट चुनावमा पराजय भोगे पनि २०६४ देखि २०६९ सालसम्म संविधानसभा सदस्य बनेर संविधान निर्माणमा योगदान गरे । १३,८५८ मत ल्याएर झक्कुप्रसाद सुवेदी विजयी हुँदा माधव नेपालले १२,३२५ मत ल्याएर पराजय भोगेका थिए ।

२०५१ देखि २०५२ सालसम्म उपप्रधानमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्री बनेका माधव २०४९ देखि २०६४ सालसम्म निरन्तर रुपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सर्वोच्च पद महासचिव भए । यही महासचिवको लामो समयमा माधवले नेकपा एमालेलाई तेस्रो पार्टीमा पुर्‍याए । स्पष्ट अडान र प्रस्ट अडान नभएका माधव शाही सरकारका पालामा प्रतिगमनका विरुद्ध देशमा आन्दोलन भइरहँदा प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गए । यही घटनाक्रमबाट उनको चौतफी विरोध भयो । देशकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी एमाले २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तेस्रो भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिए । निर्वाचनमा पराजित माधव संविधानसभा सदस्यमा मनोनीत भए । यही समयमा २०६७ देखि २०६९ सालसम्म देशकै सर्वोच्च पद प्रधानमन्त्रीमा आसिन हुन पुगे माधव ।

नेकपा (एमाले) कै कारण माधव नेपाल बनेका थिए । तर, अहिले एमाले उनकै सबैभन्दा ठूलो दुश्मन भएको छ । त्यसैले माधव अहिले एमाले हराउ अभियानमा जुटेका छन् ।

२०६४ सालमा निर्वाचन हारेर पनि संविधानसभा सदस्य हुँदै प्रधानमन्त्री बन्नु माधव नेपालको क्रियाशीलताको उपज हो । पार्टी नेतृत्वमा रहँदा गरेका काम-कारबाही विवादित बने तापनि राजनैतिक पार्टी र नेकपा एमालेका कारण माधव नेपाल पटक-पटक मन्त्री र प्रधानमन्त्रीसम्म बन्न पुगे । नेकपा (एमाले) कै कारण माधव नेपाल बनेका थिए । तर, अहिले एमाले उनकै सबैभन्दा ठूलो दुश्मन भएको छ । त्यसैले माधव अहिले एमाले हराउ अभियानमा जुटेका छन् । माधव जीवनको यो उत्तरार्द्धमा नेकपा एकीकृत समाजवादीको गठन गरेर एमालेको भूमिकालाई ओझेल पार्न चाहन्छन् वा आफ्नो ? परिणाम देख्न अब धेरै समय पर्खन पर्दैन ।

२०६४ सालमा हारेका माधव २०७० सालमा रौतहट १ वाट ८,३६१ मत ल्याएर विजयी बने । २०७४ सालमा काठमाडौं २ बाट २७,३६६ मत ल्याएर जीत हासिल गरे । जीवनका कालखण्डमा ६ पटकसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चुनाव जितेका उनको मंसिर ४ गते हुने चुनाव भने अग्निपरीक्षा हुनेछ । जीतको यो श्रृंखला नेकपा (एकीकृत समाजवादी) को नेतृत्व गर्दा साख जोगाउने चुनौती माधवको काँधमा आइपुगेको छ । किनकि नेकपा (एमाले) को लामो समयसम्म नेतृत्व गरेर सम्पूर्ण लाभ लिइसकेका उनी अब आफ्नो जीवनमा हुने अन्तिम चुनावमा जित्ने ल्याकत राख्छन् कि राख्दैनन् ? त्यो हेर्न मंसिर ४ नै पर्खनुपर्नेछ ।

नेकपा (एमाले) को १५ वर्षसम्म महासचिव भएका माधवको एकीकृत समाजवादी गठन गर्नु बाध्यता कि महत्वाकांक्षा ? यसका लागि उनको विगत अध्ययन गर्नुपर्ने हुन्छ । १५ वर्षसम्म एकछत्र राज गरेर पनि नपुगेर कहिले झलनाथ खनालसँग त कहिले केपी ओलीसँग मिलेर नेतृत्व हत्याउन गरिएको तिकडमले माधव नेपाल के चाहन्छन् भन्ने पुष्टि हुन्छ । आफूबाहेक अरुको नेतृत्व स्वीकार गर्न नसक्ने उनी चरम महत्वाकांक्षी नेता हुन् । पार्टीबाट चरम अवसर प्राप्त गरेका माधवले पार्टी विभाजनका लागि गरेको कर्म पार्टीको कार्ययोजना, विचार र सिद्धान्तमा रहेर हैन, कुन्ठामा रहेर भएको हो । पार्टीमा कुनै पनि कुराको वैचारिक मतभेदविना लोभ, कुन्ठा र ईर्ष्याले अन्ततः उनलाई नेपालको कम्युनिष्ट आन्दोलनका धोकेबाज बनाएको छ । विचारमा असमानता हैन, पार्टीमा वैचारिक र सांगठनिक मतभेद हैन, जसरी पनि पुनः अध्यक्ष बन्ने लालसाले अन्ततः माधव पतनोन्मुख हुन पुगे ।

नेकपा एकीकृत समाजवादीको गठन र आवश्यकता किन ? यो पुष्टि गर्न उनले कदापि सक्दैनन् । प्रतिगमनका मतियार भने तापनि माधव नेपालको विगतको कार्यविन्यासले केपी ओलीलाई प्रतिगमनकारी र आफूलाई अग्रगमनकारी पुष्टि गर्न सक्दैनन् । दक्षिणपन्थीसँगको अनुचित गठजोडले केपी ओली र नेकपा एमालेलाई प्रतिगमनको मतियार हो भनेर पुष्टि गर्न सकिँदैन । माधव नेपाल जत्तिको लामो समय राजनीति गर्नेले पनि बुझ्न नसक्नु वा बुझेर पनि आफ्नो हैसियत राख्न नसक्नु माधवको सबैभन्दा ठूलो भूल हो ।

चुनावको घोषणासँगै समाजवादीबाट नेकपा एमालेमा फर्कनेको लहरले माधव नेपाललाई पिरोलेको छ । अवसरका लागि गएका नेताहरु माधवको शक्ति क्षीण भएसँगै फर्कने अभियानमा छन् ।

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माधव नेपालको मुख्य ध्येय नै केपी ओली र एमाले हराउ अभियान बन्यो । यसैका लागि उनका तिकडम अनेकौं भए । यसका बावजुद पनि एमालेको मत हेर्दा देशकै पहिलो पार्टी बन्यो । विचार र सिद्धान्तविनाको बेमेल गठबन्धनको नाराले पनि अन्तत्वगत्वा माधवलाई चैनको सास फेर्न दिएन । जनतालाई सधैं आफू मातहत राख्ने सामन्ती चिन्तन बोकेका उनले जतिसुकै गठबन्धनको नारा ओराले पनि एमालेइतरको दलले माधवको हैसियतलाई राम्रोसँग बुझेका छन् । केन्द्रमा बसेर कांग्रेस, माओवादीसँग अपमानजनक गठबन्धन मानिँदैन भनेर धम्काएका माधव अब हुने संघीय निर्वाचनमा आफ्नो हैसियत जोगाउन गठबन्धनको चर्को नारा लगाएका छन् । जुन आम जनतालाई मान्य हुन सक्दैन ।

पार्टीमा विचार र सिद्धान्त हुन्छ, कमिटी प्रणालीअन्तर्गत पार्टी चल्दछ । जनता र कार्यकर्ता परिवर्तन चाहन्छन् भन्ने सत्यतालाई आत्मासात गर्न नसकेका माधवले गठबन्धनको नाराले आफ्नो अस्तित्व रक्षा गर्न सकिँदैन भन्ने बुझिसकेका छन् । तर पनि उनलाई फर्कन सजिलो छैन । किनकि राजनीतिको नाममा अराजकता निम्ताएका माधव त्यसैको रोइलोमा अहिले गठबन्धनका नाममा अपमान र अन्याय सहन सकिँदैन भन्दै बर्बराईरहेका छन् । सायद अहिलेको सन्दर्भमा माधवले बुझेका होलान्, विचार र सिद्धान्तविना राजनीति हुँदैन भन्ने कुरा ।

२०७८ मा आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गरेर परमादेशमार्फत पार्टी बनाएका माधव नेपाल स्थानीय तहमा गठबन्धनको पार्टीले दिएको धोकाले मर्माहत बनेका छन् । अब पार्टी गठनका वेलामा आफूसँग भएका सांसदलाई र नेतालाई जोगाउने ध्येय उनको छ । माधवको ध्येय त्योभन्दा देश र जनताको समृद्धि र विकास हुन सक्दैन । पार्टी स्थापनाका वेलामा भएका नेता-कार्यकर्ताको व्यवस्थापनमा नेता माधव जे जस्तो पनि सन्धि-सम्झौतामा हस्ताक्षर गर्न सक्छन् । यसका लागि काग्रेस र माओवादीको जस्तोसुकै अपमान पनि सहन बाध्य छन् । किनकि माधवको हविगत नराम्रोभन्दा राम्रो हुने अवस्था छैन । कुनै व्यक्तिसँगको इगो र द्वेषले कतिसम्म फरक पार्छ भन्ने कुरा माधवले अहिले सहेको अपमानको घडीमा बुझेका छन् । यसलाई सच्याएर अगाडि जाने हिम्मत माधवसँग छैन । किनकि सत्ता र शक्ति सधैं एउटैमा सीमित हुँदैन भन्ने माधवले बुझेनन् ।

ओलीसँगको कुन्ठा र महत्वाकांक्षाले अन्ततः माधव नेपाललाई पतन गरायो । ओली रहलान् वा नरहलान् । तर, एमाले रहिरहनेछ र एमाले परिवर्तनको संवाहक हो भन्ने समेत नबुझेका माधवको रोईलोले वैतरणी तर्न नसक्ला !

चुनावको घोषणासँगै समाजवादीबाट नेकपा एमालेमा फर्कनेको लहरले माधव नेपाललाई पिरोलेको छ । अवसरका लागि गएका नेताहरु माधवको शक्ति क्षीण भएसँगै फर्कने अभियानमा छन् । सांसदहरु पनि पुनः सांसद बन्न पाइने लोभमा बसेका माधव नेपालको अवस्था माओवादी र काग्रेसले राम्रोसँग बुझेका छन् । त्यसैले पनि मान अपमानको वर्षा माधव नेपालमाथि बेजोड भइरहेको छ ।

स्थानीय तहमा झैं संघीय चुनावमा पनि केन्द्रको गठबन्धनको निर्णय आम जनता र कार्यकर्ता मान्ने तहमा छैनन् । पार्टी विचार र सिद्धान्तमा चल्छ । जीतका लागि गठबन्धन, जीतको मुख्य उद्देश्य के हो भन्ने बुझाउन नसक्ने हो भने गठबन्धन केका लागि ? अहिलेको मुख्य प्रश्न यही हो । फगत शक्ति र सत्ताका लागि नेपाली जनता सधैं सती जाँदैनन् भन्ने कुरा माधवले अब पक्कै बुझ्नेछन् ।

एमाले र केपी ओली हराउन गठबन्धन गरिएको हो । यसैका लागि मात्र गठबन्धनलाई जनताले जिताउँछन् भन्ने माधवको सोच नै शक्ति र आफू केन्द्रित छ । जुन आम जनताले बुझिसकेका छन् । ओलीसँगको कुन्ठा र महत्वाकांक्षाले अन्ततः माधव नेपाललाई पतन गरायो । ओली रहलान् वा नरहलान् । तर, एमाले रहिरहनेछ र एमाले परिवर्तनको संवाहक हो भन्ने समेत नबुझेका माधवको रोईलोले वैतरणी तर्न नसक्ला ! जीवनको उत्तरार्द्धमा माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनकै धमिरा बने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *