सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदललाई अझै सकस, १६५ निर्वाचन क्षेत्रमा २ सयमाथिको दाबी – Nepal Press

सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदललाई अझै सकस, १६५ निर्वाचन क्षेत्रमा २ सयमाथिको दाबी

कैलाली । मंगलबार कार्यदलको बैठक सकिए लगत्तै उत्साहित मुद्रामा निस्किएका सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले बुधबार कार्यदलले सहमति गर्ने र शीर्ष नेतृत्वलाई बुझाउने बताएका थिए ।

सरकारका प्रवक्ताले सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्रै बाकी रहेको दाबी गरे पनि बैठकमा सहभागी एक नेताले भने सहमति अझै हुन नसकेको नेपाल प्रेसलाई जनाएका थिए ।

‘प्रतिनिधि सभामै बाँडफाँड मिलेको छैन । प्रदेश सभामा त्यो भन्दा बढी समस्या छ’ उनले हिजो नै भनेका थिए ‘सहमति नजिक पुगेको बताए पनि सहमति हुन सकेको छैन ।’

ती नेताले भनेजस्तै आज बालुवाटारमा बसेको बैठकले सहमति गर्ने भनेर सञ्चारमन्त्रीले गरेको दाबी गलत पुष्टि भएको छ । आजको बैठकले पनि सिट बाँडफाँडमा सहमति जुटाउन सकेन ।

११ सदस्यीय कार्यदल भित्रै पूर्ण सहमति नहुँदै आज पनि मन्त्री कार्कीले सिट बाँडफाँट लगभग टुङ्गिएको दाबी गरे ।

‘सिट संख्या करिब करिब मिलेको छ । केही छलफल सकिएपछि औपचारिक जानकारी गराउनेछौँ,’ उनले सञ्चारकर्मीलाई बताए ।

कार्कीका अनुसार भोलि बिहान ९ बजे कार्यदल बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने र त्यसपछि शीर्ष नेतालाई बुझाउने तयारी छ ।

कार्कीले हिजो जस्तै आज पनि करिब सिट बाँडफाँड टुङ्गो लागेको दाबी गरे पनि कार्यदलका सदस्यहरूले भने अझै सिट बाँडफाँडमा समस्या रहेको बताए ।

आफूले विगतमा दाबी गरेको सिट भन्दा केही क्षेत्र घटेको भएपनि अझै २ सय भन्दा धेरै क्षेत्रमा गठबन्धनका दलहरूले दाबी गरिरहेका छन् । १६५ निर्वाचन क्षेत्र मध्ये आज पनि २ सय भन्दा बढि क्षेत्रमा दाबी भएपछि कार्यदललाई सहमति निकाल्न समस्या भएको हो ।

‘अहिले सम्म कसले कति सिट पाउने सहमति भएको छैन’ कार्यदलका एक सदस्यले भने ‘भोली कार्य दलको बैठक फेरी बस्ने र शीर्ष नेतृत्वसँग पनि छलफल गर्ने सहमति भएको छ ।’

उनका अनुसार दुई पक्षीय र बहुपक्षीय बसेर दाबी संख्या घटाउँदै जाने कुरामा सबै एकमत भएका छन् । आजको बैठकमा पनि कांग्रेसले एक सय सिट दाबी गरेको थियो ।

माओवादी ६० को हाराहारीमा दाबी गर्यो । जसपाको ३२, नेकपा एकीकृत समाजवादीले ३५ देखी ४० सम्मको दाबी गरे । उनले भने ‘सबैको दाबी जोड्दा २ सय सिट कट्छ ।’

भोलि कार्यदल बसेर दाबी कममा झार्ने उनले बताए । ‘जति झार्न सकिन्छ छलफल हुन्छ । त्यसपछि शीर्ष नेताहरूसँग बसेर टुङ्गो लाग्छ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *